कमजोर मुटु हुने कारण र उपचार

कमजोर मुटु हुने कारण र उपचार

प्रा.डा.डम्बरबहादुर कार्की  |  दृष्टिकोण  |  मंसिर २४, २०७६

संसारमा दुई करोड ३० लाखलाई कमजोर मुटु रोग भएको तथ्यांक छ । फ्रमिंधाममा भएको अध्ययनअनुसार ५०–५५ वर्ष उमेर पुगेकाहरूमध्ये एक हजारमा ८ जना र ८०–८५ वर्ष उमेर पुगेकाहरूमा एक हजारमा ६६ जनालाई कमजोर मुटु रोग पाइएको छ ।

४० वर्ष उमेर पुगेका पुरुष तथा महिलाहरूमा भने ५ जनामा एक जनालाई जीवनभरमा कमजोर मुटु रोग हुन सक्ने अनुमान पनि गरिएको छ ।

कमजोर मुटु रोगका प्रकार

कमजोर मुटु रोग दुई प्रकारका हुन्छन् । सिष्टोलिक हार्टफेलियरमा कमजोर मुटु रोगका लक्षणहरू हुनुका साथै लेफ्ट भेन्ट्रिकलको इजेक्सन फ्र्याक्सन ४० प्रतिशत या योभन्दा कमी हुन्छ । ४० देखि ४९ प्रतिशत इजेक्सन फ्र्याक्सन भएकालाई मिडरेन्च सिस्टोलिक हार्टफेलियर भन्न थालिएको छ । डायस्टोलिक हार्ट फेलियरमा कमजोर मुटु रोगका लक्षणहरू पाइन्छन् । तर, लेफ्ट भेन्ट्रिकलको इजेक्सन फ्र्याक्सन भने ५० प्रतिशतभन्दा ज्यादा हुन्छ ।

लेफ्ट भेन्ट्रिकलको इजेक्सन फ्र्याक्सनले भेन्ट्रिकलको खुम्चिने शक्ति देखाउँछ । सामान्यतया लेफ्ट भेन्ट्रिकलको इजेक्सन फ्र्याक्सन पुरुषमा ५२–७२ प्रतिशत र महिलामा ५४–७४ प्रतिशत हुन्छ । एकोकार्डियोग्राफीद्वारा इजेक्सन फ्र्याक्सन पत्ता लगाउन सकिन्छ ।

६ मिनेट हिँड्ने टेस्ट

६ मिनेटमा कति मिटिर हिड्न सकिन्छ भन्ने जाँचले कमजोर मुटुको अवस्था बताउन सक्छ । यो मामुली किसिमको जाँच हो र जुनसुकै ठाउँमा पनि गर्न सकिन्छ । औषधि उपचारपछि ६ मिनेटमा हिँडेको दूरी बढ्दै गयो भने रोग नियन्त्रण हुँदै गएको मान्नुपर्छ ।

महिलाहरूभन्दा पुरुषहरू ६ मिनेटमा ३० मिटर ज्यादा हिँड्छन् । सामान्यतया स्वस्थ पुरुषहरू ५८५ मिटर र महिलाहरू ५५५ मिटर ६ मिनेटमा हिँडेको पाइएको छ ।

के हो कमजोर मुटु रोग ?

करोनरी आर्टरी डिजिज, डाइलेटेड कार्डियोमायोपेथी, उच्च रक्तचाप र भल्भका रोगहरू कमजोर मुटु रोगका कारण हुन् । पुरानो दम खोकी हुनेहरूलाई हुने मुटुको रोगलाई क्रनिक पल्मोनेल भनिन्छ । यो रोगमा दायाँ एन्ट्रियम र भेन्ट्रिकल प्रभावित हुन्छन् । माथि उल्लेख गरिएका मुटुका रोगहरूलाई औषधि गरेर नियन्त्रण गर्न सकिन्छ । औषधि र परहेज गर्दागर्दै पनि यी हृदय रोगहरूले मुटुलाई कमजोर गराउँदै लान्छन् र मुटुको यो अवस्थालाई विशेषज्ञहरूले हार्टफेलिएरको नाम दिएका छन् ।

अंग्रेजी भाषा जानेका बिरामीहरूले हार्टफेलिएर भन्ने शब्दको अर्थ मुटुले काम गर्न छाडेको, मुटु फेल भइसकेको लगाएका पाइन्छ । वास्तवमा भन्ने हो भने हार्टफेलिएर भनेको मुटुको कमजोरी हो । मुटु फेल भएर मानिसको तुरुन्तै मृत्यु हुन्छ भनेको होइन । कमजोर मुटु भनेको केही लक्षणहरूको समूह हो । कमजोर मुटु भएका बिरामीहरूलाई समयमै उपचार गर्दा यसलाई नियन्त्रण गर्न सकिन्छ र बिरामीहरू कष्टकर लक्षणहरूबाट मुक्त भएर आनन्दमय जीवन बिताउन सक्छन् ।

कमजोर मुटु रोगका लक्षणहरू

रोगहरूबाट मुटु प्र्र्रभावित हुँदा मुटु सुन्निन थाल्छ र यसको खुम्चिने शक्ति कम भएर जान्छ । कक्षहरूभित्र हुनुपर्नेभन्दा ज्यादा चाप उत्पन्न हुन्छ । यसको फलस्वरूप फोक्सोमा प्रभाव पर्छ । बिरामीहरूलाई हिँडडुल गर्दा सास फुल्न थाल्छ । थकावट हुनु, तौल घट्नु र शरीर सुन्निनु यो रोगका अन्य लक्षण हुन् ।

यो रोगमा गोडा सुन्निन सक्छ । कलेजो सुन्निनुका साथै दुख्न पनि सक्छ । गर्धनको शिरा फुल्नु, रक्तचाप कम हुनु, मुटुको गति तीब्र हुनु र फोक्सोमा कंजेसन हुनु कमजोर मुटुमा पाइने लक्षणहरू हुन् ।

आवश्यक परीक्षणहरू

कमजोर मुटुका लक्षण भएका बिरामीहरूलाई विभिन्न किसिमका परीक्षणहरूको आवश्यकता पर्छ । यी परीक्षणहरूले कमजोर मुटुका कारणहरू पत्ता लगाउन मद्दत गर्नुका साथै यसको उपचारमा पनि सहयोग पुर्‍याउँछन् । विशेष किसिमको अवस्थामा विशेष प्रकारका परीक्षणहरू कहिले गर्ने भन्ने विषयमा विशेषज्ञहरूसँग सल्लाह लिनु उचित हुन्छ ।

रक्त परीक्षण

हेमोग्लोबिन, ब्लड सुगर, कोलेस्ट्रोल, ट्राइग्लिसेराइड, ब्लड युरिया, क्रियाटिनिन, इलेक्ट्रोलाइट्स, थाइरायड हर्मन आदि रक्त परीक्षण गर्नुपर्छ । ईसीजी, छातीको एक्सरे, एकोकार्डियोग्राफी, होल्टर र आवश्यक परे करोनरी एन्जियोग्राफी पनि गर्न सकिन्छ । यहाँ उल्लेखित परीक्षणहरूबाहेक अन्य जाँचहरू मुटु रोग विशेषज्ञको सल्लाहअनुसार गराउनु बुद्धिमानी हुन्छ ।

एकोकार्डियोग्राफी

इस जाँचबाट मुटुका धेरै किसिमका मुटुका रोगहरू पत्ता लगाउन सकिन्छ । मुटुका कक्षहरू प्रभवित भए, नभएको थाहा पाउन सकिन्छ । मुटुको खुम्चिने शक्ति इजेक्सन फ्र्याक्सन कम भएको कुरा पनि यस जाँचबाट थाहा पाउन सकिन्छ । मुटुका भाल्भहरू प्रभावित भएर मुटु सुन्निएको पनि यही जाँचले पत्ता लगाउन सक्छ ।

मुटु कमजोर हुँदा राइट एट्रियम, लेफ्ट एट्रियम र पल्मोनरी आर्टरीमा प्रेसर बढ्छ । यो बढेको प्रेसर पनि डप्लर एकोकार्डियोग्राफ द्वारा पत्ता लगाउन सकिन्छ । यसरी एकोकार्डियोग्राफीले कमजोर मुटु भएका बिरामीहरूमा हुने मुटुका कमजोरीहरू देखाउन सक्छ । यसर्थ मुटुको कमजोरीको शंका भएका बिरामीहरूलाई एकोकार्डियोग्राफी गराउनु अतिआवश्यक छ ।

कमजोर मुटु रोगको उपचार

कमजोर मुटु रोगको उपचार गराउनु अगाडि कमजोर मुटु रोगका कारणहरू पत्ता लगाउनु आवश्यक छ । कारण पत्ता लागिसकेपछि ती कारणहरूको उपचार गर्नुपर्ने हुन्छ । उदाहरणका लागि, मुटुका भल्भहरू प्रभावित हुने रोगलाई लिन सकिन्छ । मुटुका भल्भहरू साँघुरिन सक्छन् । यिनीहरू रोग ग्रस्त भएर चुहिन पनि सक्छन् । लक्षण भएको भल्भका रोगीहरूलाई शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । कृत्रिम भल्भको आवश्क पर्न सक्छ । यस विषयमा मुटु रोग विशेषज्ञसँग छलफल गर्नु राम्रो हुन्छ ।

त्यस्तै, अन्य  शल्यक्रिया गर्नुपर्ने मुटु रोगको विषयमा पनि आफ्नो चिकित्सकसँग सल्लाह लिनु उचित हो । यहाँ कमजोर मुटु भएका बिरामीहरूलाई के गर्न सकिन्छ भन्ने विषयमा छोटो विवरण प्रस्तुत गरिएको छ । जुनसुकै मुटु रोगका कारण कमजोर मुटु भएको अवस्थामा निम्न कुराहरूमा ध्यान दिनु बुद्धिमानी हुन्छ । कुन औषधि कुन मात्रामा खाने भन्ने कुरा आफ्नो चिकित्सकसँग छलफल गर्ने सल्लाह दिइन्छ ।

धेरै कमजोर मुटु रोग भएका बिरामीहरू (एलभीईएफ ३५ प्रतिशतभन्दा कम)लाई भेन्ट्रिकुलर फिब्रिलेसन नामक हृदय गतिको रोग लागेर ज्यानलाई खतरा पुग्न सक्छ । भेन्ट्रिकुलर फिब्रिलेसन गराउने धेरै मुटु रोग हुन्छन् । हृदयघात मुख्य कारण हो ।

१. परहेज

सुरुमा आरामको आवश्यकता पर्छ । औषधिद्वारा लक्षण नियन्त्रण भएपछि नियमित रूपले व्यायाम गर्नु राम्रो हो । रोगले धेरै च्यापेको अवस्थामा १.५–२ लिटरभन्दा ज्यादा पानी पिउनुहुँदैन । दिनभरमा ३ ग्रामभन्दा ज्यादा नुन खानु पनि राम्रो होइन ।

२. अक्सिजन

मुटु कमजोर हुनेहरूको फोक्सोमा कन्जेसन भएर अक्सिजन स्याचुरेसन कम हुन सक्छ । ९० प्रतिशतभन्दा कम अक्सिजन स्याचुरेसन भयो भने अक्सिजन दिनुपर्छ ।

३. औषधिहरूको प्रयोग

कमजोेर मुटु भएका बिरामीहरूलाई धरै प्रकारका औषधिहरू प्रयोग गर्न सकिन्छ । कुन औषधि कति मात्रामा प्रयोग गर्ने र कुन औषधि प्रयोग नगर्ने भन्ने विषयमा आफ्नो चिकित्सकसँग सल्लाह लिनुपर्छ । कमजोर मुटुमा प्रयोग गरिने औषधिहरूको नाम मात्र तल उल्लेख गरिएको छ ।

-    एन्जियो टेन्सिन कनभर्टिङ् डन्जायम इनहिविटर समूहका औषधिहरू : इनालाप्रिल, लिसिनोप्रिल र रामिप्रिल हुन् । यो समूहका औषधिहरूले खोकी गराउन सक्छन् ।
मिर्गौला रोगीहरूको रगतमा ज्यादा पोटासियम हुन सक्छ र यो समूहका औषधिहरूले पनि पोटासियम बढाउन सक्ने भएकाले यिनीहरूको प्रयोगले पोटासियम अरू ज्यादा हुन सक्छ । गर्भावस्थामा यी औषधिले गर्भासयमा भएको शिशुलाई नराम्रो प्रभाव पार्छन् । यसर्थ यी औषधि गर्भवती महिलाहरूले खानुहुँदैन । मिर्गौलामा रक्त सञ्चार गर्ने आर्टरी साँघुरिँदा पनि यी औषधि खानुहुँदैन ।

-    एन्जियोटेनन्सिन रिसेप्टर ब्लकर– यो लोसार्टन समूहमा पर्छ ।

-    विटाब्लकर समूहमा मेटोप्रोलल, कार्भिडिलोल पर्छन् ।

-    पिसाब लगाउने औषधिहरूले कमजोर मुटुका कारण हुने लक्षणहरूलाई नियन्त्रण गर्छन् । फ्रुर्सेमाइड, मेटाजोलान र स्पाइरानोल्याक्ट्रोनले पिसाब लगाएर शरीर सुन्निएको कम गराउँछन् । फोक्सोको कन्जेसन कम गराएर पिसाब लगाउने औषधिहरूले सास फेर्न पनि सजिलो पार्छन् ।

-    कुनै बिरामीलाई डिजोक्सी पनि दिन सकिन्छ । हिजोआज यो औषधिलाई कमजोर मुटु रोगमा कम प्रयोग गरिन्छ ।

-    धेरै कमजोर मुटु रोगमा रक्तचाप धेरै कम भएर शरीरका अंगहरूमा रक्त सञ्चार हुन सक्दैन । यस्तो अवस्थामा रक्तचाप वढाउने औषधिहरूलाई शिराद्वारा दिनुपर्ने हुन्छ ।

भ्याक्सिन

धेरै कमजोर मुटु भएका बिरामीहरूलाई विषाणु र जीवाणुद्वारा संक्रमण हुने संभावना हुन्छ । यसको फलस्वरूप कमजोर मुटु रोग हुनेहरूलाई निमोनिया हुने डर हुन्छ । निमोनिया हुन नदिन भ्याक्सिन दिनुपर्छ । निमो २३ र पे्रभिनार १३ ले जीवाणुद्वारा हुने निमोनियाबाट बचाउँछन् भने विषाणुद्वारा हुने निमोनियालाई इन्फ्लुएन्जा भ्यक्सिनले बचाउँछ । इन्फ्लुएन्जा भ्याक्सिन वर्षमा एक पटक लिनुपर्छ ।

हार्ट ट्रान्सप्लान्ट

धेरै कमजोर मुटु रोगमा रगतलाई मेसिनद्वारा शुद्ध पारेर शरीरका अंगहरूमा पठाइन्छ । यसलाई लेफ्ट भेन्ट्रिकुलर एसिस्ट डिभाइस भनिन्छ । औषधिहरूले काम गर्न छाडेपछिको कमजोर मुटु रोगको अन्तिम उपचार हार्ट ट्रान्सप्लान्ट हो ।

सन् १९६७ को डिसेम्बर ३ का दिन क्रिश्चियन बर्नार्डले सफलतापूर्वक हार्ट ट्रान्सप्लान्ट गरेका थिए । हिजोआज हार्ट ट्रान्सप्लान्ट संसारका धेरै ठाउँमा नियमित रूपले गरिन्छ । यो शल्यक्रिया नेपालमा पनि संभव छ । यो प्रविधि नेपालमा भित्र्याउन अहिलेदेखि नै राज्यले विचार गर्नुपर्छ ।

शल्यचिकित्सक र अन्य आवश्यक जनशक्तिको तालिमपछि नेपालमा हार्ट ट्रान्सप्लान्ट गर्न सकिन्छ । कमजोर मुटु रोगमा डिफिब्रिलेटर र कार्डियाक रिसिन्क्रोनाइजेसन थेरापीको पनि आवश्यकता पर्न सक्छ ।

डिफिब्रिलेटर

हिजोआज नेपालमा सबैजसो अस्पतालहरूका आकमिस्क कक्ष र सिकिस्त बिरामीहरूलाई उपचार गराउने ठाँउमा आईसीयू। सीसीयू, एमआईसीयूमा डिफिब्रिलेटर मेसिन राखेको पाइन्छ । यो मेसिनबाट उत्पन्न बिजुलीको करेन्टले हजारौँ बिरामीहरूलाई बचाउन संभव भएको छ ।

हृदयघात भएका बिरामीहरूलाई हृदय गतिका रोगहरू लाग्न सक्छन् । यी रोगहरूलाई डिफिब्रिलेटरद्वारा उपचार गर्न सकिन्छ ।

बिजुलीको करेन्टले मानिसको हृदय गतिलाई सामान्य तुल्याउन सक्छ  भन्ने सोच जेनेभाका फिजियोलोजिष्ट विशेषज्ञद्वय डा. जाँ लुइस प्रेभोस्ट र फ्रेडरिक बटेलीले विकास गरेका हुन् ।

जन्मदेखि नै मुटु रोग भएको १४ वर्षको केटालाई शल्यक्रिया गर्दा प्राध्यापक क्लाउड बेकले सन् १९४७ मा सर्वप्रथम डिफिब्रिलेटर प्रयोग गरेका थिए ।

धेरै कमजोर मुटु रोग भएका बिरामीहरू (एलभीईएफ ३५ प्रतिशतभन्दा कम)लाई भेन्ट्रिकुलर फिब्रिलेसन नामक हृदय गतिको रोग लागेर ज्यानलाई खतरा पुग्न सक्छ । भेन्ट्रिकुलर फिब्रिलेसन गराउने धेरै मुटु रोग हुन्छन् । हृदयघात मुख्य कारण हो ।

यो रोग आउन साथ डिफिब्रिलेटरले नियन्त्रण गर्न सक्छ । यसलाई शरीरभित्र प्रत्यारोपण गरिन्छ । यो प्रविधि जोन हप्किन अस्पतालका लेभी वाटकिन्स जुनियरले सन् १९८०, फेब्रुअरीमा सर्वप्रथम प्रयोगमा ल्याएका हुन् ।

कार्डियाक रिसिङ्क्रोनाइजेसन थेरापी (सीआरटी)

कार्डियाक रिसिङ्क्रोनाइजेसन थेरापी धेरै कमजोर मुटु रोगमा प्रयोग गरिन्छ । यसलाई वाइभेन्ट्रिकुलर पेसिङ पनि भनिन्छ । यो मेसिनले हृदय कक्षहरूको खुम्चाइलाई नियमित गरिदिन्छ ।

मुटुका दायाँ र बायाँ भेन्ट्रिकलहरू बेग्लाबेग्लै समयमा खुम्चिँदा मुटुले राम्ररी काम गर्न सक्दैन । यो मेसिनको प्रयोगले मुटुको खुम्चाइलाई सामान्य तुल्याइदिन्छ र यसको फलस्वरूप मुटुको काम गर्ने क्षमता बढ्छ  ।