जिम्मेवारी र विवेकशीलताको कसीमा अनलाइन मिडिया ! आशङ्का र अनिष्टको स‌ंकेत !!

जिम्मेवारी र विवेकशीलताको कसीमा अनलाइन मिडिया !  आशङ्का र अनिष्टको स‌ंकेत  !!

यमबहादुर दुरा  |  दृष्टिकोण  |  मंसिर २७, २०७६

दुनियाँ गतिशील  छ । त्यसमा पनि अहिले ‘इन्स्ट्यान्ट न्युज’ को अवधारणाले मूर्त रूप पाएको छ । यसले दुनियाँको गतिशीलतामा थप गति थपिएको छ । आज मोबाइलको स्क्रिनमै ताजा समाचार तत्क्षण पढ्न पाइने अवसर उपलब्ध छ । यसले सामाजिक चेतना र व्यवहारमा नै व्यापक फेरबदल ल्याइदिएको छ । 

ताजा समाचार पढ्न बिहानको अखबार पर्खनुपर्ने समयको अन्त भइसकेको छ ।  इन्टरनेटको पहुँच भएको ठाउँमा नयाँ जानकारी पाउन रेडियो वा टेलिभिजनको आवधिक समाचार बुलेटिन पर्खनुपर्ने बाध्यता पनि विगतमा रूपान्तरण भइसकेको छ । 

अनलाइन समाचार पोर्टल, मोबाइल सञ्चार र सूचना प्रविधिको त्रिवेणीले ‘इन्स्ट्यान्ट न्युज’ को अवधारणालाई गतिलो किसिमले साकार तुल्याएको छ । त्यसमा पनि सामाजिक सञ्जाल र सोसल मिडियाको दरिलो उपस्थितिले ‘इन्स्ट्यान्ट न्युज’ को अवधारणालाई हदैसम्म सहजीकरण गरिरहेको छ । 

अहिले जति बेला चाह्यो, त्यति बेला नै ताजा समाचार पढ्न पाइने अवसर प्राप्त छ । यसले दुनियाँलाई सुसूचित तुल्याइरहेको छ । आधुनिक युगले दिएको एउटा सुन्दर उपहार हो, यो । यसले समाजको उन्नतिमा समेत अतुलनीय योगदान गरेको छ ।

हामीमाथि मडारिन लागेको यस प्रकारको आशङ्का र अनिष्टको बादललाई हटाउन हरेक सोसल मिडिया प्रयोगकर्ता र अनलाइन सञ्चारकर्ता जिम्मेवार, नैतिकवान् र विवेकशील हुनैपर्छ । यसको कुनै विकल्प पनि छैन । 

अहिले नेपालका ६३ प्रतिशत नागरिकको इन्टरनेटमा पहुँच रहेको आँकडाहरूले देखाउँछ । हरेक कुराको उज्यालो र अँध्यारो पक्ष हुन्छ भनेजस्तै अहिलेको अनलाइन मिडिया पनि यो शाश्वत नियमको अपवाद बन्ने कुरै भएन ।

अनलाइन मिडियाले पस्केका हानिकारक र भ्रामक जानकारीका कारण कतिपयको जीवन उजाडिन पुगेका कैयौँ दृष्टान्त हाम्रा सामु छन् । धेरै अध्ययनहरूले यही तथ्यलाई औँल्याएका छन् । यही पृष्ठभूमिमा अनलाइन मिडियामाथि अनेकौँ प्रश्न तेर्सिन पुगेका छन्, जुन निश्चय नै सुखद प्रसङ्ग होइन र मान्न सकिँदैन ।

अनलाइन मिडियासँग जोडिएका समस्याका अनेकन् आयाम होलान् र छन् । समस्याको एउटा आयाम हो, अनलाइन पत्रकारिता र अनलाइनमा हुने अन्य खालको सञ्चारलाई एउटै अर्थमा बुझिनु । यी दुई भिन्न कुरा हुन् । यी दुईबिचको भिन्नता थाहा पाउनु अति जरुरी छ । 

पत्रकारिता पत्रकारले मात्र गर्छ । पत्रकारिता जहिले पनि समाचार कक्ष प्रक्रिया (न्युज रुम प्रोसेस) भएर गुज्रनुपर्छ । यसको अर्थ हो, पत्रकार आफूले पाएको कुनै पनि जानकारीको निश्चित प्रक्रिया अपनाएर त्यसको सहीपन परीक्षण गर्नैपर्छ । त्यसो नगरी प्रकाशन वा प्रसारण गर्न मिल्दैन । खास प्रयत्नपछि मात्र पत्रकारिता सम्भव हुने भएकाले यो एक हिसाबले विशेष सञ्चार भनिएकाे हो । 

अन्य प्रकृतिको सञ्चार जोहोकीले पनि गर्न सक्छ । त्यसो त, सञ्चार गर्न पाउन हरेक नागरिकको नैसर्गिक अधिकार हो । नेपालको संविधान, २०७२ को धारा १९ ले हरेक नागरिकलाई सञ्चारको हककाे  सुनिश्चित गरेकाे छ ।

सोसल मिडियाको विस्फोटक उपस्थितिले सूचनाको हक उपभोगमा थप सहजता आएको छ । तर, अन्य प्रकृतिको सञ्चारमा आफूले पाएको जानकारी प्रवाह गर्नुभन्दा अघि परीक्षण गर्नुपर्ने कुनै  बाध्यता छैन । जानकारीको सहीपन जाँच्ने काम सम्बन्धित व्यक्तिको नैतिक जिम्मेवारीमा पुरापुर निर्भर रहन्छ ।

यस्तो अवस्थामा जोहोकीले पनि सञ्चार गर्न सक्ने भएकाले यसमा जस्तो पायो, त्यस्तै सूचना प्रवाह हुनसक्छ । यस किसिमको सञ्चारमा उपयोगी र अनुपयोगी दुवै प्रकृतिका जानकारी सम्प्रेषण हुन सक्छन् । 

गलत तत्त्वले गलत आशयका साथ समाजका लागि अहितकर सूचना प्रवाह गर्न सक्छ । अहिले फेसबुक तथा यु ट्युब च्यानलहरू यही कारणले बढी नै बदनाम बन्दै गएको अवस्था छ  । यसो हुनुको मूल दोष र कारण हो, गलत तथा अहितकर जानकारी सम्प्रेषण गर्ने कार्य नै जिम्मेवार छ । 

तर, सबै जानकारी गलत आशयका साथ सम्प्रेषण हुन्छ भन्ने निष्कर्षमा पुग्नु नितान्त गलत हुन जान्छ । आशय सही हुँदाहुँदै पनि कतिपय सूचना सम्प्रेषण कर्तामा ज्ञानको अभाव वा असावधानीले सूचना गलत साबित हुनपुग्छ । यसलाई गलत जानकारी (मिस्इन्फरमेसन) भनिन्छ । यसमा अरूको अहित गर्ने सम्प्रेषण कर्ताको कुनै आशय नहुन पनि सक्छ ।

तर, कतिपय जानकारी गलत आशयका साथ जानाजान सम्प्रेषण गरिन्छ । यसलाई दुष्प्रचार (डिस्इन्फरमेसन) भनिन्छ । यस्ता जानकारी आफ्नो निहित स्वार्थ सिद्ध गर्न सम्प्रेषण गरिन्छ । यसरी सम्प्रेषण गरिएका जानकारी अर्ध सत्य वा पुरापुर असत्य वा नितान्त भ्रामक पनि हुन सक्छन् । 

यति बेला फेसबुक तथा यु ट्युब च्यानलमा यही प्रकृतिका जानकारीहरू भरमार भेटिएका छन् । यस्ता माध्यममा आफ्ना प्रडक्ट तथा सेवाको बढाइ–चढाइ प्रचार गर्ने, आफ्ना साइट तथा च्यानलको भिजिटर बढाएर अर्थोपार्जन गर्ने र कतिपय अवस्थामा आफ्ना विरोधीहरूलाई अरूको नजरमा गिराउने कुतसित नियत र मनसायबाट दुष्प्रचार (डिस्इन्फरमेसन) को सहारा लिइएको समेत पाइन्छ । 

आकर्षक शीर्षक तथा क्याप्सन, तस्बिर तथा भिडियोको गलत प्रयोग, बिकाऊ नारा आदिको सहारा लिएर दुष्प्रचार (डिस्इन्फरमेसन) गर्ने क्रम बढेको छ । मूलतः यु ट्युब भिडियोहरूले यस्तो कार्यमा कुख्याति नै कमाउँदै गएको देखिन्छ ।

कुनै सामाजिक उत्तरदायित्व बिना अर्थोपार्जन गर्ने एक मात्र अभीष्ट लिएर खुलेका कतिपय यु ट्युब च्यानलले व्यक्तिको निजी जीवनमा हमला गर्ने, सामान्य घटनालाई तिलको पहाड बनाउने, अश्लीलता पस्कनेजस्ता उपाय रचेर भ्युवर बढाउने गरेको पाइन्छ ।

एउटा यु ट्युब च्यानलले लोकशैलीका गीत उत्पादनमा ख्याति कमाएका एक जना गायकबारे सामग्री तयार पारेको थियो । त्यसमा सम्बन्धित कलाकारले आफ्नो आधिकारिक यु ट्युब च्यानलमा पाएको लाख र करोड सङ्ख्याको भ्युलाई नगदमा परिणत गरेर फलानो कलाकारले करोड कमायो भनेर यु ट्युबरले दुष्प्रचार गरेको थियो । यसो गर्नुमा आफ्नो च्यानलको भ्यु बढाउनु नै उनको मूलभूत उद्देश्य देखिन्छ ।

प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचार संहिता, २०७३ (पहिलो संशोधन, २०७६) ले ‘सत्य–तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नु पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य हो’ भनेको छ । तर, कतिपय अनलाइन मिडियाले यसको पालना गरेको पाइँदैन ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) द्वारा जारी पत्रकार आचार संहिताको दफा ५ मा ‘छिटो समाचार दिने नाममा तथ्यको सहीपन परीक्षण नगरी समाचार दिन नपाइने’ प्रावधान छ । तर, कतिपय जिम्मेवार अनलाइनले यसको पालना गरेको पाइँदैन । अरूलाई उछिनेर छिटो समाचार दिने नाममा कतिपय अनलाइन मिडियाले भ्रामक समाचार पस्किरहेका छन् ।

त्यसमा पनि आचार संहितालाई आत्मासात नगर्ने यु ट्युब च्यानल तथा अन्य सोसल मिडिया प्रयोगकर्ताले सामाजिक मर्यादाको धज्जी उडाएका छन् । यसले नियमनकारी निकायलाई अनलाइन मिडियामाथि नियमन गर्न नैतिक मनोबल मिल्न गएको छ, जसले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको स्वतन्त्र प्रवाहलाई कुनै न कुनै रूपमा अ‌कुश लाउने सम्भावना पनि त्यतिकै  छ  ।

हामीमाथि मडारिन लागेको यस प्रकारको आशङ्का र अनिष्टको बादललाई हटाउन हरेक सोसल मिडिया प्रयोगकर्ता र अनलाइन सञ्चारकर्ता जिम्मेवार, नैतिकवान् र विवेकशील हुनैपर्छ । यसको कुनै विकल्प पनि छैन ।