ह्याचरी उद्योग सङ्घले मासु प्रशोधन र बिक्री केन्द्र सञ्चालन गर्दै

ह्याचरी उद्योग सङ्घले मासु प्रशोधन र बिक्री केन्द्र सञ्चालन गर्दै

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर ३०, २०७६

चितवन । कुखुराको मासु र यसका परिकारको बिक्री केन्द्रबाट गरिने भएको छ । 

बिचौलियाको प्रभाव घटाउन र खपत बढाउन पहिलो पटक सहकारीमार्फत केन्द्रबाट विक्री वितरण गर्न लागिएको हो ।

 ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ज्ञानबहादुर बिसुरालको संयोजकत्वमा पहिलो चरणमा चितवनमा मासु प्रशोधन र बिक्री केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो । सङ्घले सात सदस्यीय समिति गठन गरी काम अगाडि बढाइएको छ ।

सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार ह्याचरीका सञ्चालक, कृषक, कुखुरा व्यवसायीलगायत सदस्य रहेको सहकारी स्थापना गरी सोही सहकारीमार्फत केन्द्र स्थापना गर्न लागिएको हो । जिल्लामा १० कट्ठा जग्गा खरीद वा भाडामा लिएर मासु प्रसोधन केन्द्र स्थापना गरिने छ । सोही स्थानमा ठूलो चिस्यान केन्द्र तयार गरिने छ ।

यससँगै भरतपुर र रत्ननगर क्षेत्रमा तयारी मासु र सोहीबाट बन्ने परिकारको बिक्री केन्द्र सञ्चालन गर्न लागिएको पनि पोख्रेलले जानकारी दिनुभयो । ‘यसको प्रभाव हेरेर देशैभर सहकारीमार्फत बिक्री केन्द्र स्थापना गरिने छ ।’ उहाँले भन्नुभयो ।

सहकारीमार्फत खोलिने केन्द्रबाट न्यूनतम नाफा राखेर सस्तो र गुणस्तरीय मासु एवं परिकार उपभोक्तालाई दिने जनाइएको छ ।
हाल कृषकले जिउँदो कुखुराको मूल्य कम पाएको भए पनि उपभोक्ताले खरीद गर्दा महँगो मूल्य तिर्न बाध्य हुनुपरेको छ । ह्याचरी उद्योगी, ब्रोइलर पाल्ने कृषक र उपभोक्ता सधैँ मर्कामा परेको एवं व्यवसाय धराशायी हुँदै गएपछि आफ्नै प्रशोधन र बिक्री केन्द्र खोल्न ह्याचरी उद्योगी र कृषक अघि बढेका हुन् ।
चल्लाको लागत मूल्य पाउन नसके पछि देशैभरका ह्याचरी उद्योगले आइतबारबाट दश दिनसम्म चल्ला उत्पादन बन्द गरेका छन् । हाल चल्लाको बजार मूल्य रु ३० रहेको र लागत मूल्य रु ५५ पर्ने व्यवसायी बताउँछन् ।