आत्मा सुख: जसले जान्यो, सम्झ्यो त्यो भाषामा व्यक्त गर्न कठीन

आत्मा सुख: जसले जान्यो, सम्झ्यो त्यो भाषामा व्यक्त गर्न कठीन

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  मंसिर २१, २०७६

तद्बुद्धय स्तदात्मान स्तन्निष्ठास्तत् परायणाः ।
गच्छन्त्यपुनरावृत्तिं ज्ञाननिर्धुत कल्मषा ।। १७ ।।

अन्वय र अर्थ – तद्बुद्धयः = परमार्थ तत्वमा बुद्धि पुगेका, तदात्मानः = परब्रम्ह नै जसको आत्मा छ, तन्निष्ठाः = सम्पूर्ण कर्मलाई त्यागेर ब्रम्हमा नै स्थित भएका, तत्परायणाः = परब्रम्ह नै परम गति भएका, ज्ञाननिर्धुतकल्मषाः = अन्तःकरणको अज्ञानलाई ज्ञानद्वारा नष्ट गरेका,(ते = त्यस्ता ज्ञानीहरू), अपुनरावृत्तिं = परमगतिमा, प्राप्नुवन्ति = प्राप्त हुन्छन् ।

भावार्थ – त्यो आदित्यवत् ज्ञानमा जसको बुद्धि रहन्छ, चित्त रहन्छ, उसमा नै जसको निष्ठा र ऊ नै जसको परम गति हो, त्यस्तो ज्ञानद्वारा तिनीहरूको सम्पूर्ण कल्मष धोइनाले ती सबैलाई अपुनरावृत्ति गति प्राप्ति हुन्छ ।

विशिष्टार्थ – पूर्वोक्त प्रकारले जुन साधकले साधना गरेका छन् त्यसको परिणाम के हुन्छ भन्ने कुरा यस श्लोकमा बताइएको छ ।

साधन अवस्थामा असम्प्रज्ञात समाधि भङ्ग भएपछि जुन अवस्था हुन्छ त्यही जीवन मुक्तावस्था (ज्ञानासीनावस्था ) हो । त्यस समयमा अलिकति पनि कश्मल रहदैन । अनि सबै नै ज्ञानमय वा ब्रम्हमय बुद्धि ब्रम्ह, चित्त ब्रम्ह, स्थिति ब्रम्ह, अयन ब्रम्हा, त्यसकारण साधक जीवन मुक्त हुनु त्यसैकारणले शरीर त्याग हुनालेनै विदेह मुक्ति वा अनपुनरावृत्ति गति प्राप्ति हुन्छ ।

    विद्याविनयसम्पन्ने ब्राम्हणे गवि हस्तिनि ।
    शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ।। १८ ।।

अन्वय र अर्थ – (ते = ती) पण्डिताः = ज्ञानीहरू विद्याविनयसम्पन्ने = विद्या (आत्मबोध) र विनयले युक्त अर्थात् उत्तम संस्कार सम्पन्न, ब्राम्हणे = ब्राम्हणमा, गवि = गाईमा, हस्तिनि = हात्तीमा, शुनि = कुकुरमा, च = तथा, एव = निश्चय नै, श्वपाके = तामस प्रवृत्तियुक्त मनुष्यमा, च = पनि, समदर्शिनः = निर्विकार ब्रम्हलाई देख्ने, (भवन्ति = हुन्छन्) ।

भावार्थ – ती ज्ञानीजनहरू विद्याविनय सम्पन्न ब्राम्हणमा, गाईमा, हात्तीमा, कुकुर र तामस प्रवृत्तियुक्त मानिसमा समदर्शी अर्थात् सबैमा  एउटै निर्विकार परमात्मतत्व रहेको देख्ने हुन्छन् ।

साधारण मानिसहरु तथा साधनामा जुन मानिसहरु सिद्ध भएका छैनन् ती सबै जुन जुन पदार्थलाई इष्टकर र अनिष्टकर भनेर जान्दछन् ब्रम्हविद्हिरु प्रारब्ध भोग जगत्मा रहेर जे गर्नु छ उद्देश्य शून्य भएर चल्नुको नाम प्रारब्ध भोग हो । कालमा तिनै सबै वस्तु पाएर आनन्दित अथवा पुःश्वित हुँदैनन् ।

विशिष्टार्थ – जुन ज्ञानीहरू ज्ञानावस्थामा पुगेर अपुनरावृत्ति गतिको अधिकारी बनेका छन् तिनीहरू संसारमा रहंदा कसरी व्यवहार। गर्छन् भन्ने कुरा यस श्लोकमा र अर्को श्लोकमा देखाइएको छ ।

जसको आदित्यवत् ज्ञानको प्रकाश भएको छ तिनीहरूको सर्वत्र ब्रम्हदृष्टि स्थापित भएको हुनाले कुनै भेदभाव रहदैन, असल–खरावको बोध हुँदैन, शुचि अशुचिको उद्वेग रहदैन । सबै एक ब्रम्हमय हुन्छ – सत्वगुणयुक्त ब्राम्हणमा पनि जुन ब्रम्ह छ रजोगुण युक्त गाई तथा तमोगुणयुक्त हात्ती, कुकुर तथा श्वपाकमा पनि त्यही ब्रम्ह छ । उनीह तमोगुणयुक्त को दृष्टिमा जगत् 'सर्वं ब्रम्हमयं' भासमान छ ।

    इहैव तैर्जितः सर्गो येषां साम्ये स्थितं मनः ।
    निर्दोषं हि समं ब्रम्ह तस्मात् ब्रम्हणि ते स्थिताः ।। १९ ।।

अन्वय र अर्थ – येषां = जुन समदर्शी पण्डितहरुको, मनः = अन्तः करण, साम्ये = समतामा, स्थित = स्थिर रहेको छ, तैः = तिनीहरूले, इह एव = जीवित अवस्थामा नै, वर्गः = जन्म तथा मृत्यु, जितः =  जितेका छन्, हि = किन कि, निर्दोषं = दोष रहित, यत् = जुन, समं = सम छ, तत् = त्यो, ब्रम्ह = ब्रम्ह हो, तस्मात् = त्यसकारण, ते = तिनीहरू, ब्रम्हणि = ब्रम्हमा नै,स्थिताः = स्थित छन् ।

भावार्थ – तिनै समदर्शी पण्डितहरू जसको मन समतामा स्थित छ, तिनीहरू जीवन दशामा नै संसारलाई निरस्त गर्छन् । तिनीहरू ब्रम्हमा नै अवस्थित छन्, किन कि दोषशून्य समभाव ब्रम्ह पनि त्यही हो ।

विशिष्टार्थ – जब प्राण स्थिर हुन्छ मन पनि स्थिर हुन्छ अनि मात्र सम हुन्छ, साधक सममा रहेको भन्नु नै समाधि हो र त्यस समताको निर्दोष भाव ब्रम्ह हो । शास्त्रहरूमा राग–द्वेषलाई मोहद्वेष भनिन्छ र शब्द स्पर्शादि त्यस दोषका विषय हुन् । अतः विषय नै दोष हो अर्थात् ब्रम्ह भन्दा विषयको पृथक् ज्ञान दोष हो । साधकले जब मनलाई लय गरेर समाधि लिन्छ त्यसबेला यदि ऊ विकर्मद्वारा आक्रान्त भएन भने उसको मन चैतन्यमा लय हुन्छ, त्यो लय हुनु भनेको समता हो र समता नै निर्दोष हो । किन्तु त्यस समयमा यदि विकर्म आएर उसलाई आक्रमण गर्न सक्यो भने उसको मनमा शब्द स्पर्शादि कुनै एक विषय जाग्रत हुन्छ अनि उसको मन त्यही विषयलाई लक्ष्य गरेर लय हुन्छ, त्यस कारण त्यो समाधि (समय मा स्थिति) निर्दोष नभएर सदोष हुन्छ । यो सदोष समाधि ब्रम्हत्व हैन ।

जुन साधकहरू तत्वदर्शी छन् उनीहरूको समाधि निर्दोष हुन्छ, त्यसैले उनीहरू ब्रम्हमा स्थित अर्थात् ब्रम्हभाव प्राप्त हुन् । तिनीहरूले प्रारब्धलाई वश गरेर विषयमा आउँदा पनि विषयलाई ब्रम्हदेखि पृथक् भावले हेर्दैनन् । तिनीहरूका लागि सबै ब्रम्ह हो । यसरी जीवित अवस्थामा नै तिनीहरू सर्गजित हुन् । जीवको शरीरनै सर्ग (सृष्टि) हो । जीव जबसम्म जीवित रहन्छ तवसम्म उसमा शरीराभिमान रहनाले विषय र इन्द्रिय संस्पर्श गरेर शारीरिक सुख दुःखमा अभिूमत हुन्छ, किन्तु देह त्याग गरेर गएपछि त्यस मृत देहमा आत्माभिमान गरेर अरू सुख दुःखको भोग गर्दैन, अनि त्यस देह माथिको उसको आत्माभिमान निरस्त हुन्छ । ठीक त्यस्तै जुन मानिसहरू ज्ञानावस्थापन्न छन् उनीहरूको शरीराभिमान एकदमै हटेर जान्छ , अतः उनीहरू ब्रम्हभावमा रहनाले विषय र इन्द्रिय संस्पर्शले उनीहरूको मनमा सुख दुःखादि  कुनै विकार आउँदैन, जीवितावस्थामा नै उनीहरू अविच्छेद (समभाव) ब्रम्हानन्दमा रहन्छन्, त्यसकारण ती महापुरुषहरू सर्गजयी हुन् ।

    न प्रहृष्येत् प्रियं प्राप्य नोद्विजेत् प्राप्य चाप्रियम् ।
    स्थिरबुद्धिरसंमूढो ब्रम्हविद् ब्रम्हणि स्थितः ।। २० ।।

अन्वय र अर्थ – ब्रम्हवित् = ब्रम्हलाई जान्ने, स्थिरबुद्धिः = निश्चलबुद्धि भएको, असंमूढः = संमोह (संशय) रहित, ब्रम्हणि = ब्रम्हमा, एव = नै, स्थितः = अवस्थित हुन्छ, (अतः = त्यसकारण), प्रियं = इष्ट वस्तु, प्राप्य = प्राप्त गरेर, न प्र हेष्येत् = हर्षित नवनोस्, अप्रियं = अनिष्ट, च = पनि, प्राप्य = प्राप्त गरेर, न उद्विजेत् = विचलित न बनोस् ।

भावार्थ – मोह वर्जित ब्रम्हविद् पुरुषहरू ब्रम्हमा नै अवस्थित छन्, त्यसै कारणले, तिनीहरू प्रियवस्तु पाएर हर्षित र अप्रिय पाएर उद्विग्न हुँदैनन् ।

विशिष्टार्थ – (यस श्लोकमा ब्रम्भावमा अवस्थित साधकको लक्षण कस्तो हुन्छ भन्ने कुरा वताइएको छ ।)

साधारण मानिसहरु तथा साधनामा जुन मानिसहरु सिद्ध भएका छैनन् ती सबै जुन जुन पदार्थलाई इष्टकर र अनिष्टकर भनेर जान्दछन् ब्रम्हविद्हिरु प्रारब्ध भोग जगत्मा रहेर जे गर्नु छ उद्देश्य शून्य भएर चल्नुको नाम प्रारब्ध भोग हो । कालमा तिनै सबै वस्तु पाएर आनन्दित अथवा पुःश्वित हुँदैनन् । उनीहरुको बुद्धि अचल अटल भावले नै ब्रम्हमा अवस्थित हुन्छ, तयसकारण मोहवर्जित छ । तिनीहरु 'अगाधबुद्धि रक्षुब्धः' हुन् ।

    बाह्यस्पर्शेष्वसक्तत्मा विन्दत्यात्मनि यत् सुखम् ।
    स ब्रम्हयोगयुक्तात्मा सुखमक्षयमस्नुते ।। २१ ।।

अन्वय र अर्थ – वाह्यस्पर्शेषु = शब्दादि बाह्यविषयहरूमा, असक्तात्मा = आसक्ति रहित अन्तःकरण भएको पुरुष, आत्मनि = आत्मामा, यत् = जुन, सुखं = सुख छ (तत् = त्यो), निन्दति = प्राप्त गर्दछ, (अतः = त्यसकारण), स = त्यसले, ब्रम्हयोगयुक्तामा = ब्रम्हयोगले जसको अन्तःकरण समाहित भएर, अक्षयं = अक्षय, सुखं = सुख, अश्नुते = भोग गर्दछ ।

भावार्थ – बाह्य विषयमा अनासक्तचित्त भएका पुरुषहरू आत्मामा जुन सुख छ त्यसैको लाभ गर्दछन्, त्यसपछि ब्रम्हमा समाहित भएर त्यो अक्षयसुख भोग गर्दछन् ।

विशिष्टार्थ – (ब्रम्हविद्को स्थिर बुद्धि र असंमोह हुनुको कारण निर्देश गर्नका लागि यस श्लोकमा विषयाशक्ति विहीन पुरुषले शान्त भएरअक्षय सुख भोग गर्दछ भनिएको छ ।)

प्राणयामादि क्रियाद्वारा शरीर र मन शुद्ध भएपछि मन बाहिरका शब्द स्पर्शादि विषयहरुबाट हटेर भित्र प्रवेश गर्दछ, आँखाले बाहिर हेर्ने इच्छा गर्दैनन्, बाहिरको कुनै विष प्रति मन जाँदैन, आसक्ति पनि रहदैन । यो अवस्था केही मात्रको साधनाले पनि धारणमा आउँछ । यस अवस्थामा कूटस्थको व्यापार प्रत्यक्ष गरेर मन, प्राण सबै इन्द्रियहरू आनन्दमा मोहित हुन्छन्, यसैको नाम आत्म सुख लाभ हो । यस सुखलाई जसले जान्यो, संझ्यो त्यो भाषामा व्यक्त हुन सक्दैन । योअवस्था पछि चौथो अध्यायको २५ औं श्लोक अनुसार ब्रम्हयज्ञको प्रारम्भ हुन्छ, अर्थात् साधकले ब्रम्हाग्निमा आत्मालाई आहुति दिएर ब्रम्हसमाधि लाभ गर्दछन् । यो समाधि भोग पछि चित्तमा जुन स्रोत वगिरहन्छ त्यसैलाई ब्रम्हानन्द भन्दछन् । यो ब्रम्हानन्दलाई जसले एक पटक भोग गरिसकेको छ उसको मन विषय तिर लाग्दैन, त्यसै आनन्दमा मग्न हुन्छ, त्यसको शेष हुँदैन त्यसैले अक्षय सुख भोग गर्दछ । यसकारण ब्रम्हवित्हरू संसारको प्रिय तथा अप्रिय विषयमा मोह प्राप्त हुँदैनन् । अतएव हे अर्जुन ! तिमी पनि बाह्य विषयबाट सबै इन्द्रियहरूलाई निवृत्त गर भन्ने कुरा संकेत गरिएको छ । 

    ये हि संस्पर्शजा भोगा दुःखयोनय एव ते ।
    आद्यतवन्तः कौन्तेय न तेषु रमते बुधः ।। २२ ।।

क्रमशः

याे पिन 

सत्कर्म गर्नु पनि मुमुक्षुका लागि पाप !

संशयको त्याग गर ! त्याग गर्नु तिम्रो हातमा !!

इच्छा–आकांक्षा,  प्राकृतिक भावकाे त्याग र नित्य सन्यास

चित्तशुद्धिः संन्यास र योग दुवैको एउटै फल

मृत्यु र समाधिमा फरकः देह त्याग हुने र नहुने अज्ञानता