एकै गाउँका १२ जना बेपत्ता

एकै गाउँका १२ जना बेपत्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ३०, २०७६

सुर्खेत । तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । 

जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा नभएको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिनुभयो । 

ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ । उहाँले भन्नुभयो, ‘सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेको तर गएदेखि आजसम्म सम्पर्कमा छैनन् १२ जनाकै अवस्था अज्ञात रहेको छ  ।’ 

उहाँका अनुसार बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका छन् ।

बेपत्ता भएका सबैको तत्काल उद्धार गर्न स्थानीयले स्थानीय प्रशासन तथा सरकारलाई अनुरोध गरेका छन् । 

सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले बेपत्ता भएकाको उद्धारको लागि गृहमन्त्रालयमा पत्र पठाइएको जानकारी दिनुभयो ।

फूलबारी पाटनमा हिँडेर जान सकिने अवस्था छैन । हेलिकप्टरको विकल्प नरहेको त्यहाँका स्थानीयले जानकारी गराएका छन् । 

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हेलिकप्टरका लागि गृहमन्त्रालयसँग आग्रह गरिएको बताउनुभयो ।