हिमपातका कारण परीक्षा रोकियो

हिमपातका कारण परीक्षा रोकियो

लोकसंवाद संवाददाता  |  शिक्षा  |  मंसिर ३०, २०७६

दार्चुला । अत्यधिक हिमपातका कारण अपि हिमाल गाउँपालिका भित्रका विद्यालयमा सञ्चालन भएको अर्धवार्षिक परीक्षा रोकिएको छ । शुक्रबार र शनिबार आएको हिमपातका कारण आइतबारदेखि शुरु भएको परीक्षा रोकिएको हो ।

दार्चुलामका गाउँपालिकाभरीका २३ विद्यालयमध्ये आधा दर्जन विद्यालयको परीक्षा रोकिएको हो । 
गाउँपालिकाभरी एकै समयमा परीक्षा सञ्चालन गर्ने भनिएकोमा हिमपातका कारण आधा विद्यालयले परीक्षा सञ्चालन गर्न नसकेको गाउँ शिक्षा संयोजक करवीरसिंह बोहराले बताउनुभयो ।

उक्त गाउँपालिका–२ को सिद्धनाथ आधारभूत विद्यालय दैभात, वडा नम्बर ३ को हिमालय आधारभूत विद्यालय पाथा, महादेव आधारभूत विद्यालय काटै, आधारभूत विद्यालय घाजिरलगायतका विद्यालयको परीक्षा रोकिएको छ । परीक्षा रोकएिका विद्यालयहरुमा हिउँ कम भएपछि मात्र परीक्षा सञ्चालन गर्ने तयारी छ ।

सिद्धनाथ आधारभूत विद्यालय दैभातका प्रधानाध्यापक भरतसिह धामीले घरबाट बाहिर निस्कनै नसक्ने गरी हिउँ परेपछि परीक्षा रोकिएको बताउनु भएको छ । गाई वस्तुलाई पानी खुवाउन तथा चराउन समेत समस्या भएको छ । चिसोले वृद्धवृद्धा र केटाकेटीलाई झनै समस्या भएको अपि हिमाल गाउँपालिकाका नायब सुब्बा लक्ष्मणसिंह धामीले बताउनुभयो । आगो तापेर बस्नुबाहेकको विकल्प नभएको धामीको भनाइ छ ।

यस्तै दुहु गाउँपालिकाका पीपलचौरी, बास्पाली, सौतोली, कम्दा, हिकिला, सुत्खोला, धारी क्षेत्रमा धेरै हिमपात हुँदा स्कुले बालबालिकालाई विद्यालय जान अप्ठ्यारो भएको स्थानीयले बताएका छन् ।