संसारका सबै तत्त्वबाट सुन, हीरा आदि बनाउन सम्भव !

संसारका सबै तत्त्वबाट सुन, हीरा आदि बनाउन सम्भव !

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  मंसिर २३, २०७६

विज्ञान विषय कति रोचक छ भन्ने मेरा केमेस्ट्री माडसाब वर्माजीले ९ कक्षामा पढ्दै बुझाइदिनुभएको थियो ।

पढाउने बेलामा उहाँ पुस्तक नपल्टाई नै ४५ मिनेट धारा प्रवाह विषयबारे बोलेर बिताउनुहुन्थ्यो ।

भौतिक विज्ञान पढाउने अर्का श्रीवास्तव माडसाबको त मस्तिष्क नै भौतिकीका विषयले नै बनेको जस्तो थियो । सौभाग्यले दुवै मेरा पिताजीका अभिन्न मित्र, दुवैको ममाथि विशेष अनुग्रह रहनुका साथै मेरो किशोर ‘अन्डरस्ट्याण्डिङ’का लागि प्रताडना पनि प्रचुर मात्रामा हुन्थ्यो । 

दुवैको संगतले ज्ञानगुन त उस्तै हो, १४ वर्षकै वयसन्धिमा कडा रङको चिया खाने बानी विकसित भइसकेको थियो ।

आश्चर्य त सन् १९८५ को अगस्ट महिनातिर भयो, जुन बेला म उत्तर प्रदेशको राजधानी लखनऊको चारबागस्थित रेलवे स्टेसन नजिकको केकेबी डिग्री कलेजमा बीएस्सीको विद्यार्थी बनेँ । साउन्ड, लाइट, म्याग्नेट आदिका ती प्रयोग त मैले ९–१० कक्षामै गरिसकेको रहेछु ।

पारो (Hg) बाट सुन (Au) बनाउन सकिन्छ भन्ने जानकारी वर्माजीले १० कक्षा पढ्दा नै दिनुभएको थियो । 

सुनको ‘एटमिक नम्बर’ ७९ हो र यसको ‘इलेक्ट्रोन डिस्ट्रिब्युटेसन’ अथवा ‘शेल स्ट्रक्चर’ २, ८, १८, ३२, १८, १  तथा ‘रिलेटिभ एटमिक मास’ १९६.९६६५६९ (amu) हो ।

यसैगरी पारोको ‘एटमिक नम्बर’ ८० र ‘शेल स्ट्रक्चर’ २,८, १८, ३२, १८, २ एवम् ‘रिलेटिभ एटमिक मास’ २००.५९ (amu) हो ।दुवै तत्त्वको ‘पेरियोडिक टेबल’मा स्थान सुन ग्रुप ११ मा तथा पारो ग्रुप १२ मा, ‘पिरियड इन पेरियोडिक टेबल’मा दुवै छैटौँ स्थानमा र दुवै ‘ब्लक डी’मा रहेका छन् । पारोलाई सुन बनाउन यसको ‘इलेक्ट्रोन डिस्ट्रिब्युटेसन’को अन्तिममा रहेको २ इलेक्ट्रोनलाई एउटा बनाए पुग्छ । 

'माडसाब ! यही कुरा हो भने त जुन तत्त्वबाट जुनसुकै तत्त्व  पनि बनाउन सकिन्छ ?'

‘अफकोर्स, व्हाई नट ! हामीलाई प्रविधि थाहा छैन भन्दैमा सम्भावनाका ढोका त बन्द हुन्न नि ! विज्ञानको १५०–२०० वर्षको यात्रामा हामीले यति अथवा जे जति जानकारी पाएका छौँ, तिमी अबको ५०० वर्ष पछिको कल्पना गर । ल तिमीलाई एउटा कुरा सोध्छु भन त- मानव शरीर कति कोशिकाले मिलेर बनेको हुन्छ ?'

८६ खर्ब कोशिका हुन्छन् मानिसको शरीरमा ।

अनि एउटा कोशिकाको निर्माणमा कतिवटा एटम संलग्न हुन्छन् ?

एउटा कोशिकाको संरचना एक हजार खर्ब एटमले भएको हुन्छ । 

त्यसो भए मानव शरीरको संरचनामा कतिवटा एटम रहेका हुन्छन् ?

माडसाब, ८६ को पछाडि २५ वटा शून्य राखेर जुन संख्या हुन आउँछ । मैले शून्यको मात्रै हिसाब गरेको हुँ ।

अब तिमी यो कोठाको चारैतिर हेर, यहाँ जे जति वस्तु छन्, ‘इन्क्लुडिङ’ तिमी र म ! के यी सबै हीरा बनाउन सकिन्छ ?' 'किन नसक्नु माडसा'ब ! हीरा कार्बनको एउटा अपरूप ­(Auotrope) न हो । संसारका सबै वस्तुलाई डढाएर, खरानी बनाएर सजिलै हीरा बनाउन सकिन्छ ।'

'तिमी त शून्यकै मास्टर, परीक्षादेखि सबै ठाउँमा शून्यकै व्यापार गरी हिँड्छौ', उहाँले ममाथि कटाक्ष गर्दै भन्नुभयो– 'एउटा रोचक कुरा जानिराख, मानिसको शरीरमा जति एटम छन्, त्यति संख्यामा संसारका सबै समुद्र तटमा बालुवाका कण पनि छैनन् । बालुवाका कणको त के कुरा, तिमीलाई थाहा छ, हाम्रो आकाशगंगा ‘मिल्की वे’मा कति तारा छन् ?'

हो माडसाब, ‘मिल्की वे’मा ताराको सङ्ख्या झन्डै २ खर्ब छ ।

अनि ‘मिल्की वे’ जस्ता आकाशगंगा कतिवटा छन् ?

झन्डै दस हजार करोड अर्थात् एक खर्ब ।

एउटा आकाशगंगामा ताराको संख्या २ खर्ब र यस्ता आकाशगंगाको संख्या एक खर्ब । ल एक मिनेटभित्र भन कूल तारा संख्या कति हुन्छ ?

एक मिनेट पनि किन चाहियो माडसाब, २ वटा खर्ब संख्याका ११–११ वटा शून्य अर्थात् २ को पछाडि २२ वटा शून्यको संख्या हुन आउँछ ।

शून्य थप्नमा त तिमीलाई महारत नै हासिल छ । अब त तिमीले बुझ्यौ होला, मानिस शरीरमा एटम संख्या ब्रह्माण्डका समस्त ताराभन्दा बढी हुन्छ।

पाठक मित्र ! मेरो विज्ञानसँगको साक्षात्कार उपरोक्त किसिमको चर्चा परिचर्चा गर्दै भएको थियो । विज्ञानसँग मेरो प्रीति बसाउने श्रेय स्वर्गीय माडसाब  रामसागर श्रीवास्तव, करुणाशंकर श्रीवास्तव र ८० वर्षीय राजबहादुर वर्माजीलाई जान्छ ।

सन् १९८०–८१ ताकाको स्कुले जीवनको पुनरावृत्ति सन् २०१९ को अगस्ट महिनामा पुनः घटित हुन गयो । म वर्मा माडसाबलाई भेट्न एकाबिहानै उहाँको घर पुगेको थिएँ । सन्न्यासी भएपछि यो उहाँसँगको दोस्रो भेट हुन गइरहेको थियो । 

‘आऊ, शून्य सखा आऊ, धेरै दिनपछि दर्शन दियौ’, भन्दै उहाँले स्वागत गर्नुभयो । 

अब ‘एक्ज्याक्ट’ त मलाई थाहा छैन, एकको पछाडि २५ शून्य संख्यामा रहेको ‘एटम’मध्ये कतिवटा ‘एटम’ मस्तिष्कको संरचनामा सन्निहित हुन्छन् । र, कुनै प्रसंगमा हठात् केही स्मरण हुँदा कतिवटा ‘न्युरोन’ अथवा ‘एटम’ सक्रिय हुन्छन् र पूर्वका समस्त स्मृति दृश्यसहित लौकिक चर्मचक्षुबाहेकका कुनै अन्तर चक्षुमा ‘थ्री आवर सो इन थ्री नैनो सेकेण्ड’मा प्रतिफलित हुन आइपुग्छन् । थाहा छैन, यस्तो क्षणमा ‘टाइम ट्राभल’को घटना कसरी एकसाथ ‘साइमन्टेसली’ ‘विदाउट एनी ग्याप’ सम्पादित हुन्छ !? 

आइन्सटाइनपछिको विज्ञानले टाइम र स्पेसलाई फरक मान्दैन । दुबै विज्ञानका लागि एउटै ‘इन्टिटी’ हुन् तर म जस्ता खस्रो बुद्धिले कसरी पचाउनु, समय र आकाश उस्तैउस्तै हुन् ! दुवै एउटै सत्ताका ‘प्रोडक्ट’ हुन् ।

तर, मेरो बुद्धिले पत्याए पनि, नपत्याए पनि ३५–४० वर्ष पहिला क्लास रुममा वर्मा माडसाबसँग भएको शून्य विषयी वार्तालापको स्मृतिले मलाई निथ्रुक्क बनायो, उहाँले मलाई 'शून्य सखा' सम्बोधन गर्दा !

माडसाब ! म पुनः विज्ञान अध्ययनमा लागेको छु', मैले वार्तालापको प्रारम्भ हेतु भनेँ ।

'अध्ययनले मनलाई युवा राख्छ, त्यसमा पनि विज्ञान अध्ययन त सबै संभावनाको मूलद्वार हो', माडसाबले मेरो समर्थन गर्दै भन्नुभयो ।

  'माडसाब, त्यो पारोबाट सुन बनाउने कुरामा कतिको सत्य छ ?'

'तिमी अझै पारोमा अल्झिरहेका छौ । पारोमात्र किन, संसारमा उपलब्ध सबै तत्त्वबाट सुन बनाउन सकिन्छ । सुन मात्रै किन ? कुनै पनि तत्त्वबाट अर्को कुनै पनि तत्त्व बनाउन सकिन्छ तर अब फलामबाट सुन बनाउने कल्पना त सबैले राख्छन्, सुनबाट फलाम बनाउने कल्पना कसैसँग  हुन्न ।'

'माडसाब ! यो फगत कल्पना त होइन ?'

'एक मिनेटका लागि तिमी अहिलेलाई कल्पना नै मान । र, अब तिमी यो कोठाको चारैतिर हेर, यहाँ जे जति वस्तु छन्, ‘इनक्लुडिङ’ तिमी र म ! के यी सबै हीरा बनाउन सकिन्छ ?'

'किन नसक्नु माडसाब ! हीरा कार्बनको एउटा अपरूप ­(Allotrope) न हो । संसारका सबै वस्तुलाई डढाएर, खरानी बनाएर सजिलै हीरा बनाउन सकिन्छ ।'

'अनि खरानीबाट हीरा बनेपछि सुन बनाउन केले छेक्छ ?'

'माडसाब ! हीरा त कार्बन नै हो, कुनै स्वतन्त्र तत्त्व होइन । कार्बनको प्रथक ‘एटम बाइण्डिङ’ न हो, जस्तै, ग्रेफाइट अथवा कोइला ।'

'संसारका सबै तत्त्व फरक ‘बाइण्डिङ’ मात्र होइनन् र ?'

'हो, माडसाब !'

'अनि जब सबै तत्त्व फरकफरक ‘बाइण्डिङ’ हुन भने त्याे ‘बाइण्डिङ’ परिवर्तन गर्नासाथ स्वरूप परिवर्तन हुन्न र ? ल भन ‘बिगबै‌ंग’पश्चात् सबैभन्दा पहिला कुन तत्त्व बन्यो ?'

'हाइड्रोजन (H) माडसाब ।'

'तिमीलाई थाहै छ ‘बिगबैंग’पश्चात् पहिलो तत्त्व हाइड्रोजन र दोस्रो तत्त्व हिलियम प्रकट हुनलाई ३ लाख ८० हजार वर्ष लाग्यो, जबकि ‘बिगबैगं’ भएको एक सेकेन्डको खर्बौं भाग मै (१०१२) न्युट्रिनो, क्वार्कस र इलेक्ट्रोनले आकार लिइसकेका थिए । र, एक सेकेण्डको अन्तरालमा त प्रोटोन र न्युट्रन स्वरूपमा आइसकेका थिए ।

‘बिगबैंगै’को तीन मिनेटपश्चात् प्रोटोन र न्युट्रनले हाइड्रोजन न्यूक्लियाई (Nuclei) बनाए । ‘न्युक्लियोसिन्थेसिस’ (Nucleosynthesis era) भन्ने यो युगको अवधि जम्मा २० मिनेट मात्र रहयो । र, यस युगमा हाइड्रोजनबाहेक अन्य कुनै न्यूक्लियाई बनेन । अब के पृथ्वी अथवा ब्रह्माण्डको जीवनलाई कार्बन, नाइट्रोजन, पानी अथवा अन्य केहीको ‘ओरिएन्टेसन’ भन्न मिल्छ ? एभ्री थिङ कम्स् फ्रम हाइड्रोजन माई डियर ।’

'एन्ड हाउ हाइड्रोजन फार्म, माडसाब ?'

'यु क्यान से थ्रू न्युट्रिनो, क्वार्कस, इलेक्ट्रोन, एन्ड सो अन ।'

'माडसाब, एउटा वहियात प्रश्न- यी न्युट्रिनो, क्वार्कस र इलेक्ट्रोन केले बने ?'

'यस प्रश्नका दुईवटा उत्तर छन्, पहिलो कसैलाई थाहा छैन र दोस्रो यी ऊर्जाका घनीभूत रूप हुन् ।'

'अनि माडसाब, वाहियात प्रश्नपछि एउटा न्यायसंगत प्रश्न  सोधौँ– विज्ञान ‘फोर फण्डामेन्टल फोर्स’को कुरा गर्छ, यी फोर्सको प्रादुर्भाव एटमको संरचना बनेपछि मात्र भयो । त्यसाेभए एटमको संरचनामा कुन फोर्स संलग्न थिए ?'

'अच्छा, यसको अर्थ तिमीले वेदान्त, सांख्य न्याय, उपनिषद लगायत सबै दर्शन पढ्न भ्याइसकेका छौ ।'

'बृहत् अध्ययन त होइन माडसाब, सार संक्षेप पढेको छु ।'

'हेर, यी ‘फोर फण्डामेन्टल फोर्स’बाहेकका ‘फोर्सेज’बारे थाहा पाउन विज्ञानलाई अझै लामो समय पर्खिनुपर्छ ।'

'दार्शनिक अवधारणामा ती ‘फोर्स’ के हुन् नि, माडसाब ?'

'त्यही, जे तिम्रो मस्तिष्कमा घुमिरहेकाे छ ।'

'प्रकाश र अन्धकार, माडसाब !'

'उचित क्रममा भन– अन्धकार र प्रकाश ।'