स्वास्थ्य शिविर लिएर काठमाडौँ मेडिकल कलेज महोत्तरीको औरही नैनीगौरी पुग्दै

स्वास्थ्य शिविर लिएर काठमाडौँ मेडिकल कलेज  महोत्तरीको औरही नैनीगौरी पुग्दै

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  पुष ३, २०७६

काठमाडौँ  ।काठमाडौँ स्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल, पी.एन. पन्त फाउन्डेसन नेपाल तथा  गैरसरकारी संस्था आसमानको संयुक्त आयोजनामा महोत्तरी जिल्लाको औरहि नैनीगौरी गाउँमा २०७६ पौष ४ र ५ गते २ दिनसम्म  निःशुल्क डेण्टल एवं साधारण स्वास्थ्य परीक्षणको शिविर हुने  भएको छ । 

यस वर्षको निःशुल्क स्वास्थ्य शिविर सो कलेजकी कार्यकारी प्रमुख तथा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा. चन्दा कार्कीको नेतृत्वमा  हुन लागेको  समेत आयोजकले जानकारी  दिएका छन् । 

यस स्वास्थ्य शिविरमा काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत १२ जना विशेषज्ञ चिकित्सकहरू सहित २० जना चिकित्सकहरू तथा वरिष्ठ नर्सहरूको टोली सहभागी हुने  समेत अस्पतालले जानकारी दिएको छ । 

कम्तीमा ५०० जनाले  सेवा लिने लक्ष्य राखिएको  शिविरमा स्त्री रोग सम्बन्धी सेवा, मुख तथा दन्त रोग सम्बन्धी सेवा (बिग्रेको दाँत निकाल्ने समेत), नाक कान घाँटी रोग परीक्षण सेवा, साधारण मेडिकल चेक अफ सेवा सहित साधारण मुटु रोग परीक्षण तथा आधारभूत रगत परीक्षण (प्याथोलोजी सेवा) तथा ई.सी.जी सेवा समेत उपलब्ध हुनेछ ।

उक्त शिविरमा आवश्यक औषधीहरू पनि वितरण गरिनुका साथै अस्पतालमै उपचार गर्नुपर्ने पहिचान भएका बिरामीहरू इच्छुक भएमा उनीहरूलाई काठमाडौँ मेडिकल कलेजमा ल्याइ निःशुल्क उपचार सेवा कार्यक्रम अन्तर्गत कलेजको सिनामंगल स्थित शिक्षण अस्पतालमा उपचार गरिने पनि अस्पतालले जानकारी गराएको छ । 

काठमाडौँ मेडिकल कलेजले प्रत्येक वर्ष यस्तै  शिविर आयोजन गर्दै आइरहेको समेत कलेजले जानकारी   दिएको छ  ।