गिरीका दुई पुस्तक प्रकाशित

गिरीका दुई पुस्तक प्रकाशित

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ८, २०७५

काठमाडौँ । कवि तथा समालोचक डा. अमर गिरीले ‘कवितामा वर्गद्वन्द्व’ र ‘साहित्य विमर्श’ नामक समालोचना विधाका दुई पुस्तक एक साथ प्रकाशनमा ल्याएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानमा चार वर्ष काव्य विभागको नेतृत्व सम्हालेका गिरीको ‘कवितामा वर्गद्वन्द्व’ पुस्तकमा वर्गद्वन्द्वसम्बन्धी प्रगतिवादी मान्यता, कवितामा वर्गद्वन्द्व र निष्कर्षसहितका तीन परिच्छेद समावेश छन् ।

परिच्छेद एकमा विषय प्रवेश, वर्गको शाब्दिक अर्थ र परिभाषा, वर्गका मुख्य प्रकारहरू, द्वन्द्वको अर्थ, परिभाषा र स्वरूप, वर्गद्वन्द्वको अर्थ, परिभाषा र स्वरूप, वर्गद्वन्द्वका प्रमुख कारणहरू र वर्गद्वन्द्व र मानव समाजको विकास शीर्षकमा विशद् चर्चा गरिएको छ ।

यसैगरी परिच्छेद दुईमा कविताको उत्पत्तिसम्बन्धी प्रगतिवादी मान्यता, प्रगतिवादी दृष्टिमा कविता, कविता र यथार्थ, साहित्यमा वर्गद्वन्द्व, कवितामा वर्गद्वन्द्व, अन्तर्वस्तु र रूपः कवितामा वर्गद्वन्द्वको अभिव्यक्तिको आधार, कविताको अन्तर्वस्तुमा वर्गद्वन्द्व, कविताको रूपमा वर्गद्वन्द्व र कवितामा वर्गद्वन्द्वको अभिव्यक्तिको स्वरूप र प्रक्रियाबारे विश्लेषण गरिएको छ ।

यसैगरी ‘साहित्य विमर्श’भित्र समकालीन नेपाली कवितामा भूमण्डलीकरण, नेपाली दलित साहित्य, कोइरालाको साहित्य चिन्तन, आधुनिक नेपाली समालोचनाः समसामयिक प्रवृत्ति र चुनौती, समकालीन नेपाली साहित्यको अवस्था, प्रवृत्ति र चुनौती, सिनेमा र संस्कृति, समालोचनाको समालोचना, साहित्यमा सीमान्तीकृत समुदाय र स्तरीयताका दृष्टिले समकालीन नेपाली कविता गरी नौ वटा समालोचना समाविष्ट छन् । 
कविता मै विद्यावारिधि गरेका गिरीका यी पुस्तक कविता र साहित्य विमर्शमा अभिरुची राख्नेहरूका लागि उपलब्धिमूलक रहेको दावी गिरीले गरेका छन ।  दुवै पुस्तक भृकुटी एकेडेमिक पब्लिकेसन्सले बजारमा ल्याएको हो  ।