संस्कारीको खोजीः बुहारीमा मात्र कि, ज्वाइँ पनि ?

संस्कारीको खोजीः बुहारीमा मात्र कि, ज्वाइँ पनि ?

निर्जला कक्षपति  |  दृष्टिकोण  |  मंसिर २४, २०७६

मंसिरको महिना, यो महिनालाई विवाहको महिना भने पनि हुन्छ । धेरैले विवाह गर्दा यही महिनालाई रोज्ने गर्छन् र विवाह गर्ने साइत पनि यो महिनामा धेरै हुन्छ ।

जाडोको महिना, खाएको पनि पच्ने, विवाहमा उफ्रीउफ्री नाच्दा पनि गर्मी नहुने कारणले पनि मंसिरमा हुने विवाह धेरैले मनपराउँछन् ।

भनिन्छ, जन्म, मृत्यु र विवाह आफ्नो बसमा हुँदैनन् । त्यसैले विवाह हुनका लागि दिन जुर्नुपर्छ भन्नेहरू पनि छन् । यस वर्षको मंसिर महिनाको आधा महिना कटिसकेको अवस्था छ । यस मंसिर महिनामा कति नवजोडीको विवाह भइसकेको अवस्था छ भने कति अभिभावकले अर्को मंसिरमा भए पनि आफ्ना छोराछोरीको विवाह गरिदिन वर, वधु खोज्न तल्लीन रहेका देखिन्छन् ।

छोराछोरीका लागि योग्य वर, वधु खोजेर विवाह गरिदिनु बाबुआमाको कर्तव्य पनि हो । धेरै बाबुआमाको चाहना हुन्छ, आफ्नो छोराका लागि असल बुहारी भित्रियोस् । यसैगरी छोरीका लागि पढेलेखेको असल ज्वाइँ पाइयोस् । असल भन्दाभन्दै र राम्रो भनेर भन्दाभन्दै गरेको विवाह पनि पछि गएर टुट्न सक्छ । भविष्यको कुरा कसलाई नै पो थाहा हुन्छ र ?

बुहारी भित्र्याउने मामलामा धेरै अभिभावकहरू बुहारी भित्र्याउनु अगाडि नै धेरै चिन्तित हुन्छन् । कस्ती बुहारी पर्ने हो ? हामीलाई माया गर्ने हो कि होइन ? माइतीको धाक र फुइँ लगाएर घरमा रडाको मच्चाउने पो हो कि ? यस्तैयस्तै कुराले त्रसित हुन्छन् । त्यसैले धेरै पढेलेखेको भन्दा घरजम गर्ने अनि परिवारलाई माया गरिदेओस् भन्ने चाहना धेरै अभिभावकको हुन्छ ।

पहिचान बनाइसकेकी केटी छ भने त झनै आफ्नो अण्डरमा बस्ने हो कि होइन भन्ने डर अभिभावकलाई हुने रहेछ । त्यसैले विवाह गर्नु अगाडि केटीको धेरै पक्ष हेर्ने गरिन्छ । एकले अर्कालाई मनपराएर गरेको विवाहमा भने यी कुनै कुरा हेरिँदैन तर मागी विवाह हो भने केटी संस्कारी छ कि छैन, अरूलाई माया गर्ने प्रकृतिकी छ कि छैन, अरूसँग घुलमिल हुन सक्ने स्वभावकी छ कि छैन, घरको काम जानेकी छ कि छैन ? यावत् कुराहरू हेर्ने गरिन्छ ।

केटीको पढाइ र उसले बनाएको पहिचानलाई कम प्राथमिकता दिइने चलन छ । बुहारी जति नै ठूलो पदमा होस्, डाक्टर इन्जिनियर जे होस्, उसले महिनामा लाखौँ रुपैयाँ कमाओस्, सासू–ससुराका लागि त्यो मतलबको कुरा हुँदैन । बुहारीले गर्ने व्यवहार र उसले माया गर्छ कि गर्दैन ? भन्ने कुरा महत्त्वपूर्ण हुँदो रहेछ ।

जब नयाँ बुहारी भित्र्याउन लाग्दा बुहारीमा भएका सकारात्मक र नकारात्मक पक्षबीच केलाएजस्तै ज्वाइँ भित्र्याउने बेलामा भने मानिसहरू अक्सर दुईवटा प्रश्न मात्र गर्छन् । एउटा के काम गर्छ र कति कमाउँछ ? अर्को कति पढेको छ ? देशमा पढेर पनि काम नपाएका बेरोजगारको संख्या धेरै हुन थालेपछि कति पढेको छ भन्ने प्रश्नलाई कम महत्त्व दिन थालेका छन् र कति कमाउँछन् भन्ने प्रश्नले बढी प्राथमिकता पाउन थालेको छ ।

केटा जति नै मुर्ख होस्, संस्कारी बुहारी होस् भन्ने केटा पक्षका बाबुआमाको चाहाना हुन्छ । केटी पक्षका बाबुआमाले पनि खालि केटाको कमाइ मात्र नहेरेर असल आचरण छ कि छैन, संस्कारी केटो छ कि छैन, आफ्नी श्रीमतीलाई माया गर्छ कि गर्दैन, श्रीमतीलाई सहयोग र साथ दिन्छ कि दिँदैन, कुलतमा फसेको केटा हो कि होइन ? लगायतका यावत् कुरामा ध्यान दिनु जरुरी छ ।

जसरी बुहारी भित्र्याउने बेलामा बुहारी संस्कारी छ कि छैन, माया गर्छ कि गर्दैन ? उसको बानी व्यहोरा कस्तो छ, व्वायफ्रेण्ड छ कि छैन ? अफिस गर्छिन् भने कतिबेला घर फर्किन्छन्, साथी भाइसँग कतिको रमाइलो गरेर हिँड्छन्, घरको काम जानेको छ कि छैन, ड्रिङ्क्स गर्ने बानी छ कि छैन, आदर गर्ने बानी छ कि छैन, चोथाले र मुखाले छ कि छैन ? लगायतका यावत् बानी व्यहोरा विवाह गर्न लागेकी केटीको हेर्छौं तर हुनेवाला ज्वाइँको भने हामी राम्रा, नराम्रा कुनै पक्ष केलाउँदैनौँ ।

धेरैले छोरीलाई पाल्न सक्छ कि सक्दैन ? यही हेरेर विवाह गरिदिन्छन् । विवाह गर्नुपूर्व केटीेको यति धेरै कुरा केलाएर हेरेजस्तै केटाको अथवा छोरी दिन लागेको ज्वाइँको बानी व्यहोरा के कस्तो छ भनेर हामीले केलाउनु जरुरी छैन र ? यदि छोरी दिने निर्णय गर्नुअघि हुनेवाला ज्वाइँको बानी कस्तो छ ? ‘प्ले व्वाय’ पो छ कि, बाहिर १० वटी ‘गर्लफ्रेन्ड’ बनाएर पो हिँड्छ कि, कमाउने नाममा राती ‘लेट नाइट’ गरेर क्यासिनो र डान्स बार गएर पो आउँछ कि, धुमपान र मद्यपान पो अधिक गर्छ कि, बाहिर हेर्दा सज्जन लागे पनि कतै गुण्डागर्दी पो गर्छ कि ! लगायतका प्रश्नको जवाफ खोज्नुपर्दैन ?

यति मात्र कहाँ हो र ! हिजोआज त धेरै महिलाहरू पढेलेखेका छन्, अफिस गर्छन् । त्यसैले आफ्नो श्रीमान् सहयोगी होस्, हरेक काममा सहयोग गरोस् भन्ने चाहना हरेक महिलाको हुन्छ । त्यसैले विवाह गर्नुपूर्व अभिभावकले ज्वाइँ छान्दा सहयोगी भावनाको छ कि छैन, घरको काममा सघाउँछ कि सघाउँदैन ? भन्ने कुरा बुझ्न लाज मान्नु भयो त ?
बुहारी भित्र्याउने मामलामा सजगता अपनाएजस्तै ज्वाइँ छान्ने र भित्रेयाउने बेलामा सजगता अपनाउनुपरेन ? विवाह गर्ने केटो राम्रो छ, धेरै कमाउँछ, छोरी पाल्न सक्छ भन्ने लोभमा छोरी दिइसकेपछि भोलिका दिनमा छोरीलाई दिनहुँ रुवाउने, हिंसा गर्ने ज्वाइँ नारायणको के काम ? त्यसैले अब छोरी दिनुअघि हुनेवाला ज्वाइँका राम्रा पक्ष यी हुन्, नराम्रा पक्ष यी हुन् भनेर केलाउनु जरुरी छ ।

केटा जति नै मुर्ख होस्, संस्कारी बुहारी होस् भन्ने केटा पक्षका बाबुआमाको चाहाना हुन्छ । केटी पक्षका बाबुआमाले पनि खालि केटाको कमाइ मात्र नहेरेर असल आचरण छ कि छैन, संस्कारी केटो छ कि छैन, आफ्नी श्रीमतीलाई माया गर्छ कि गर्दैन, श्रीमतीलाई सहयोग र साथ दिन्छ कि दिँदैन, कुलतमा फसेको केटा हो कि होइन ? लगायतका यावत् कुरामा ध्यान दिनु जरुरी छ ।