विश्वकप एसिया छनोट : नेपाल र थाइल्याण्ड भिड्दै

एक सय पच्चिस रनको लक्ष्य पछ्याउँदै नेपाल

विश्वकप एसिया छनोट : नेपाल र थाइल्याण्ड भिड्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन ९, २०७५

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ ।

नेपालले अहिले थाइल्याण्डले दिएको एक सय २५ रनको लक्ष्य पछ्याइरहेको छ । १५ ओभरको खेल सकिँदा नेपालले तीन विकेट गुमाएर ५२ रन जोडेको छ । नेपालका तर्फबाट इन्दु बर्मा २७ र सरिता मगर १८ रनमा खेलिरहेकी छन् । 

यसअघि टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर एक सय २४ रन जोडेको थियो । थाइल्याण्डका तर्फबाट सि सुथ्थिरुङले सर्वाधिक ३५ रन जोडेकी थिइन् । बलिङमा नेपालका तर्फबाट नेरी थापा र कविता गुरुङले समान दुई विकेट लिएकी थिइन् । 

घरेलु टोलीविरुद्ध खेलिरहेको नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै नेपालले सुखद शुरुआत गरिसकेको छ । तर, बलियो थाइल्याण्डविरुद्ध जित निकाल्न नेपालले कठिन चुनौती छ । थाइल्याण्डले गत महिना महिला टि–२० स्म्यास प्रतियोगितामा नेपाललाई ९ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो । 

यस्तै थाइल्याण्ड पनि दोस्रो जितको खोजीमा हुनेछ । थाइल्याण्डले पहिलो खेलमा चीनलाई छ विकेटले पराजित गरेको थियो । दुई खेलमा दुई जितका साथ युएई अंक तालिकाको पहिलो स्थानमा छ । समान एक जित निकालेको नेपाल र थाइल्याण्ड रन रेटका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले आजको खेल जित्न सके नेपाल ग्लोबल छनोटमा पुग्ने दाबी गर्नुभयो ।