सहिद स्मारक बी डिभिजन लिग फुटबल : खुमलटारसँग पुल्चोक पराजित

सहिद स्मारक बी डिभिजन लिग फुटबल : खुमलटारसँग पुल्चोक पराजित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन ८, २०७५

काठमाडौं । खुमलटार युथ क्लबले पुल्चोक स्पोर्टस क्लबलाई पाखा लगाउँदै सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा खुमलटार क्लबले पुल्चोक स्पोर्टस क्लब माथि ३–१ गोलअन्तरको सहज जित हासिल गरेको हो । 

खुमलटारको जितमा निरन श्रेष्ठ, आशिक परियार र सविन केसीले समान एक गोल गरे । खेल सुरुआती सातौँ मिनेटमा पुल्चोकका टीकाराज गुरुङले गोल गर्दै पहिलो अग्रता लिए । पुल्चोकको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको पहिलो हाफको २८ औँ मिनेटमा खुमलटारका निरनले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बारबरीमा ल्याए । 

खेलको दोस्रो हाफको ५४औँ मिनेटमा खुमलटारका खेलाडी आशिक परियारले एक गोल थपे । खुमलटारका अर्का खेलाडी सविनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा थप एक गोल गरेपछि खुमलटारले पुल्चोक स्पोर्टस क्लबमाथि ३–१ को सहज जित हासिल गरेको खबर राससमा छ ।