२४ वर्षीय केटा र १९ वर्षीया केटीको विवाहमा प्रहरीद्वारा रोक !

२४ वर्षीय केटा र १९ वर्षीया केटीको विवाहमा प्रहरीद्वारा रोक !

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २६, २०७६

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ स्थित राजाबासमा हुँदै गरेको बालविवाह नेपाल  प्रहरीले रोकेको छ ।

त्रियुुगा नगरपालिका–५ का पदमबहादुर कार्कीका २४ वर्षीय छोरा भूपध्वज कार्कीसँग त्रियुगा नगपालिका–७ का रुद्रबहादुर थापाको १९ वर्षीया छोरी लेखाकुमारी थापाको विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

गोप्य सूचनाका आधारमा प्रहरीले विवाहमण्डपमै पुगेर विवाह रोकेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताउनुभयो । बालविवाह गर्न खोज्ने बेहुला तथा बेहुलीतर्फका अभिभावकलाई केही समय नियन्त्रणमा लिई केटीको उमेर २० वर्ष नाघेपछि मात्र विवाह गर्ने सर्तमा छोडिएको उहाँले बताउनुभयो ।

कानुन अनुसार बालविवाह गर्ने र गराउनेलाई ३ वर्ष कैद र ३० हजार जरिवाना तोकिएको छ । बालविवाह उद्योग गर्नेलाई १ वर्ष कैद र १५ हजार जरिवाना हुने उल्लेख छ । बालविवाह गर्दै आएकालाई अभिभावकको जिम्मामा छाडिने गरेको भएपनि अबदेखि कारबाही गरिने प्रहरी प्रमुख बुढामगरले बताउनुभयो ।