ज्ञान बिनाकाे प्राणायामको फल क्षणिकमात्र

ज्ञान बिनाकाे प्राणायामको फल क्षणिकमात्र

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  मंसिर २८, २०७६

   ये हि संस्पर्शजा भोगा दुःखयोनय एव ते ।
    आद्यतवन्तः कौन्तेय न तेषु रमते बुधः ।। २२ ।।

अन्वय र अर्थ – कौन्तेय = हे कुन्तीनन्दन ! हि = यसकारणः = ये = जुन, भोगाः = भोग हुन्, संस्पर्शजाः = विषय र इन्द्रियहरूको संस्पर्शबाट उत्पन्न भएका, ते = तिनीहरू, एव = नै, दुःखयोनयः = दुःखका कारण भएका, आद्यन्तवन्त = उत्पत्ति नाशशील छन्, (अतः), बुधः = विवेकी पुरुष, तेषु = ती भोगहरूमा, न रमते = रमाउँदैन ।

भावार्थ – हे कौन्तेय ! यी सबै भोगहरू विषय र इन्द्रिय संयोगबाट उत्पन्न हुन्, ती सबै नै दुःखका कारण र अनित्य पनि छन् । त्यसकारण विवेकी पुरुष यी सबै भोगहरूमा आसक्त हुँदैन ।

विशिष्टार्थ – शब्द, स्पर्श, रूप, रस, गन्ध यी पाँच विषयहरूको कर्ण, त्वचवा, चक्षु जिव्ह र नासिका यी पाँच इन्द्रियहरूबाट नै भोग गरिन्छ । प्रत्येक इन्द्रियको विषयभोग गर्ने शक्तिको पनि सीमा छ, त्यो सीमा अत्तिक्रमण हुँदा त्यसमा अरू भोग सुख मिल्दैन वरु दुःख उत्पन्न हुन्छ । जस्तो–गुलियो धेरै खाए तीतो हुन्छ । यही हो जगत्को नियम । त्यसकारण विषय भोग सुख क्षणिक हो, परिणाममा दुःख उत्पन्न गर्दछ भनिएको हो । अरू पनि–विषय भोगमा आसक्त रहँदा मनको आध्यात्मिकी (आत्माभिमुखमा उठ्ने) शक्ति निस्तेज हुन्छ अर्थात् जुन शक्तिद्वारा परमात्माको अनुभव गरिन्छ, जसको तेजले चित्तमा विषयको स्पर्श नहुनाले अन्तराकाश स्वच्छ रहन्छ त्यही शक्ति घट्दछ, अतएव अन्तराकाश ढाकिन्छ । किन्तु बाह्य विषय भोगबाट विरत भएपछि अन्तरमा जुन सुखको उदय हुन्छ त्यस सुखको शेष हुँदैन, अनन्तकालसम्म भोग गर्दा पनि त्यस सुखवाट विकार उत्पन्न हुँदैन । विवेकी पुरुषहरू त्यसैले विषय सुखमा आसक्त हुँदैनन् ।

    शक्तोतीहैव यः सोढुं प्राक् शरीरविमोक्षणात् ।
    काम क्रोधोद्भवं वेगं स युक्तः स सुखी नरः ।। २३ ।।

अन्वय र अर्थ – यः = जुन, नरः = मनुष्य, इहएव = जीवितावस्थामा नै, शरीर विमोक्षणात् प्राक् = मर्नुभन्दा पहिले, कामक्रोधद्भवं = काम क्रोधबाट उत्पन्न, वेगं = वेगलाई, सोढुं = सहन गर्न, शक्नोति = सक्दछ, सः = सोही, युक्तः = योगी हो, सः = सोही, सुखी = सुखी पनि हो ।

केवल काम क्रोधको वेगलाई सहन गरेर मात्र हुँदैन, जसले अर्न्तदृष्टिद्वारा कूटस्थ भित्र प्रवेश गरेर चित् स्वरूपको दर्शन गरेर सुखको अनुभव गर्दछ अर्थात् उत्फुल्ल हुन्छ अनि चंचलता विहीन भएर त्यही चित्स्वरूपमा आराम लाभ गर्दछ अर्थात् स्थिर हुन्छ त्यही योगी हो ।


 
भावार्थ – शरीर त्याग गर्नुभन्दा पहिलेसम्म जुन मनुष्यले यस लोकमा काम र क्रोधको वेगलाई सहन गर्न सक्दछ त्यही पुरुष योगी हो, त्यही पुरुष सुखी पनि हो ।

विशिष्टार्थ – सुख नै मनुष्यको लक्ष्य हो । त्यसभित्र विषय सुख अनित्य र दुःखकर छ, किन्तु आत्मानन्द सुख अक्षय छ । अतएव आत्मानन्द सुख नै परम पुरुषार्थ हो । परन्तु काम र क्रोध यस परम पुरुषार्थ लाभका विध्न हुन् । विषयको मोहिनी शक्ति वा आकर्षण नै काम हो । यस काममा वाधा पुग्नाले नै यो क्रोधमा परिणत हुन्छ (३ अ. को ३७ सौं श्लोक) । काम र क्रोधले साधकलाई भित्र र बाहिर आक्रमण गर्दछन् । जुन मनुष्य जाग्रत अवस्थामा विषय संश्रावमा आएर मर्नु भन्दा पहिलेसम्म शरीरका स्वस्थ, अस्वस्थ सबै अवस्थामा नै भोगका विषयमा अनुरक्त अथवा भोग विषयमा हानि पुग्दा विरक्त हुँदैनन् तिनै पुरुषहरू योगी हुन्, तिनै पुरषहरू सुखी हुन् । यो त भयो बाहिरको कुरा । त्यस्तै भित्र गुरूपदिष्ट मार्गमा क्रिया गर्दा खेरि जबसम्म मन 'इह' अर्थात् पञ्चतत्व भित्र रहन्छ तबसम्म मनोवृत्ति समूह अतीव सूक्ष्म हुनुका साथै त्यस काम र क्रोधको वेग प्रबल हुन्छ र थाहै नपाइकन मनलाई आक्रमण गर्दछ ।जुन साधकले यस अवस्थामा पञ्चतत्व भन्दा माथि उठेर अज्ञानचक्रलाई भेदन गरेर कूटस्थमा पर्नुभन्दा पहिले (प्राक् शरीरविमोक्षणात्), विवेक र वैराग्यको आश्रय लिएर त्यस वेगलाई सहन गर्न सक्छ, अटलस्थिर भावले कूटस्थलाई लक्ष्य गरिरहन सक्छ, अलिकति पनि विचलित हुँदैन त्यही पुरुष युक्त हो, त्यही पुरुष सुखी अर्थात् त्यो साधक सुन्दर चिताकाशमा आश्रय प्राप्त हो ।

    योऽन्तः सुखोऽन्तराराम स्तथान्तज्र्योतिरेक यः ।
    स योगी ब्रम्हनिर्वाणां ब्रम्हभूतोऽधिगच्छति ।। २४ ।।

अन्वय र अर्थ – यः = जुन पुरुष, अन्तः सुखः = अन्तरात्मामा सुखी, अन्तरारामः = अन्तरात्मामा क्रीडा गर्ने, तथा = त्यस्तै, एव = नै, यः = जुन पुरुष, अन्तज्र्योतिः = अन्तरात्मा नै प्रकाश भएको, सः = त्यो, योगी = योगीले, ब्रम्हभूतः = ब्रम्हमा स्थिति लाभ गर्दोछँदो, ब्रम्हनिर्वाणं = मोक्ष, अधिगच्छति = प्राप्त गर्दछ ।

भावार्थ – जसको आत्मामा नै सुख, आत्मामा नै आराम र आत्मामा नै प्रकाश छ अर्थात् जसले अन्तःकरणमा परमात्मा बाहेक अरू कसैलाई स्थान दिंदैन त्यो योगी हो, त्यस्तो योगीले ब्रम्हमा स्थिति लाभ  गरेर मोक्ष प्राप्त गर्दछ ।

विशिष्टार्थ – केवल काम क्रोधको वेगलाई सहन गरेर मात्र हुँदैन, जसले अर्न्तदृष्टिद्वारा कूटस्थ भित्र प्रवेश गरेर चित् स्वरूपको दर्शन गरेर सुखको अनुभव गर्दछ अर्थात् उत्फुल्ल हुन्छ अनि चंचलता विहीन भएर त्यही चित्स्वरूपमा आराम लाभ गर्दछ अर्थात् स्थिर हुन्छ त्यही योगी हो । त्यसपछि त्यही चिज्ज्योतिको सहायताले जे जस्तो लक्ष्य देखिन्छ त्यसलाई सूक्ष्म दृष्टिद्वारा भेदन गर्दछ, त्यही दृष्टि सूक्ष्म, अतिसूक्ष्म, त्यसभन्दा पनि सूक्ष्म हुंदैहुंदै अनन्तमा विलीन हुन्छ, आफू पनि ब्रम्हमा मिलेर ब्रम्ह हुन्छ । यही नै योगीको ब्रम्ह निर्वाण प्राप्ति हो ।

    लभन्ते ब्रम्हनिर्वाणमृषयः क्षीणकल्मषाः ।
    छिन्नद्वैधा यतात्मानः सर्वभूतहिते रताः ।। २५ ।।

अन्वय र अर्थ – क्षीणकल्मषाः = पाप रहित, छिन्नद्वेधाः = संशयशून्य, यतात्मानः = जितेन्द्रिय, सर्वभूतहिते = सम्पूर्ण प्राणीहरूको हितमा, रताः = लागेका (छन्) अर्थात् अहिंसक छन्, त्यस्ता ऋषयः = ऋषिहरू (सम्यक्दर्शीहरु) ब्रम्हनिर्वाणं = मोक्ष, लभन्ते = प्राप्त गर्दछन् ।

भावार्थ – निष्पाप, संशयशून्य, सर्वत्यागी तथा सम्पूर्ण प्राणीहरूको कल्याणका लागि साधनामा रत ऋषिगण ब्रम्हनिर्वाण लाभ गर्दछन् ।

विशिष्टार्थ – भगवान् श्रीकृष्णले पहिलो श्लोकमा योगीहरूले ब्रम्हनिर्वाण प्राप्त गर्ने तरीका बताएर यस श्लोकमा ऋषि मुनिहरूले ब्रम्हनिर्वाण प्राप्त गर्ने कुरा बताउनु भएको छ ।

जुन साधकहरू योगानुष्ठानद्वारा सर्वकर्म त्याग गरेर ऋषि अर्थात् सम्यक्दर्शी हुन्छन् तिनै पुरुषहरू सन्यासी, आब्रम्हस्तम्वपर्यन्त सबैमा नै उनीहरूको ब्रम्हदृष्टि रहन्छ, अतः उनीहरूमा कुनै कल्मष वा द्विधा रंहदैन । फेरि उनीहरूको चित्त पनि सधैं नै निक्षेप विहीन अवस्थामा ब्रम्हभावमा रहन्छ, अतः तिनीहरू सर्वत्यागी र सर्वमङ्गलमय बनेर सर्वप्राणीहरूको हित गर्दछन् अर्थात् उनीहरूको दर्शन मात्रले जीव जगत्को प्राणमा शान्तिको सञ्चार हुन्छ र उनीहरूको उपदेशले ज्ञान लाभ गरिन्छ । यसरी काम व्यतीत गरेर ऋषिमुनि सन्यासीहरू पनि ब्रम्हनिर्वाण प्राप्त गर्दछन् ।

    काम क्रोधविमुक्तानां यतीनां यतचेतसाम् ।
    अभितो ब्रम्हनिर्वाणं वर्तते विदितात्मनाम् ।। २६ ।।

अन्वय र अर्थ – कामक्रोधविमुक्तानां = काम र क्रोध यी दुवै दोषबाट रहित, यतचेतसां = अन्तः करणलाई वशमा राखेका, विदितात्मनां = आत्मज्ञानी, यतीनां = संन्यासीहरुको अभितः = जीवित वा मृत्यु पछि दुवै अवस्थामा, ब्रम्हनिर्वाणं = मोक्ष, वर्तते = विद्यमान रहन्छ ।

भावार्थ – काम क्रोध विमुक्त, संयतचित, सम्यक् दर्शी संन्यासीहरूको जीवित र मृत दुवै अवस्थामा नै ब्रम्हनिर्वाण विद्यमान रहन्छ ।

विशिष्टार्थ – जुन संन्यासी ती सबै गुणहरूले सम्पन्न छन् तिनीहरू जीवनमुक्त (ब्रम्हस्वरूपमा सदा अवस्थित रहन्छन्, त्यसैले उनीहरूमा संगदोष रहदैन), मरणमा पनि मुक्त (मृत्यु हुनासाथ परमगति प्राप्त हुन्छ) छन् । काम क्रोध विमुक्त प्रभृति गुणहरूको लाभ कर्मयोग विना लाभ हुँदैन,  त्यसैलाई लक्ष्य गराउनका लागि श्रभिगवान्ले संन्यासीहरूका ती सबै विशेषण दिनु भएको हो । त्यसकारण पछिका श्लोकहरूमा कर्मयोगलाई विस्तार पूर्वक वताउनु भएको छ । विदितात्मा–आत्मा विदित हुनु हो, जस्तो–दीपशिखामा दीपशिखाको मिलन ।

    स्पर्शान् कृत्वा बहिर्वाह्याञ्चक्षुश्चै्येवान्तरे भ्रुवोः ।
    प्रागापानौ समौ कृत्वा नासाभ्यन्तरचारिणौ ।। २७ ।।

    यतेन्द्रियमनो बुद्धि र्मुनिर्मोक्षपरायणः ।
    विगतेच्छाभयक्रोधो यः सदा मुक्त एव सः ।। २८ ।।

अन्वय र अर्थ – बाह्यान् = बाहिरका, स्पर्शान् = शब्द स्पर्शादि विषयहरूलाई, बहिः कृत्वा = बाहिर गरेर अर्थात् अन्तकारणमा प्रवेश गरेका शब्दादि विषहरूलाई श्रोत्रादि इन्द्रियहरूद्वारा चिन्तन नगरेर, चक्षु = आँखालाई, च एव = पनि, भ्रुवोः = आँखिभौंको, अन्तरे = वीचमा, कृत्वा = स्थापन गरेर, नासाभ्यन्तर चारिणौ = नाकभित्र विचरण गर्ने, प्राणापानौ = प्राण र अपान वायुलाई, समौ = समान, कृत्वा = गरेर, यः जसले, यतेन्द्रियमनोबुद्धिः = इन्द्रियहरू मन र बुद्धि वशमा गरेको छ, विगतेच्छाभयक्रोधः = जो इच्छा भय क्रोधबाट रहित छ, मोक्षपरायणः (सन्) = मोक्षपरायण भएर, मुनिः = मुनि हुन्छ, सः = त्यो, सदा = जीवित अवस्थामा पनि, मुक्तः = मुक्त, एव = नै हुन्छ ।

भावार्थ – शब्दादि विषयहरूलाई भित्रैबाट हटाएर, नेत्रलाई आँखिभौंको वीचमा स्थापन गरेर नाकवाट भित्र बाहिर गर्ने प्राण र अपान वायुलाई सम गरेर जसले इन्द्रियहरू, मन र बुद्धिलाई वशमा राख्दछ तथा इच्छा, भय, क्रोध विहीन छ र मोक्षपरायण भएर मुनि बनेको छ, त्यो पुरुष सदा नै मुक्त छ ।

विशिष्टार्थ – भगवान् श्रीकृष्णले बारंबार भन्दै आउनु भएको छ – कर्मयोग नै मोक्षको कारण हो, अतः योग र संन्यास दुवैको ब्रम्हनिर्वाण स्वरूप एउटै परिणाम देखाएर अव फेरि कर्मयोग अन्तर्गत ध्यानयोगलाई विशेष गरेर बताउनु भएको छ ।

विषयको चिन्ता नगर्नु नै 'भित्रबाट विषयलाई बाहिर गर्नु हो', किन कि चिन्ता गर्नाले विषय अन्तरमा प्रवेश गर्दछ । दुबै भ्रूको ठीक वीचमा दृष्टिलाई स्थिर राख्नु पर्दछ, त्यसैको नाम हो भ्रूमध्यमा नेत्र स्थापित गर्नु । सहज क्रियामा प्राणायाम गर्दा गर्दा जब निश्वास प्रश्वास सूक्ष्म भन्दा सूक्ष्म हुन्छन् र तिनीहरूको वेग नासिकाको भित्र बग्न थाल्दछ त्यस अवस्थामा प्राण र अपानलाई समान गर्नु पर्छ । (अपान वायुले बाहिर जाने गति लिए पछि त्यसलाई पूरकबाट आकर्षण गर्दा प्राणको स्थान संकीर्ण हुन्छ अनि प्राण स्वतः अपानमा गएर मिल्दछ । यसरी दुवै मिलेर समान हुन्छ । यसैलाई अपानमा प्राणको आहुति दिनु भनिन्छ, त्यस्तै रेचकले निश्वासद्वारा प्राणमा अपानको हवन हुन्छ) । प्राणापान समान भएपछि नै 'यतेन्द्रिय मनोबुद्धि' आदि अवस्था स्वतः आउंछन् । ती सबै अवस्थाबाट जब मुनि हुन्छ अर्थात् तत्पदमा मन संलीन हुन्छ अनि मात्र साधक सिद्धयोगी हुन्छ । यसरी सिद्ध भएपछि जाग्रत, स्वप्न, सुषुप्ति, समाधि सबै अवस्थामा नै ऊ ब्रम्हभावमा रहन्छ । त्यसैले त्यो साधक सदामुक्त छ ।
    
    भोक्तारं यज्ञतपसां सर्वलोकमहेश्वरम् ।
    सुहृदं सर्वभूतानां ज्ञात्वा मां शान्तिमृच्छति ।। २९ ।।

अन्वय र अर्थ – यज्ञतपसां = कर्तारूपले र देवरूपले समस्त यज्ञ र तपस्याको, भोक्तारं = भोक्ता, सर्वलोकमहेश्वरं = सम्पूर्ण लोकहरूका महान् ईश्वर, सर्वभूतानां = समस्त प्राणीहरूका, सुहृदं = विना प्रत्युपकार उपकार गर्ने, मां = म नारायणलाई, ज्ञात्वा = जानेर, शान्तिं = परम शान्ति, ऋच्छति = प्राप्त गर्दछ ।

भावार्थ – भनुष्यले यसरी मलाई यज्ञ तथा तपस्याको भोक्ता सम्पूर्ण लोकहरूको महान् ईश्वर र सम्पूर्ण प्राणीहरूको सुहृद् जानेर शान्ति लाभ गर्दछ ।

विशिष्टार्थ – (पहिलेको श्लोक अनुसार क्रिया गर्नाले नै मुनिको अवस्था हुन्छ भन्ने छैन, ज्ञान हुनु पर्छ, ज्ञान भएन भने प्राणायामको फल क्षणिक हुन्छ । त्यही ज्ञानको कुरा भगवान् श्री कृष्णले यस श्लोकमा बताउनु भएको छ ।)

योगी समाहित भएर जब देख्दछन् र बुझ्दछन् जति प्रकारका यज्ञ र तपस्या गरिन्छन् भगवान् नारायण (विष्णु) नै ती सबैका भोक्ता हुनुहुन्छ । भूः भुवः स्वः  आदि जुन जुन लोकमा मन्त्र विन्यास गरेर आत्मप्रतिष्ठा गरेर आउनु पर्छ, भगवान् विष्णु नै ती सबैका नियन्ता, उहाँ नै सम्पूर्ण प्राणीहरूका हृदयमा आत्मा रूपले विराजित हुनुहुन्छ । भगवान् श्रीकृष्ण भन्नुहुन्छ – 'म नै उही विष्णु रूपले विश्वव्यापी छु' अनि ती योगीहरू सर्वव्यापी भएर ममा मिल्दछन्, शान्ति पाउँछन् र मुक्त हुन्छन् ।

इति श्रीमम्दगवद्वीतासूपनिषत्सु ब्रम्हविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे कर्मसंन्यासयोगो नाम पञ्चमोऽध्यायः ।

क्रमशः

याे पनि 

संशयको त्याग गर ! त्याग गर्नु तिम्रो हातमा !!

इच्छा–आकांक्षा,  प्राकृतिक भावकाे त्याग र नित्य सन्यास

चित्तशुद्धिः संन्यास र योग दुवैको एउटै फल

मृत्यु र समाधिमा फरकः देह त्याग हुने र नहुने अज्ञानता

आत्मा सुख: जसले जान्यो, सम्झ्यो त्यो भाषामा व्यक्त गर्न कठीन