विश्वकप एसिया छनोट : नेपाल थाइल्याण्डसँग पराजित

विश्वकप एसिया छनोट : नेपाल थाइल्याण्डसँग पराजित

लक्ष्मण ओझा  |  खेलकुद  |  फाल्गुन ९, २०७५

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरको खेलमा एक सय २४ रनको योगफल तयार पार्यो । थाइल्याण्डका तर्फबाट सि सुथ्थिरुङले सर्वाधिक ३५ रन जोडेकी थिइन् । बलिङमा नेपालका तर्फबाट नेरी थापा र कविता गुरुङले समान दुई विकेट लिएकी थिइन् । 

एक सय २५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ६७ रनमा समेटियो । नेपालका तर्फबाट इन्दु बर्माले सर्वाधिक २९ रन जोडिन् । यस्तै, सरिता मगर १८ रनको योगदान दिइन् । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । 

यससँगै थाइल्याण्ड प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ । लगातार दुई खेलमा जित हासिल गरेको थाइल्याण्डको चार अंक छ । नेपाल भने दुई अंकका साथ चौथो स्थानमा छ । तीन खेलमा जित हासिल गरेको युएई ६ अंकका साथ शीर्ष स्थानमा छ । 

यसअघि थाइल्याण्डले गत महिना भएको महिला टि–२० स्म्यास प्रतियोगितामा पनि नेपाललाई ९ विकेटले पराजित गरेको थियो । 

प्रतियोगिता राउण्ड रोबिनको आधारमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेता आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।