‘म यस्तो गीत गाउंँछु २’को पहिलो गीत सार्वजनिक(भिडियोसहित)

‘म यस्तो गीत गाउंँछु २’को पहिलो गीत सार्वजनिक(भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर २६, २०७६

काठमाडाैं । नेपालमा वर्षेनी प्रेमकथामा आधारित ५० भन्दा बढी चलचित्र बन्ने गर्दछन् । तर केहि निर्देशकले मात्र आफूलाई यो विधामा अव्वल सावित गर्दै आएका छन् ।
प्रेम कथामा आधारित रहेर चलचित्र निर्देशनमा अब्बल निर्देशक भनेर निर्देशक सुदर्शन थापाको नाम आउँछ ।

 ‘मेरो एउटा साथी छ देखि प्रेमगीत हुँदै म यस्तो गीत गाउँछु’ सम्म आइपुग्दा थापाले आफूलाई लभ स्टोरी चलचित्रमा प्रमाणित पनि गरिसकेका छन् ।
गीतसंगीतको छनोटमा पनि माहिर रहेका सुदर्शनका चलचित्र चल्नुमा गितसंगीत पनि मुख्य कारण हो ।

सुदर्शनको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत आज सार्वजनिक भएको छ । ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर रहेको छ । यो गीतको अडियो निकै कर्णप्रीय छ । ‘प्रेमगीत, म यस्तो गीत गाउँछु’का जस्तै संगीतले सबैको मन जितेका संगीतकार अर्जुन पोखरेल र निर्देशक सुर्दशन थापाको टिमअप यसमा पनि गज्जबको देखिएको छ ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको यो गीतको भाव अनुसार भिडियो पनि तयार पारिएको छ । सौरभ लामाको छायांकन रहेको भिडियोको छायांकन विभिन्न ५ वटा लोकेशनमा गरिएको छ । भिडियोलाई लोकेशन, कलाकारको ड्रेसअप र रामजीको कोरियोग्राफीले झन उत्कृष्ट बनाएको छ ।

चलचित्रका मुख्य कलाकार नायिका पूजा शर्मा र नायक पल शाहलाई फिचरिङ गरिएको छ ।

शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेको यो चलचित्रमा दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो गीतको छायांकन करिब ७ दिन लगाएर नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरिएको छ ।

सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् । रीच इन्टरटेन्मेन्ट र जीजीए ग्रुपले काठमाण्डौ र एफडी कम्पनीले काठमाण्डौ बाहिर चलचित्रको वितरण गर्नेछ । सांगीतिक प्रेम कथामा तयार भएको यो चलचित्रमा सुरज आचार्य र सुदिप ढकाल निर्माण नियन्त्रकको रुपमा छन् ।

चलचित्र फागूण २३ गतेबाट नेपालभर रिलिज हुनेछ ।


भिडियो यहाँ हेर्न सकिन्छ :