भाइरल बनाउनुपर्छ

भाइरल बनाउनुपर्छ

प्रशान्त उप्रेती  |  साहित्य  |  मंसिर २१, २०७६

लेख्नुपर्छ, छाप्नुपर्छ, मज्जाले कोर्नुपर्छ
शब्द-जाल बुन्नुपर्छ, भाइरल बनाउनुपर्छ
'ल है सुन्नोस् अहिलेसम्मकै नयाँ खुलासा !' भन्दै
आमा बलात्कृत भएको समाचार छाप्नुपर्छ
दुई-चार हजार लाइक, कमेन्ट अनि शेयर बटुल्नुपर्छ ।

विषयवस्तु एउटा तर प्रश्न अर्कै सोध्नुपर्छ
'फलानो डटकमलाई लाइक गर' भन्दै माइक तेर्स्याउनुपर्छ
देख्नेले  र सुन्नेले लाचार भई नसहेर के गर्नु ?
दुई-चार हजार लाइक, कमेन्ट अनि शेयर बटुल्नुपर्छ
शब्द-जाल बुन्नुपर्छ, भाइरल बनाउनुपर्छ ।

निर्दोष कमला, अघोरी बाबा अनि भीटेनको नाम बेच्नुपर्छ
तिनैको जिन्दगीलाई बजारमा नङ्ग्याउनुपर्छ
निसंकोच, 'भर्खरै आयो यस्तो दुखद् खबर' भन्दै
बाउ काटिएको खबर लेख्नुपर्छ
दुई-चार हजार लाइक, कमेन्ट अनि शेयर बटुल्नुपर्छ
शब्द-जाल बुन्नुपर्छ, भाइरल बनाउनुपर्छ ।

कसैको परिवार अझ जिन्दगी नै बर्बाद किन नहोस्
अरूका दु:ख–सुखका पोकाहरू खोसेर
दुनियाँ सामु च्यातिदिनुपर्छ
ठूलाठूला अक्षरमा 'भिडियोसहित' भन्दै
दुई-चार हजार लाइक, कमेन्ट अनि शेयर बटुल्नुपर्छ
शब्द-जाल बुन्नुपर्छ, भाइरल बनाउनुपर्छ ।

क्यामेरा तेर्स्याउँदै हिँड्नुपर्छ, डर र त्रास छर्नुपर्छ
पेसाले त म व्यापारी हजुर, फाइदाको लागि लेखी टोपलेको
शीर्षक वा विषयवस्तुको के मतलब
पित पत्रकारिता नै किन नहोस्, मनपरी लेख्नुपर्छ
दुई-चार हजार लाइक, कमेन्ट अनि शेयर बटुल्नुपर्छ
शब्द-जाल बुन्नुपर्छ, भाइरल बनाउनुपर्छ ।

सत्य बेच्न कठिन छ, लिलामीमै पनि भाउ लाग्न गाह्रो
झट्किनेकै हानाहान र तानातान छ
नाङ्गालाई बजारमा नङ्ग्याएर फाइदा के ?
रातारात असललाई खराब प्रमाणित गर्दै मज्जा लुट्नु छ
दुई-चार हजार लाइक, कमेन्ट अनि शेयर बटुल्नुपर्छ
शब्द-जाल बुन्नुपर्छ, भाइरल बनाउनु पर्छ ।