बैतडीका अधिकांश सामुदायिक विद्यालय दरबन्दीविहीन

बैतडीका अधिकांश सामुदायिक विद्यालय दरबन्दीविहीन

लोकसंवाद संवाददाता  |  शिक्षा  |  मंसिर २४, २०७६

बैतडी । जिल्लाका १ सय ७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन् ।

निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका ती विद्यालयमा दरबन्दी नहुँदा शैक्षिक गुणस्तर कमजोर हुँदै गएको छ ।

जिल्लामा कक्षा १ देखि ५ सम्मका ४३, कक्षा १ देखि ८ सम्म पढाइ हुने ८७ र ४४ माध्यमिक विद्यालय दरबन्दीविहीन रहेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयाे । यी विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका उनले बताए । ‘०५२ पछि स्थापना भएका धेरै विद्यालय दरबन्दीविहीन छन् ।’

सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी नहुँदा शैक्षिक गुणस्तर खस्कँदै गएको सुर्नया–५ का निराजन मडैले बताउनु भयाे । राजनीतिक पहुँचका आधारमा विद्यालय सञ्चालनको अनुमति प्रदान हुँदा सामुदायिक विद्यालय सञ्चालनमा समस्या आएको हो ।

शून्य दरबन्दी रहेका विद्यालयमा निजी स्रोतका शिक्षक तथा राहत दरबन्दीका शिक्षकले अध्यापन गर्दै आएका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र अवस्थीले बताउनु भयो ।

शून्य दरबन्दी भएका विद्यालयको दरबन्दी सिर्जना जिल्लास्तरबाट नहुने शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी शर्माले बताउनु भयाे ।

विद्यालयमा सरकारी दरबन्दीका शिक्षक नहुँदा अभिावककै चन्दाका भरमा अधिकांश विद्यालय सञ्चालन भएका छन् । यसले गर्दा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि त्यो कार्यान्वयन भने हुनसकेको छैन । निजी स्रोतका शिक्षकको तलबका लागि महिनाको अन्त्यमा विद्यालयलाई गाह्रो पर्ने गर्दछ ।

विद्यालयमा शून्य दरबन्दी हुँदा विद्यालय सञ्चालनमा निकै समस्या भएको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताउनु भयो । शिक्षक पदपूर्तिका लागि जिल्ला समन्वय समितिले पनि पहल थालेको जनाएको छ । शिक्षाका अधिकार स्थानीय सरकारमा रहेकाले स्तानीय तहले चाँसो देखाउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख शिद्धराज भट्टले बताउनु भयो ।