हिमपातले बन्द भएको बाटो खोल्दै नेपाली सेना

हिमपातले बन्द भएको बाटो खोल्दै नेपाली सेना

लोकसंवाद संवाददाता  |  समाज  |  पुष १, २०७६

डोटी । हिमपातका कारण अवरुद्ध बाटो खोल्न नेपाली सेना लागिपरेको छ । 
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडमा हिमपातका कारण बाटो अवरुद्ध भएको थियो । 

खप्तड राष्ट्रिय निकुञ्ज जाने बाटो हिउँले पुरिएपछि त्यहाँ रहेको नेपाली सेनाको गुरु गोरख गुल्मका सैनिकले बाटो खोल्न सुरु गरेका गुल्मका उपसेनानी तीर्थबहादुर खत्रीले जानकारी दनु भयो ।

नेपाली सेनाका अनुसार खप्तड क्षेत्रमा अहिले पनि कम्तीमा चार फिट हिउँ अझै कायमै रहेका कारण बन्द भएका पर्यटकीय बाटा खोल्न समस्या भइरहेको छ । हिमपातका कारण खप्तडमा रहेका पवित्र तीर्थस्थल त्रिवेणी, सहर्षलिङ्ग र घोडादाउने पाटनको बाटो बन्द भएका छन् । 

नाटेश्वरी, खप्तडबाबा आश्रमसम्म जाने बाटो भने खोलिएको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरले जनाएको छ । हिमपातका कारण बन्द भएपछि त्यहाँ निकुञ्जमा जाने पर्यटक तथा नेपाली सेनालाई गस्ती गर्नसमेत समस्या भएको बताइएको छ ।

हिमपातपछि खप्तडको तापमान रातिको समयमा माइनस आठ डिग्री सेल्सियस रहने गरेको गुरु गोरख गुल्मले जनाएको छ । खप्तडको सहर्षलिङ्गमा रहेको नेपाल टेलिकमको टावरले काम नगरेका कारण सञ्चार सम्पर्कमा समस्या भएको स्थानीय दीपकबहादुर खड्काले जानकारी दिनुभयो । यस्तै, हिमपातका करणबाट अवरुद्ध भएको जयपृथ्वी राजमार्ग अन्तर्गत विथ्थडचिर–खोड्पे सडकखण्ड संग्राम शार्दूल गुल्म, पानकोट व्यारेक, बझाङ्गअन्तर्गत बागथला पोष्टबाट खटिएका टोलीले खुलाएको छ।