महिनावारीमा छुवाछुत: तागाधारीहरूले शास्त्रलाई शस्त्र बनाई सृजना गरेकाे कलंक !

महिनावारीमा छुवाछुत: तागाधारीहरूले शास्त्रलाई शस्त्र बनाई सृजना गरेकाे कलंक !

रूपक अलङ्कार  |  दृष्टिकोण  |  मंसिर २५, २०७६

नेपाली समाज निकै रंगीन छ । बहुभाषिकता, बहुधार्मिकता, बहुसंस्कृति नेपाली समाजका विशेषता मानिएका छन् । भौगोलिक रूपले सानो भएर पनि सामाजिक विविधताका आधारमा भने हाम्रो देश वा समाज बहुमुखी छ । 

हाम्रो समाज सतही रूपमा जति सुन्दरता र सरलताले भरिएको छ, भित्री रूपमा भने त्यति नै जटिलताले जेलिएको पनि छ । समाजको आन्तरिक जालोको गाँठो फुकाउन र त्यसको जरोसम्म पुग्न कठिन छ । सामाजिक, सांस्कृतिक विषयमा विरोध गर्न जति सजिलो हुन्छ, त्यसभन्दा धेरै गाह्रो समाधानका सूत्र पहिल्याउन हुन्छ । 

सिद्धान्ततः संस्कृति समाज र सभ्यताको विकासको उपलब्धि मानिन्छ भने धर्म प्रत्यक्ष रूपले ईश्वर, स्वर्ग, पूर्वजन्म र परजन्मसित सम्बन्धित हुन्छ तर व्यवहारमा धर्मलाई र संस्कृतिलाई छुट्याउन त्यति सजिलो छैन । दशैँलाई हामी सांस्कृतिक पर्व मान्छौँ तर देवीको आराधना गरेर प्रसादका रूपमा जमरा र अक्षता पनि लगाउँछौँ । आराधनाको उद्देश्य संस्कृतिको रक्षा हो कि धर्म ? 

तीज मनाउँछौँ शिवको पूजाआजा गरेर । महादेवलाई खुसी बनाए मात्र उत्तम वर पाइन्छ, श्रीमानको प्रेम पाइन्छ, मरिसकेका पतिले स्वर्गीय आनन्द पाउँछन् । हाम्रा विश्वास यिनै हुन् । यस प्रसंगमा केलाई धर्म भन्ने ? केलाई संस्कृति भन्ने ? नामकरण, व्रतबन्ध, विवाहलागायतका सारा संस्कारहरू, जनैपूर्णिमा, गुरुपूर्णिमा, लक्ष्मीपूजा, रामनवमीलगायतका चाडपर्वहरू भगवानलाई साक्षी नराखी सम्पन्न हुनै सक्दैनन् । त्यस कारण एकातिरबाट हेर्दा धर्म र अर्कातिरबाट हेर्दा संस्कृति देखिए तापनि सिक्काचाहिँ एउटै हो । 

छाउपडी जस्ता समस्याहरू बन्दुक पड्काएर, आइएनजीओ गुहारेर र छाउघर भत्काएर मात्र समाधान हुँदैनन् ।बारीको पुछारबाट छाउगोठ भत्काउनुभन्दा मानिसको मनको छाउगोठ भत्काउनुपर्छ । कानुनतः दण्डित गर्नु एउटा विकल्प हो । 

पृथ्वी उत्पत्तिको प्रक्रिया एउटै भएजस्तै समाज विकासको प्रक्रिया पनि विश्वभर उस्तैउस्तै हो । त्यस कारण सबै समुदायको संस्कृतिमा ईश्वर, स्वर्ग, धर्म, अधर्म जस्ता तत्त्वले प्रवेश पाएका छन् । हिन्दु समुदायमा मात्र नभएर इसाई, मुस्लिम, बौद्धलगायतका समुदायमा पनि संस्कृतिसित ईश्वर एकाकार भएको देखिन्छ । 

जुनसुकै आदिवासी जनजातिका संस्कार र संस्कृतिमा हेरे पनि ईश्वर छ । ईश्वरको आराधनाबाट सुखप्राप्तिका मार्ग वर्णन गरिएका छन् ।  जहाँ ईश्वरको कल्पना छ, त्यहाँ धर्म पनि छ । ईश्वरको कल्पना मानिसको दिमागले गरेको अद्भुत आविष्कार हो । यो जति टिकाउ र शक्तिशाली चिजको आविष्कार अरू केही भएको छैन ।

वास्तवमा ईश्वर त्यति खराब चिज होइन, जति हामीले बनाएका छौँ । समाजमा मानिसले उँच-नीचको पर्खाल खडा गरेको, जातीयताको विष रोपेको, छुवाछुतको पर्दा हालेको छ । यी सबै कुराको दोष भने भगवानलाई लगाएको छ । धर्मको नाममा हिंसा गर्नु, धर्मको धराप थापेर लैंगिक विभेद गर्नु, धर्मका नाममा जातीयतालाई बढावा दिएर मानवतालाई तिलाञ्जली दिनु, यी सबै ईश्वरलाई दूषित बनाउने खेल हुन् । 

ईश्वर जस्तो अमूर्त निराकार तत्त्वलाई साकार बनाएर ढुंगाको दरबारमा थुनेर मनलाग्दी गर्न पाएकाहरूले ईश्वरलाई विवादित र लाञ्छित बनाएका हुन् । जे गरे पनि ईश्वर र धर्मका लागि हो भन्नेहरूबाट नै ईश्वर प्रताडित भएको यथार्थ ज्ञान हुनु जरुरी छ । 

हाम्रो समाजमा पनि त्यस्ता केही क्रियाकलापहरू व्याप्त छन्, जसले धर्म, ईश्वर र संस्कृतिलाई कलंकित बनाइरहेका छन् । बाहुनको गोडाको पानी पवित्र हुने तर शुद्रको हातको पानी नचल्ने अवस्थालाई हाम्रो धर्म वा संस्कृतिको सकारात्मक विशेषता मान्न अवश्य पनि नसकिएला । यस्ता अरू पनि उदाहरण छन् । 

महत्त्वपूर्ण अर्काे कुरा महिनावारी पनि हो, जसलाई रजस्वला, पर सर्नु वा छुइ हुनु आदि भनिन्छ । महिनावारीलाई कठोरतापूर्वक बार्ने चलन हाम्रो समाजमा छ । काठामाडौंबाट जति जति टाढा जानुहोस्, तपाईंले रजस्वलाका कठोरतम नियम पालना गर्नुपर्ने हुन्छ । 

काठमाडौंमा पनि महिनावारी बार्छन् तर अरूले थाहा नपाउने गरी । यहाँका मानिसले बार्न कम गरेका यसप्रति विश्वास नभएर होइन, परिवेशगत बाध्यताले हो । महिनावारीमा गडबड गर्ने महिलाको प्रायश्चित्तका लागि लाखबत्ती बाल्ने, ऋषिपञ्चमी पूजा गर्ने, स्वस्थानी व्रत बस्नेलगायतका उपायहरू बताइएका छन् शास्त्रमा । हाम्रा महिलाहरू पनि अहिले छोइए पनि पछि लाखबत्ती बालौँला भनेर ढुक्क छन् ।

छाउपडी प्रथा महिनावारीसित जोडिएको छ । हालसालै पनि छाउगोठमा निस्सासिएर महिलाको मृत्यु भएको सुन्नुपर्‍यो । यस्ता घटना वर्षभर नै भइरहन्छन् । कतिपय सञ्चार माध्यममा आउँछन् र हामीले थाहा पाउँछौँ । कतिपय इतिहासमा गायब हुन्छन् । 

धर्मका नाममा नारीहरूले ज्यान गुमाउँदै आएका छन् । अरू जातपातमा, धर्म वा समुदायमा यस किसिमको रीति के छ ? त्यो अनुसन्धानको विषय हो तर तागाधारी समुदाय र यसको प्रभावमा रहेको समुदायमा भने छाउपडी प्रथा डरलाग्दो छ । काठमाडौंमा चार दिन बार्छन् , गोरखामा चार दिन अर्कैको घरमा राख्छन् भने अछाममा छाउगोठमा राख्दा के अचम्म भयो र ? त्यो गलत र यो सत्य भन्ने तर्क गर्नु बेकार हो । 

महिनावारी नबारेर तत्काल मानिसलाई हानि हुने केही देखिँदैन । जसलाई सोधे पनि महिनावारी बारेन भने कुलदेवता रिसाउँछन्, पितृ रिसाउँछन, भगवान् रिसाउँछन् नै भन्ने गरिन्छ । मान्छेले आफ्ना लागि बारेकै होइ रहेछ, अरूकै लागि रहेछ, जो यस लोकमा छैनन् ।

वैज्ञानिक कुरा त तब हुन्थ्यो, जब कुनै कामको प्रत्यक्ष असर कर्तालाई परोस् । महिनावारी बार्नाले मानिसलाई कतैबाट पनि सहज देखिँदैन । महिलाको शारीरिक विकार निस्कासनको समय हो यो । यस बेलामा सरसफाइमा ध्यान दिनुपर्छ, आरामको जरुरत पर्छ, पौष्टिक आहारको आवश्यकता हुन्छ । महिनावारी व्यवस्थापनका उपयुक्त उपाय नहुँदा भातभान्छा आदिबाट अवकास दिइयो होला । त्यतिसम्म ठीकै पनि हो । तर, महिनावारी भएकालाई घरभित्र पस्न, सुत्न नदिनु, चिसो भुँइमा सुताइनु, खानपिनमा वास्ता नगर्नु जस्ता अमानवीय व्यवहार गरिएको देख्दा महिनावारीलाई  महिलाको कलंक मानेर उनीहरूलाई तुच्छ बनाइएको हो भन्न सकिन्छ । 

छाउपडी जस्ता समस्याहरू बन्दुक पड्काएर, आइएनजीओ गुहारेर र छाउघर भत्काएर मात्र समाधान हुँदैनन् । बारीको पुछारबाट छाउगोठ भत्काउनुभन्दा मानिसको मनको छाउगोठ भत्काउनुपर्छ । कानुनतः दण्डित गर्नु एउटा विकल्प हो । 

मानिस धर्म र ईश्वरका डरले महिनावारी बारिरहेका छन् भने समस्याको जड पनि त्यहीँ छ । धार्मिक नीति, नियम र अनुशासनमा परिमार्जन वा परिवर्तन गर्ने आँट अधिकार र क्षमता धर्मशास्त्री पण्डित, पुरोहितवर्गसित छ । उनीहरूले यो यथार्थ बुझे भने र चाहे भने परिवर्तन सम्भव पनि छ । 

छुवाछुतका मामलामा तागाधारीहरूको समुदायलाई कसैले पनि जित्न सक्दैन । छुवाछुतका विषयमा यो समुदाय निकै चनाखो देखिन्छ । यस विषयमा विशालकाय शास्त्रहरू निर्माण गरिएका छन् । कसैले प्रश्न उठाएका खण्डमा यिनै शास्त्रलाई शस्त्र बनाएर लडाइँ चलाइन्छ । शास्त्रले भनेको भनेपछि धेरै मानिसहरूले मौनता साँध्छन् ।