हिमपातका कारण डोल्पामा वार्षिक परीक्षा समेत प्रभावित

हिमपातका कारण डोल्पामा वार्षिक परीक्षा समेत प्रभावित

लोकसंवाद संवाददाता  |  शिक्षा  |  मंसिर २७, २०७६

हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । 

बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् । 

हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरिश जोसीले बताउनु भयो । विद्यार्थी परीक्षामा लेख्न नै सकेका छैनन उहाँले बताउनु भयो । 

चिसोका कारण साना साना बालबालिकाहरु लेख्दा, लेख्दै रुने, कराउने गरेको उहाँको भनाइ छ । विद्यालयको प्राङ्गणमा आगो बालेर परीक्षा दिने काम भइरहेको शिक्षकले बताउनुभयो । 

त्यस्तै हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी प्रभाव पार्ने गरेको छ । चिसोले गर्दा घरबाहिर निस्केर काम गर्न कठिन भएको त्रिपुरासुन्दरी नगरपालिका–२ रसिका स्थानीयवासी जुनराज रोकायले बताउनु भयो ।

डोल्पामा दुई शैक्षिक शत्र शुरु हुने गरेका छन् । हिमपात नरोकिए परीक्षा नै प्रभावित हुने खतरा भएको सरस्वती मावि जगदुल्लाका शिक्षक मानबहादुर रोकायले जानकारी दिनुभयो ।