लता कार्की | साहित्य | मंसिर २८, २०७६
हामी
नदीको दुई धार भएर
बग्दैबग्दै जानू त्यो मुहान र, दोभानको लम्बाइ
बढ्दैबढ्दै जानुको बाध्यता
एक पटक भत्किएका दुई किनारालाई सोध्नू ।
जब रातमा दुख्छ देब्रे छाती
तब हामीलाई नियालिरहेको जूनलाई सोध्नू
प्रेमको आयतन बढ्दैबढ्दै गएपछि
कति फराकिलो हुन्छ भरोसा
आकाशको गहिराइलाई सोध्नू ।
एउटा रोगी घाम जब हाम्रो थलिएको आँगनमा
आइपुग्छ पसिना चुहाउँदै
तब त्यो उदास मझेरीलाई सोध्नू
कति फरक हुन्छ बटुवाको आगमन ?
हामीले कसरी कोरेका थियौँ- प्रेमको नक्सा
कसरी रंग्याउँदै छौँ- क्यानभासमा वर्तमान
कसरी हिँड्दै छौँ- इन्द्रेणीको बाटो टेक्दैटेक्दै
जीवनको यात्रामा
आफैँ दुख्नुको आनन्द
खुट्टामा गाडिएको खिललाई सोध्नू
विश्वासको ऐनामा पुछेर धुलो
कसरी मैलिन्छ भरोसा आफ्नै मुटुलाई सोध्नू ।
हमीले हिँडेको सडकको छेउ
- उही आदिम गल्ली
- उस्तै छ पानीको रङ
- उस्तै छ पधेँरो
- उस्तै छ होहल्ला हाटबजारको
- उस्तै छन् कान्ला र खोल्सा
- उस्तै छन् बाटोघाटो र रमिते चोक
र, उस्तै छन् मस्जिद, गुम्बा, चर्च र मन्दिर
सबैसबै छोएको छ- प्रेमकै कोमल हातले ।
साक्षी छन् सबैसबै देवदूतहरू
खुलेआम अपराध गर्न मिल्ने
यी सबै बदनाम गल्लीहरूलाई त्यागेर
ओ ! प्रिय मान्छे !
भ्रमको पर्दा च्यातेर
किन गर्न सक्दैन मान्छेले मान्छेलाई प्रेम ?