नातिनी मारेको आरोपमा पक्राउ

नातिनी मारेको आरोपमा पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ९, २०७५

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० टोटीमा विष खुबाएर नातिनी मारेको आरोपमा हजुरबुबा र हजुरआमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, झलारीले सात वर्षीया बालिका रितु डगौरालाई मारेको आरोपमा ६० वर्षीय भर्थरी डगौरा र ४३ वर्षीया रेशमी डगौरालाई पक्राउ गरेको हो । 

मृतककी आमा ज्योति डगौराले किटानी जाहेरी दिएपछि दुवैलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । गत माघ २२ गते भात खाएपछि रितुले लगातार बान्ता गर्न थालेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । बालिकाले गरेको बान्ता खाँदा पाँच कुखुरासमेत मरेका थिए । 

बालिकाकी हजुरआमा रेशमीले नातिनीसँग रिस उठेपछि बजारबाट तरकारीमा छर्किने विषादी भातमा हालेर खान दिएको र आफूबाट गम्भीर गल्ती भएको बयान प्रहरीलाई दिएकी छन् । तरकारीमा छर्किने विषादीका कारण बालिकाको मृत्यु भएको रेशमीले प्रारम्भिक बयानका क्रममा बताएको इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । ‘विषादीको बट्टासमेत घरबाटै बरामद गरेका छौँ,’ उहाँले भन्नुभयो । 

मृतक बालिकाको रगतको नमूना विज्ञान विधि प्रयोगशालामा परीक्षणका लागि यसअघिनै पठाइसकिएको उहाँले बताउनुभयो । दुवै जनामाथि ज्यानसम्बन्धी कसुरमा अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको खबर राससमा छ ।