बाँकेमा आवश्यकताभन्दा बढी पानी कारण अन्नबालीमा क्षति !

बाँकेमा आवश्यकताभन्दा बढी पानी कारण अन्नबालीमा क्षति !

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर ३०, २०७६

बाँके । गएको दुई दिन अघिको हिउँदे झरीले बाँकेका किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुगेको छ । 

आवश्यकताभन्दा बढी झरीका कारण किसानले लगाएको अन्नबालीमा क्षति पुगेको हो ।

गत शुक्रबार बिहानैदेखि पानी पर्दा किसान खुशी भए पनि साँझसम्म परेको पानी ले अन्नबाली मा क्षती पुगे पछि भने निकै चिन्तित भएका थिए । ‘एकाबिहानैदेखि राति ९/१० बजेसम्म अविरल परेको हिउँदे झरीले खेत जलमग्न भयो र त्यहाँ लगाइएका अन्नबाली डुबानमा पर्‍यो’, बाँके जानकी गाउँपालिका–३ इन्द्रपुरका किसान रामफेरन मौर्य भन्नुहुन्छ ।

झरीले बाँकेमा सबैभन्दा बढी मसुरो, चना र केराउ बालीमा क्षति पुगेको छ भने नालाको छेउछाउ र गहिरो खेतमा लगाएको अन्नबालीमा पनि उत्तिकै क्षति पुगेको  छ । गहिरो खेतमा अहिलेसम्म पानी जमेको छ । उक्त पानी सुकन दुई÷तीन दिन लाग्ने कृषि प्राविधिकको भनाइ छ । पानीसँगै असिनासमेत परेकाले बढी क्षति भएको खजुरा–२ सीतापुरका अगुवा किसान लालबहादुर खत्री ले बताउनु भयो ।

किसानको खेतबारीसम्म पुगेर क्षतिको विवरण सङ्कलन गर्न कृषि ज्ञान केन्द्र बाँकेका प्राविधिकहरु त्यहाँ पुगेका छन् । प्रारम्भिक तथ्याङ्कअनुसार, बाँकेमा २५ प्रतिशत क्षेत्रफलमा पानीले क्षति पुर्‍याएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार, गहुँ, मसुरो चना, केराउ बालीमा १५ प्रतिशत क्षति पुगेको छ भने आलु र टमाटरमा १० प्रतिशत क्षति पुगेको छ ।

प्रत्येक वर्ष हिउँदे झरीले किसानको अन्नबालीमा क्षति पुर्‍याउँने गर्दछ । किसानको सुरक्षाका लागि सरकारले कृषि बीमामा ७५ प्रति अनुदान दिने व्यवस्था पनि गरेको छ, तर यहाँका अधिकांश किसानले बीमा नगरेको प्रमुख ढकाल बताउनुहुन्छ ।