नेता कस्तोः मीठो भाषण गर्ने कि जनस्तरमा भिजेर काम गर्ने ?

नेता कस्तोः मीठो भाषण गर्ने कि जनस्तरमा भिजेर काम गर्ने ?

लोकसंवाद संवाददाता  |  दृष्टिकोण  |  पुष २, २०७६

के हाम्रो देशमा असल नेताको अभाव खड्किएकै हो त ? धेरैलाई लाग्न सक्छ- हो । केही थोरैले मात्र विमति जनाउन सक्लान् तर अधिकांशको जवाफ हो नै भन्ने आउँछ ।

नेता गतिलो नभएकै कारण देशको यो दुर्गति भयो भन्ने गफ चिया पसलदेखि घरघरमा हुने गर्छ । प्राकृतिक हिसाबले हाम्रो देश हीरा नै हो तर के गर्नु गलत नेताको हातमा परेपछि देशलाई असफल बनाए । नेता भ्रष्ट भएकै कारण देशको यो गति भयो भनेर नेतालाई नसराप्ने नेपाली होलान् ? देशलाई चलाउने असल नेता भएनन् भन्ने गुनासो यत्रतत्र भइरहँदा नयाँ राजनेता खोज्ने अभिप्रायले द लिडर नामक रियालिटी शोको अवधारणा ल्याइएको छ । नेपालको परिवेशमा यो अवधारणा नितान्त फरक र नौलो देखिन्छ किनभने यस्ता कार्यक्रम नेपालमा त गरिएकै छैनन् ।

छिमेकी देशमा समेत यस्तो कार्यक्रमको रियालिटी शो गरिएको पाइएको छैन । सायद त्यहाँ कुशल राजनेता भएर कार्यक्रमका आयोजकले यस्ता कार्याक्रमको आवश्यकता महसुस गरेनन् ।

जे होस्, राजनेता उत्पादन गर्ने अवधारणाबाट संचालित यो कार्यक्रमले लथालिंग भएको राजनीति सम्हाल्ने राजनेता उत्पादन गर्न सक्ला ?  के यसबाट उत्पादित नेताले हाम्रो देशको राजनीति सपार्न सक्ला ? प्रश्न जताततै उब्जिएको छ । 

कार्यक्रमको अवधारणा नितान्त नौलो छ, यसमा दुई मत छैन । राजनीतिमा चाख हुनेहरूका लागि कार्यक्रम राम्रो पनि लाग्न सक्ला । फेरि कार्यक्रम राम्रो हुँदैमा अथवा भनौँँ, यस कार्यक्रमबाट छानिँदैमा छानिएका राजनेताले जनताको मन जित्न सक्ला  ? नयाँ व्यक्तिले केही गर्छ कि भन्ने आशा पनि जनतामा प्रशस्त देखिन्छ ।

द लिडर कार्यक्रममा जज हुने भनिएका साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई राम्ररी थाहा छ, राजनेता हुन रहर गर्नु एउटा कुरा, साँच्चीकै राजनेता हुनु अर्को कुरा । मिश्रमाथि पनि धेरै जनताले विश्वास गरेका थिए । नयाँ ढंगले पार्टी चलाउन नसकेका कारण उनीमाथिको भरोसा पनि क्रमश: टुट्दै गएको छ र 'जुुन जोगी आए पनि कानै चिरेको' भन्ने  उक्ति चरितार्थ भएको छ । 

रियालिटी शो भन्नेवित्तिकै आममानिसको प्रत्यक्ष सहभागिता हुन्छ । त्यसैले पनि कार्यक्रममा भाग लिन आउनेहरू छानिँदै आउने भएका हुनाले प्रतिभा भएका व्यक्ति नै छनोटमा पर्छन् । यसमा शंका गर्नुपर्ने कुनै कारण छैन । तर, फेरि पनि प्रश्न उब्जाउँछ, रियालिटी शोमा प्रथम, द्वितीय हुने यो देशका सक्षम राजनेता बन्न सक्लान् ?

अहिले हाम्रो देशमा सक्षम, इमान्दार र दूरदृष्टि भएको नेताको आवश्यकता छ । भ्रष्ट नेता भएका कारण देशको विकास भन्दा आफ्नै विकासमा नेताहरू तल्लीन रहे । राजनेता हुनु भनेको विल्कुल जनताको सेवा गर्ने हो  । तर, विडम्बना, हाम्रो देशमा राजनीति निकै नै राम्रो फस्टाएको व्यापार बनेको छ । साधारणतया मानिसहरू ६० वर्ष भएपछि युवा उमेरको जस्तो काम गर्न नसक्ने हुन्छन् तर हाम्रा देशका नेताहरू मिर्गौला डायलाइसिस गर्दै गरेको अवस्थामा पनि प्रधानमन्त्री पद छाड्न तयार हुँँदैनन् ।

नेता त यति सजिलो पेसा बनेको छ, म यो पार्टीको भनेर थर्काएपछि काम पनि छिटोछिटो भइहाल्ने । म यो संगठनबाट भनेपछि चन्दा पनि तुरुन्त उठाउन सकिने । अझ फलानो नेताको मान्छे भनेपछि त जुुनसुकै क्षेत्रमा हैकम राख्न सकिने भएपछि सर्वसाधारण पनि नेताकै पुच्छर बनेर पछाडि पछाडि हिँड्न लालायित हुने नै भए । 

प्रजातन्त्र पुुुुनर्स्थापनापश्चात् यो देशमा कुनै पनि व्यक्ति र पार्टीले लामो शासन गर्न पाएनन् । प्रजातन्त्र आउनु अगाडि राजा वीरेन्द्रले १८ वर्ष, २०२८ देखि २०४६ सम्म शासन गरे । लामो शासन गर्ने राजाको रूपमा उनी दरिन्छन् ।  

पहिलो निर्वाचित प्रधानमन्त्री बीपीपछि देशमा थुप्रै नेताहरूको जन्म भइसकेको अवस्था छ । थुप्रै राजनीतिक व्यवस्थाहरू परिवर्तन भइसकेका छन् । तर, देशमा भएका नेताले इमान्दारीलाई बेवास्ता गरिदिँँदा आफूले बोलेका कुराहरूसमेत पूरा नगर्दा राजनीति यस्तो घीनलाग्दो क्षेत्र बन्यो, नेताजति सबै भ्रष्ट, नेताजति सबै लुटेर खाने, नेता भनेका अरू क्षेत्रमा काम नपाएर नेता बनेका, नेताजति सबै गुण्डागर्दी गर्नेलगायतका आवरणले नेतालाई छोपेको पाइन्छ ।

हुन पनि हामीलाई इमान्दार नेता भेट्न मुस्किल पर्छ । कोही बच्चाले म नेता बन्छु भन्यो भने धेरै अभिभावकको अनुहार खुम्चिन्छ र अभिभावकले भन्न थाल्छन्, 'फटाइँ गर्न सक्दैनस् बाबै ! कसरी हुन्छस् नेता ? फटाइँ गर्ने, झूूट बोल्ने, उस्तै परे लड्न सक्ने, भिड्न सक्ने व्यक्ति हुनुपर्छ भन्ने परिचय बनाएको छ अहिलेको हाम्रो देशको राजनिति र राजनेताले । 

कथामा उल्लेख भएअनुसार लावण्य देशमा राजा खोज्ने प्रचलन थियो । हात्तीले जसलाई माला लगाइदिन्थ्यो, उसैलाई राजा बनाउने प्रचलन थियो । पूर्वराजा ज्ञानेन्द्रले पनि प्रधानमन्त्रीको दरखास्त आह्वान गरे । राजनेता छनोटका लागि नौलोनौलो प्रयोग नभएको होइन । अहिले ठूला नेताले नेता छान्ने चलन छ । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपालको कोटको खल्तीमा छ- कसलाई नेता बनाउने भन्ने कुरा ।

पार्टीमा वर्षौ लागेर इमान्दार र निष्ठावान् भईकन पार्टीको काममा लागेका व्यक्ति न नेता कहलाउन सकेका छन्, न त पद पड्काउन नै सफल भएका छन् ।

राजनेतामा  हुनुपर्ने गुण भनेको  पहिलो इमान्दारी नै हो । हाम्रो नेताको इमान्दारी कति छ भन्ने कुरा हामी सबैलाई राम्रोसँग थाहा छ । जनताको दु:खमा साथ दिने, जहिले जनताको सेवा गर्ने, सेवा भाव भएको,  कर्तव्यनिष्ठ, दूर दृष्टि भएको र म मुलुकलाई यसरी अगाडि बढाउँछु भन्ने भिजन भएको पक्कै हुनुपर्छ । त्यसपछि त्यागी र लोभ नभएको व्यक्ति पनि हुनुपर्छ । गुण्डागर्दी गर्ने र अरू क्षेत्रमा असफल भएका व्यक्ति राजनेता बन्न सक्दैनन् र सफल पनि बन्न सक्दैनन् । राजनेताको सोचाइ साधारण जनताले सोच्न सक्नेभन्दा फरक हुनुपर्छ ।

बोलेर, मीठो भाषण गरेर र भीडलाई उत्तेजित पार्ने भाषण गरेर राजनेता हुन सक्दैन । अहिलेसम्मको अभ्यास हेर्दा हाम्रो देशमा भीडले राजनेता उत्पादन गरेको छ । जसले भीडलाई उत्तेजित पार्न सक्छ, उही नै हाम्रो देशको नेता बन्ने गरेको छ ।

काम गर्न सक्ने कुरा मात्र जनतासँग बोल्नुपर्छ भन्ने चेतना हाम्रा नेतासँग छैन । बोल्न पाएका बेला हाम्रा नेताहरू जे पनि बोल्छन्, गर्न सक्ने पनि बोल्छन्, गर्न नसक्ने कुरा पनि बोल्छन् । भएका कुरा पनि बोल्छन् नभएका कुरा पनि बोल्छन् । बोलीमा विश्वसनीयता गुमाइसकेका छन् । केही कुरा पूरा गरिएन भने नेताको जस्तो बोली अर्थात् नेता जस्तो रहेछ, बोलीमा विश्वास छैन भनेर व्यंग्यसमेत गरिन्छ ।

त्यसैले नेताको खोजी हुनु पक्कै नराम्रो कुरा होइन तर हामीलाई बोल्ने नेता चाहिएको हो कि जनस्तरमा भिजेर काम गर्ने नेता चाहिएको हो ? जनताको सुखदु:ख बाँड्न सकिने नेता चाहिएको हो ? द लिडर भन्ने रियालिटी शोले पनि मीठो भाषण गर्न सक्ने नेता नै जन्माउला भनेर शंका गर्न सकिने ठाउँ छन् ।  

भनिन्छ, ज्ञान नै शक्ति हो ।  धेरै ज्ञान हुने मानिस राम्रो बोल्न सक्छन् ।  म मुलुकको विकास यसरी गर्छु, उसरी गर्छु भनेर नयाँनयाँ कन्सेप्ट प्रस्तुत गर्न सक्छ । टेबुलमा तयार पारिएको भिजन र जनतासँग भिजेर काम गर्नु भनेको विल्कुल फरक हो । कार्यक्रममा राम्रो बोलेको आधारमा अर्थात् राम्रो प्रस्तुति दिएको आधारमा मात्रै राजनेता छानिने प्रक्रिया छ भने अरू रियालिटी  शोले  जस्तै गायक, मोडेल, डान्सर उत्पादन गरेजस्तै यो रियालिटी शोले सेलिब्रेटी राजनेता उत्पादन गर्ला । दुई-चार दिन नाम चर्चाको शिखरमा रहला अनि कुनै पार्टीले तानेर सदस्य बनाउला तर देशलाई चाहिएको नेता भने जन्मन सक्दैन । यो कुरा पक्का हो ।