खलंगा अन्धकारमय

खलंगा अन्धकारमय

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ८, २०७५

जुम्ला । साना जलविद्युत् उपभोक्ता समिति जुम्लाको दुई टर्वाइन मर्मतको काम समयमै नसकिँदा सदरमुकाम खलंगला बजारका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । 

ठेकेदारले थपिएको म्यादभित्र समेत काम गर्न नसकेपछि खलंगा बजार अन्धकार बनेको हो । भारतीय दूतावासको दुई करोड ६३ लाख रूपैयाँमा दुई टर्वाइन जडान गर्न जिल्ला समन्वय समिति (जिसस)ले बोलपत्र आह्वान गरेको थियो । 

साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णु बुढ्थापा बोलपत्र आह्वान भइसकेपछिको १८ महिनाभित्र बिजुली मर्मत  नभएको बताउनुहुन्छ । पछिल्लो थपिएको ६ महिनाभित्र टर्वाइन लगायतका सामान पुगे पनि जडान हुन नसकेको उहाँको भनाइ छ । थपिएको समय पुस २८ गते सकिसकेको छ । उहाँले भन्नुभयो, ‘ठेकेदार एकमुष्ट भुक्तानी चाहन्छ, यहाँको प्रक्रियाले पेस्की रकम दिएर मर्मत सकिएको प्रतिवेदन नबनाउँदासम्म पूरै भुक्तानी दिन मिल्दैन, बिजुली मर्मतको काम अन्योलका बीचबाट गुज्रेको छ, म्याद गुज्रँदासमेत ठेकेदार गम्भीर देखिँदैन ।’ उहाँका अनुसार एउटा टर्वाइन जडान अन्तिम चरणमा पुगेको छ । तर, इञ्जिनियर  समयमै पुगेर नहेर्दा बिजुली आपूर्ति हुनसकेको छैन । 

‘अब एक–दुई दिनभित्रै इञ्जिनियर आएर बिजुली आपूर्तिको काम सुरु गर्ने सहमति भएको छ, केही समय एउटा टर्वाइनले काम गर्ने छ,’ उहाँले भन्नभुयो, ‘दुई टर्वाइनको काम सकिएपछि जुम्लामा बिजुली अभाव हुने छैन । तर, ठेकेदारले पटक–पटक ढाँट्ने गरेकाले विश्वास गर्ने वातावरण बनिसकेको छैन ।’ जिससले दुई करोड ६३ लाख रूपैयाँको बोलपत्र आह्वान तीन करोड नौ लाख रूपैयाँमा स्वीकृत गरेपछि अन्योल छाएको हो । साना जलविद्युत् उपभोक्ता समितिले समन्वय मात्रै गरेको छ । 

जिसस र ठेकेदारबीचको कुरा नमिल्दा यहाँका स्थानीयवासीले बिजुली बाल्न पाएका छैनन् । अध्यक्ष बुढ्थापाले भन्नुभयो, ‘उपभोक्ताले बिजुली मागिरहेका छन् । समयमै बिजुली दिन सकिने अवस्था छैन । बिजुली मर्मत गर्न जुम्ला पुगेका कामदार सबै रकम भुक्तानी नहँुदासम्म बिजुली नबाल्ने ठेकेदारको आदेश आएको भन्दै टर्वाइन सञ्चालनमा ल्याउन मानेका छैनन् ।’ 

भारतीय कामदारले नै बिजुलीको मर्मतको काम गरिरहेका छन् । जिससका उपप्रमुख कर्मा बुढा ठेकेदारले निर्माण गरिसक्नुपर्ने म्याद सकिसकेकाले छलफलका लागि ठेकेदारलाई जुम्ला बोलाइएको बताउनुभयो । ‘ठेकेदार आउँदैछ, बिजुली नबालेसम्म नफर्कने वातावरण बनाउँदैछौं,’ उहाँले भन्नुभयो, ‘कार्य सम्पन्न भएको प्रतिवेदन तयार हुनेबित्तिकै ठेकेदारले रकम पाइहाल्छ, जुम्लाबासीले बत्ती पाइहाल्छन्, समस्या समाधान भइहाल्छ ।’ एउटा टर्वाइन जोडर तयारी हालतमा रहेको उहाँले बताउनुभयो ।

तर, ठेकेदारले रकम उपलब्ध नहुँदासम्म बिजुली नबाल्ने अडान राखेपछि जुम्लावासी अन्धकारमा बस्नुपरेको छ । उपप्रमुख बुढाले भन्नुभयो, ‘ठेकेदारले निर्माण सकेर बत्ती बलेको प्रतिवेदन भारतीय दूतावासमा पठाउनेबित्तिकै ठेकेदारले सबै रकम पाउने छ ।’ 

दूतावासका अधिकारी मृगेन्द्रलाल बिजुली मर्मतको कामको अनुगमन गरेर फर्किसक्नुभएको छ । ठेकेदारले एक करोड ३२ लाख रूपैयाँ भुक्तानी पाइसकेका छन् । समितिले ४६ लाख रूपैयाँमध्ये २२ लाख दिइसकेको जनाएको छ । इञ्जिनियर  पुगेको २४ घण्टाभित्रै बत्ती बल्ने अध्यक्ष बुढ्थापा बताउनुहुन्छ । अहिले पुरानो एउटा टर्वाइनले दैनिक दुई घण्टा बत्ती बलिरहेको छ । 

समितिअन्तर्गत झण्डै तीन हजार उपभोक्ता छन् । विसं २०४० मा जुम्लामा बिजुली बलेको हो । पटक–पटक माओवादी आक्रमणले विद्युत्गृहमा क्षति पुगेकाले जीर्ण बनेको स्थानीयवासी बताउँछन् । तत्काल ठेकेदारसँगको समस्यालाई समाधान गरेर छिटोभन्दा छिटो बत्ती बाल्न उपभोक्ताले माग गरेका छन् । उनीहरुले बत्ती माग्दै स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराउनुका साथै सदरमुकाम खलंगामा मैनबत्ती जुलुस निकालेका थिए । सदरमुकाम अन्धकार हुनुले निकै दुःखी बनाएको स्थानीयवासीले बताएको खबर राससमा विजय रावतले लेख्नुभएको छ ।