महिलाका नाममा जग्गा लिने बढ्दै

महिलाका नाममा जग्गा लिने बढ्दै

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ९, २०७५

काठमाडौं । मनमैँजु मालपोत कार्यालयमा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढेको छ । महिलाको नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हुँदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको मनमैँजु मालपोत कार्यालयले जनाएको छ । 

कार्यालयका लेखा शाखाका नायबसुब्बा शेरप्रसाद शर्माका अनुसार पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा मात्र नभई दलितको नाममा पनि जग्गा पास गर्नेको सङ्ख्या वृद्धि भएको छ । अहिले दलितका नाममा जग्गा पास गर्दा लाग्ने राजश्वमा २५ प्रतिशत छुट हुने कानुनी प्रावधान छ । 

आर्थिक वर्ष २०७४/७५ मा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या तीन हजार ९४७, दलितका नाममा जग्गापास गर्नेको सङ्ख्या ११ र वृद्धवृद्धाको नाममा जग्गा पास गर्ने सात थियो । कार्यालयमा जग्गा नामसारी गरी प्राप्त भएबापत महिलाले तीन करोड १६ लाख ७७३ रूपैयाँ राजश्व छुट पाएका छन् । त्यस्तै दलितका नाममा जग्गा पास गरेबापत ६१ हजार ५५४ रूपैयाँ राजश्व छुट पाएको लेखा अधिकृत विजयप्रकाश गिरीले बताउनुभयो । 

आर्थिक वर्ष २०७४/७५ को हालसम्म महिलाको नाममा जग्गापास गर्नेको सङ्ख्या एक हजार ७८५ कार्यालयको तथ्यांकमा उल्लेख छ । यसबापत महिलाले तीन हजार ९४७ रूपैयाँ राजश्व छुट पाएका छन् । त्यस्तै कार्यालयमा आव २०७५/७६ मा अपाङ्गको नाममा जग्गा लिनेको सङ्ख्या छ पुगेको छ । छुटवापतको रकम ३५ हजार १५४ रूपैयाँ रहेको कार्यालयले जनाएको खबर राससमा छ ।