फेरिँदै छ बडघर प्रणाली

फेरिँदै छ बडघर प्रणाली
तस्बिर स्रोत : हमार पहुरा डट कम ।

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ९, २०७५

कैलाली । जिल्लाका थारू समुदायमा पुर्खादेखि चल्दै आएको बडघर प्रणालीमा सुधार हुन थालेको छ । अचेल बडघरलाई कार्यसमितिमा परिवर्तन गर्न थालेका छन् । थारुबहुल जिल्लाहरू दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायमा समुदाय परिचालनका लागि हरेक गाउँमा एक जना बडघर, चिराकी, चौकीदार, गुरुवा र केशौका राख्ने परम्परा रहिआएको छ । गाउँको न्याय छिन्ने अद्र्धन्यायिक अधिकार पाएको बडघरलाई सघाउन गाउँको सूचनादाताकै रूपमा चिराकी, धार्मिक तथा रोगव्याध लागे झारफुक गर्ने गुरुवा र गुरुवाको सहयोगका लागि केशौकाको व्यवस्था गरिएको हुन्छ । 

‘एक्लैले निर्णय दिँदा गाह्रो भयो, कहिलेकाहीँ दबाब पनि आउन थाल्यो, त्यसैले बहुपदीय प्रणालीमा गएका हौँ,’ टीकापुर नगरपालिका–६, लक्षिनापुरका नयाँ बडघर रामकृष्ण चौधरीले भन्नुभयो, ‘हिसाब किताब पारदर्शी बनाउन कोषाध्यक्ष र लेखापढीका लागि सचिवको व्यवस्था गरेका छौँ ।’ 
थारू समुदायमा सामूहिक कार्य गर्न, नयाँ नियम लागू गर्दा वा सल्लाह गर्न आम भेला बोलाउनै पर्छ । स–सानो कामका लागि पनि सयौ जनाको भेला गर्दा पाइने दुःख घटाउन पनि हरेक टोललाई समेटेर ११ सदस्यीय बडघर कार्य समिति चयन गरिएको र त्यसले निर्णय गरी लागू गर्ने बडघर रामकृष्णको भनाइ छ । 

एक सय २५ घरधुरी भएको लक्षिनापुरमा रहेको बडघर यस वर्ष पहिलो पटक कार्यसमिति प्रणालीमा गएको हो । लक्षिनापुरमा धार्मिक विविधता भएकाले गुरुवालाई भने प्रणालीबाट हटाइएको छ । 
कतिपय गाउँमा थारु अगुवाहरु बडघर बन्न मानिरहेका छैनन् । २०७२ साल भदौमा भएको टीकापुर घटनाका बेला गाउँलेलाई कार्यक्रममा सहभागी गराउन उर्दी गरेको भन्दै स्थानीय प्रशासनबाट बडघरहरुले तनाव झेल्नुपरेको थियो । 

जानकी गाउँपालिका–४ कञ्चनपुरमा बडघर कार्यसमिति गठन भएको छ । टोलटोलमा अगुवा छानेर, गाउँका सबै मिली सल्लाहले काम गर्न सजिलो होस् भनेर २४ को कार्यसमिति र पाँच सल्लाहकार चयन गरिएको बडघर सीताराम कठरियाले बताउनुभयो । 

थारू गाउँमा चिराकी, गुरुवा, केशौकाको पारिश्रमिकका लागि तिहाइ (ज्यालाबापत हरेक घरबाट दिने धान) उठाउने चलन छ । यस्तै कुलापानी कर र विभिन्न जरिवाना वापतको पैसा पनि उठ्छ । पुरानो चलनमा सबै जिम्मेवारी बडघरकै हुने र वर्षभरिको हिसाब पनि सम्झना नहुँदा विवाद हुने गरेको छ । अघिल्ला वर्ष बडघर एक्लैले हिसाब राम्ररी नराखेकाले विवाद भएको र गतवर्ष कार्यसमिति गठन भएकाले प्रणालीमा सुधार आएको जानकी गाउँपालिका, खर्गौलीका सन्तलाल चौधरी बताउनुहुन्छ । पहिले बडघरले समाजसेवाका रुपमा काम गर्दै आए पनि अचेल वार्षिकरुपमा पारिश्रमिकसमेत लिन थालेका छन् । 
थारू नागरिक समाज कैलालीका संयोजक दीलबहादुर चौधरी एकल बडघर हुँदा एकलौटी निर्णय हुने खतरा बढी हुने र कार्यसमितिमार्फत् जाँदा प्रणाली व्यवस्थित भइरहेको बताउनुहुन्छ । ंसंस्कृति रुपान्तरण भइरहेको छ,’ चौधरीले भन्नुभयो, ‘तुलनात्मक रुपमा राम्रो छ । धनगढी उपमहानगरको जाई गाउँका बडघरलाई वार्षिक २९ हजार रूपैयाँ खर्च दिने निर्णय पनि भएको छ ।’ 

जोशीपुर गाउँपालिका बडघर कार्यसमितिका अध्यक्ष जगतराम चौधरीले जनप्रतिनिधि आइसकेपछि न्यायिक समिति गठन भएर विवाद समितिमा जाने र केही विवाद मेलमिलाप केन्द्रमा जाने भएकाले काम घटेको बताउनुभयो । बडघरलाई ठाउँअनुसार भलमन्सा, महटवा, ककन्डार, महत्तौं र चौधरी पनि भन्ने चलन रहेको खबर राससमा एकिन्द्रप्रसाद तिमिल्सेनाले लेख्नुभएको छ ।