हप्तैपिच्छे हलमा नयाँ चलचित्र,  ‘माछा माछा’को पनि कमजोर ओपनिङ

हप्तैपिच्छे हलमा नयाँ चलचित्र,  ‘माछा माछा’को पनि कमजोर ओपनिङ

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर २३, २०७६

काठमाडौं । गएको असोजको अन्तिममा प्रदर्शन भएको चलचित्र  ‘छ माया छपक्कै’ पछि कुनै पनि नेपाली चलचित्रको व्यापार राम्रो भएको छैन । हप्तैपिच्छे हलमा नयाँ चलचित्र फेर्दा आशा गरिएका चलचित्रले समेत बक्सअफिसमा आफ्नो जादू देखाउन सकेनन् । कतिले त यसको कारण जाडो मौसमलाई मानेका छन् । तर, केहीले भने राम्रा चलचित्र बन्न नसकेका कारण दर्शक महँगो टिकट काटेर हल पुग्न नचाहेको बताउँछन् । 
 
शुक्रबारबाट प्रदर्शन भएको चलचित्र ‘माछा माछा’ ले सुख्खा भएको नेपाली चलचित्रको व्यापारलाई केहीभए पनि उकास्ने आशा गरिएको थियो । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले निर्माण गरेका कारण चलचित्र राम्रो बनेको हुनसक्ने धेरैले अनुमान लगाएका थिए । तर, ‘वर्ड अफ माउथ’ कमजोर हुँदा चलचित्रले हलमा दर्शक तान्न सकेको छैन ।
 
प्रदर्शनको पहिलो दिन चलचित्रले देशभर ४० प्रतिशत अकुपेन्सी पनि कायम गर्न सकेन । दोस्रो दिन शनिबार पनि हलमा दर्शकको उपस्थिति खासै उत्साहजनक थिएन । मल्टीप्लेक्सहरुमा राम्रो सोज पाएको चलचित्रको आइतबारबाट दर्शक नहुँदा सोजमा कटौती भएको छ । दर्शक र समीक्षक दुबैको नजरमा कमजोर साबित भएको यो चलचित्रले हलमा एक हप्ता टिक्न पनि गाह्रो पर्ने देखिन्छ । 
 
सुनिल गुरुङ निर्देशित चलचित्रामा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठको अभिनय छ । तीन बेरोजगार युवाले पैसा कमाउन अपराधको बाटो अपनाउँदा आउने समस्यामा चलचित्रमा केन्द्रित छ । तर, कथा, पटकथा र प्रस्तुतीकरण कमजोर हुँदा चलचित्रले दर्शकलाई हलमा जमाउन सकेको छैन ।  
 
शुक्रबारबाट ‘माछा माछा’ सँगै एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘माया पिरिम’ को अवस्था झन् दयनिय छ । प्रविन थापा र सविन अधिकारी द्धारा निर्माण भएको चलचित्रले पोस्टर टाँस्न बनाइएको माडको पनि पैसा उठाउन नसक्ने देखिन्छ । अभिनेता कोशिश क्षेत्री र नव–अभिनेत्री किरण चन्दको प्रमुख भूमिकामा रहेको चलचित्रका निर्देशक टेक पौरखी राई हुन् ।