धाँधली

धाँधली

तथागत मुनि  |  साहित्य  |  मंसिर २८, २०७६

सुनसान मध्यरात । उनी मस्त निद्रामा थिए । हठात् उठेर खै कोनि केके बर्बराउन थाले । श्रीमतीले आवाज मात्र सुनिन्, कुरा बुझिनन् । कुरा नबुझेपछि श्रीमानलाई घच्घच्याउँदै सोधिन्, हजुरलाई के भयो हँ ?’श्रीमतीको आवाजले उनी झल्याँस्स ब्युँझे र भने, धाँधली भो धाँधली । हो, हाम्रो पार्टीमाथि धाँधली भो ।’

उनी निरन्तर कराइरहे, ‘धाँधली, धाँधली, धाँधली ...!’

श्रीमानजी यसरी मध्यरातमा बर्बराएको देखेर श्रीमती डराइन् । उनले आत्तिँदै सोधिन्,, कहाँ, कसले धाँधली ग¥यो, के धाँधली भो ?’

‘जताततै धाँधली, यतै धाँधली, उतै धाँधली, त्यतै धाँधली, सबैतिर धाँधली’, उनले झ्यालबाहिरको अन्धकारतिर देखाउँदैै भने ।

श्रीमान् बर्बराएको देखेर सुरुमा श्रीमती डराए पनि एकछिनपछि भने श्रीमतीलाई पनि श्रीमानसँग झोँक चल्यो । ‘तपाईं होसमा त हुनुहुन्छ ?’, श्रीमतीले अलिक ठूलो स्वरले भनिन् ।

‘म होसमा छु बरु होसमा त त्यो छैन, जसले हाम्रो पार्टीमाथि धाँधली ग¥यो’, यसरी उनले आफू होसमै भएको दाबी प्रस्तुत गरे ।

एकै छिनमा उनी दाह्रा किट्न थाले । उनले हतारहतार आफ्नो मोबाइल खोजे । सहयोगीको नम्बर दाबे । भोलि बिहानै पत्रकार बोला’, सहयोगीलाई उनले आदेश दिए ।

यति हतारमा किन पत्रकार बोलाउनु भनेको हो, सहयोगीलाई थाहा थिएन, न त किन पत्रकार बोलाउनु भनेर आफ्ना विधातालाई सोध्ने आँट नै थियो सहयोगीसँग । अन्धकार एजेण्डामै पत्रकारलाई बोलाउन थाल्यो विचरा सहयोगी ।

‘ल भोलि बिहानै उहाँको पत्रकार सम्मेलन हुँदै छ’, मध्यरातमा पत्रकारहरूका कानमा यस्तै आवाजहरू आउन थाले ।

पत्रकार सम्मेलन किन गर्न लागेको हो ? पत्रकारलाई पनि थाहा थिएन । तैपनि यसरी अपर्झट पत्रकार सम्मेलन हुने भो भनेपछि पक्कै पनि गम्भीर विषयमा नै पत्रकार सम्मेलन हुनुपर्छ भन्ने ठान्दै पत्रकारहरू पनि हस्याङ्फस्याङ् गर्दै झिसमिसेमै पत्रकार सम्मेलनस्थल पुगे ।

जसले हामीले बोलेको कुरामा प्रश्न राख्छ, त्यो धाँधलीको मतियार हो । हामीसँग धाँधलीको प्रमाण खोज्नु नै धाँधलीको भएको बलियो प्रमाण हो । बुझ्नु भो ? तपाईं पनि धाँधलीको एउटा मतियार हो । नत्र तपाईं हामीसँग यसरी धाँधलीको प्रमाण कसरी माग्ने आँट गर्नुहुन्थ्यो ?’

पत्रकार पुग्दा नपुग्दै उनी पनि २४ जना सहयोगी अगाडि पछाडि लगाएर पत्रकार सम्मेलनस्थल पुगे । 

पत्रकार मित्रहरू !

हाम्रो पार्टीमाथि ठूलो धाँधली भो । तपाईंहरूलाई त्यस्तो भ्रम नहोस् कि हाम्रो पार्टीले परीक्षामा खाली उत्तरपुस्तिका बुझायो । हामीले परीक्षामा पूराका पूरा उत्तरपुस्तिकाका पाना भरेका हौँ । उत्तरपुस्तिकाको एक पेज पनि खाली छाडेको छैन । हामीलाई पूर्ण विश्वास थियो कि हामी पास मात्र हुने होइन, पूराका पूरा डिस्टिङ्सन ल्याउँछौँ तर हामीमाथि रातारात धाँधली भो । हाम्रा उत्तरपुस्तिकामा हामीले भरेका अक्षरहरू रातारात हाम्रा विपक्षीका उत्तरपुस्तिकामा सारेर हाम्रा उत्तरपुस्तिकाका पाना खालि गरिए । उता, हाम्रा विपक्षीका उत्तरपुस्तिकाका पानाहरू भने हामीले लेखेका अक्षरहरूले भरी पारिए । प्रतिगामीहरूले हामीमाथि गर्नसम्म घात गरे ।

यो प्रतिगामी काम गर्न देशी विदेशी, राष्ट्रिय अन्तर्राष्ट्रिय मात्र होइन, सारा ब्रह्माण्ड र अन्तरिक्षमा भएका शक्तिसमेत लागे । राष्ट्रिय, अन्तर्राष्ट्रिय ग्राण्ड डिजाइनमा भएको यो काममा हाम्रै सेना, प्रहरी र कर्मचारीहरूले समेत सहयोग गरे । अरू दृश्य अदृश्य शक्ति पनि हाम्रो विरुद्धमा एकजुट भए । रात, दिन, बिहान, साँझ, मिनेट, सेकेण्ड सबै हाम्रो विरुद्धमा एकमत भए ।

पत्रकार मित्रहरू !

त्यसैले यो परीक्षा परिणाम म स्वीकार गर्दिनँ । हामीमाथि राष्ट्रिय, अन्तर्राष्ट्रिय ग्राण्ड डिजाइनअन्तर्गत जुन धाँधली भएको छ, म यसको भण्डाफोर गर्छु । माने, म यो परिणाम बहिस्कार गर्छु । छानबिनको माग गर्छु । हाम्रा विपक्षीले हाम्रा उत्तरपुस्तिकाबाट चोरेर लगेका अक्षरहरू फेरि हाम्रै उत्तरपुस्तिकामा सारेर हामीलाई डिस्टिङ्सनमा पास गराउने हो भने म छानबिन परिणाम स्वीकार गर्छु । अन्यथा म छानबिन परिणाम पनि स्वीकार गर्दिनँ ।

मैले अहिले नै भन्द्या’ छु । अब छानबिन समिति गठन गरी त्यो छानबिन समितिले मैले भनेजस्तो प्रतिवेदन नदिएसम्म म आजैबाट पास भएकाहरूसँग सम्बन्धविच्छेदको घोषणा गर्छु । धन्यवाद !

सारगर्भित मन्तव्य सकेर उनी बाटो तताउने तयारीमा लागे । झिसमिसेमै निस्केका उनका सारगर्भित वाणीहरू धेरैलाई मसला हुने नै भयो । तर, उनको यो सारगर्भित मन्तव्यको मर्म नबुझेको एउटा पत्रकारले प्याच्च उनीमाथि प्रश्न ग¥यो, धाँधली भएको भन्ने ठोस प्रमाण त दिन सक्नुभएन नि, यस्ता तपशीलका कुरा गरेर पनि धाँधलीको पुष्टि गर्न सकिन्छ र ?’

बाटो लागिसकेका उनी प्रश्न गर्ने पत्रकारतर्फ फरक्क फर्र्के र आक्रोशित मुद्रामा भने, हो, यही हो धाँधलीको प्रमाण । जसले हामीले बोलेको कुरामा प्रश्न राख्छ, त्यो धाँधलीको मतियार हो । हामीसँग धाँधलीको प्रमाण खोज्नु नै धाँधलीको भएको बलियो प्रमाण हो । बुझ्नु भो ? तपाईं पनि धाँधलीको एउटा मतियार हो । नत्र तपाईं हामीसँग यसरी धाँधलीको प्रमाण कसरी माग्ने आँट गर्नुहुन्थ्यो ?’

उल्टै उनले प्रश्न गर्ने पत्रकारमाथि धाँधली प्रश्न फ्याँके ।

उनको धाँधली पत्रकार सम्मेलन सकियो । प्रश्न सोध्ने पत्रकार जिल्ल पर्‍यो । उनीचाहिँ कोट मिलाउँदै, माने, जुँगा मुसार्दै आफ्नो दरबारतर्फ लागे ।