शिक्षासेवी गम्भीरमान मास्केकाे अर्धकदको सालिक विद्यालय परिसरमा अनावरण

शिक्षासेवी गम्भीरमान मास्केकाे अर्धकदको सालिक विद्यालय परिसरमा अनावरण

लोकसंवाद संवाददाता  |  शिक्षा  |  मंसिर २९, २०७६

काठमाडौं । राजधानीको विश्व निकेतन माविका पूर्व प्रधानाध्यापक गम्भीरमान मास्केको अर्धकदको सालिकको अनावरण गरिएको छ ।

विश्व निकेतन भनिँदा गम्भीरमान तथा गम्भीरमान भनिँदा विश्व निकेतन बुझिने जुन पर्याय बनेको थियो त्यस मान्यतालाई  चिरस्थाई बनाउने उदेश्यले सालिक स्थापना गरिएकाे हाे ।
 ‘गुणस्तरीय शिक्षाको लागि हातेमालो’ भन्ने नारालाई आत्मसात् गर्दै स्थापित विश्व निकेतन–गम्भीरमान फाउण्डेशनले विद्यालय परिसरमा सालिक स्थापना गरेको हो । सालिकको शनिबार एक समारोहबीच अनावरण गरियो ।

विद्यालयका पूर्व प्रधानाध्यापकहरू सत्यनारायण राजभण्डारी, कमला शाक्य, निर्मल गिरी  तथा मास्केका समवयी मित्र डा. हेरम्बबहादुर राजभण्डारीले संयुक्त रुपमा सालिक अनावरण गर्नुभएकाे थियाे ।  स्वर्गीय मास्केको वार्षिकीको अवसर पारेर उकुत सालिक अनावरण गरिएको हो ।

कार्यक्रममा विद्यालयकी पूर्वशिक्षिका मञ्जु अधिकारीले सरलता नै गम्भीरमान सरको परिचायक भएको बताउँदै ‘गम्भीरमान सरले अविभावकत्व लिएर शिक्षक तथा विद्यार्थीलाई सदैव प्रोत्साहन गर्ने तथा प्रशासनिक प्रमुख भएर शिक्षक तथा कर्मचारीलाई मित्रवत् व्यवहार गर्नुहुन्थ्यो,’ अधिकारीले स्मरण गरिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका पूर्वविद्यार्थी गोपाल श्रेष्ठले शिक्षा क्षेत्रका अनुकरणीय तथा आदरणीय व्यक्तित्व गम्भीरमान सरका विद्यार्थीहरुले सामाजिक संस्था गठन गरीकन उहाँको चिनो विद्यालयमा चिरस्थायी बनाएर प्रसंशनीय कार्य गरेको बताउनुभएकाे थियाे  ।

मास्केकी नातिनी डा. सफला मास्केले आफ्ना बाजेबारे स्मरण गर्दै भन्नुभयाे , ‘उहाँले जहिल्यै पनि असल व्यक्ति बन्न प्रेरित गर्नुहुन्थ्यो । उहाँको त्यो गुण सबैका लागि अनुकरणीय छ ।’
संस्थाका तर्फबाट विन्द्रा कक्षपती प्रधानले गम्भीरमान सरको शिक्षाप्रतिको समर्पणलाई फाउण्डेशनले विस्तार गर्ने लक्ष्य राखेको बताउँदै आगामी दिनमा संस्थाले शिक्षाको उन्नयनमा विविध कार्य गर्ने बताउनुका साथै उहाँले सालिक अनावरणको कार्यमा सहयोग पुर्‍याउने संलग्न सबैलाई धन्यावाद ज्ञापन व्यक्त  समेत गर्नु भएकाे थियाे ।

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले आफ्ना गुरुप्रति श्रद्धा अर्पण गर्न फाउण्डेशनमार्फत सालिक स्थापनको काम हुनु अनुकरणीय कार्य भएको बताउँदै  ‘विश्व निकेतन भनिँदा गम्भीरमान तथा गम्भीरमान भनिँदा विश्व निकेतन’ बुझिने जुन पर्याय बनेको थियो त्यसलाई सालिक स्थापनाले पूर्ण गराएको छ,’ कँडेलले भन्नुभयाे ।

विद्यालयका पूर्व प्रधानाध्यापक सत्यनारायण राजभण्डारीले मास्केले सधैं राम्रो गरे राम्रै हुन्छ भन्ने गरेको स्मरण गरे । ‘उहाँले राम्रो गरे, राम्रै हुन्छ भनिरहनुहुन्थ्यो । सालिक स्थापना हुनु भनेको उहाँले भनेजस्तै राम्रै काम भएको हो । यसले सबैलाई विभोर गराएको छ,’ राजभण्डारीले भने ।

फाउण्डेशनले यसअघि स्वर्गीय मास्केको जन्मदिन पारेर उनीद्वारा लिखित ‘दिवा स्वप्नमा आउने’ पुस्तकको अंग्रेजी संस्करण ‘द लिङ्गरिङ इमेज अफ माइ डे ड्रिम्स’ प्रकाशन गरिसकेको छ ।

मास्केको ८६ वर्षको उमेरमा गत वर्ष मंसिर १६ गते निधन भएको थियो । वि. सं. २०१७ सालमा अंग्रेजी विषय शिक्षकको रुपमा विश्व निकेतन प्रवेश गरी २०२३ देखि २०५१ सम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु हुने  मास्के एक अनुकरणीय शिक्षासेवीका सुपरिचित हुनुहुन्थ्याे ।