लोकसंवाद टिप्पणीः नेकपा नेताहरू बारम्बार चीनमा किन ?

लोकसंवाद टिप्पणीः नेकपा नेताहरू बारम्बार चीनमा किन ?

लोकसंवाद टिप्पणी  |  समाचार  |  फाल्गुन ९, २०७५

पछिल्लो समय नेपालको उच्च तहको राजनीतिक नेतृत्व चीनतर्फ आकर्षित भएको छ । खासगरी नेकपाका तर्फबाट बनेका मन्त्री, पार्टी नेता तथा त्यस निकटका बुद्धिजीवीहरूले निरन्तर चीनको भ्रमण गरिरहेका छन् । यसका पछाडि नेपालको राजनीतिमा चिनियाँ प्रभाव बढ्नु मुख्य कारण हो । केही वर्ष पहिलेसम्म नेपालको राजनीतिमा ‘किङ मेकर’को भूमिकामा भारत रहे पनि अहिले त्यो भूमिका चीनले लिन थालेको अनुमान गर्न थालिएको छ । 

नेपालको राजनीतिक दलका नेताहरू चीन भ्रमणमा केन्द्रित हुनुको कारण हो– चीन आर्थिक शक्तिपीठ हुनु । अहिले नेपालको ‘राजनीतिक पावर’ चीनतर्फ सिफ्ट भएको छ । त्यसको प्रभाव राजनीतिक दलका नेताहरूमा देखिन थालेको छ । पहिले सत्तामा पुग्ने भर्‍याङ दक्षिणमा रहेकोमा अहिले त्यो भर्‍याङ उत्तरतर्फ सिफ्ट भएको हो कि भन्ने एकपछि अर्को भ्रमणले पुष्टि गरिरहेको छ । 

नेपालको राजनीतिक दलका नेताहरू चीन भ्रमणमा केन्द्रित हुनुको कारण हो– चीन आर्थिक शक्तिपीठ हुनु । अहिले नेपालको ‘राजनीतिक पावर’ चीनतर्फ सिफ्ट भएको छ । त्यसको प्रभाव राजनीतिक दलका नेताहरूमा देखिन थालेको छ । पहिले सत्तामा पुग्ने भर्‍याङ दक्षिणमा रहेकोमा अहिले त्यो भर्‍याङ उत्तरतर्फ सिफ्ट भएको हो कि भन्ने एकपछि अर्को भ्रमणले पुष्टि गरिरहेको छ ।

पछिल्लो समय नेपालमा कम्युनिस्ट सरकार गठन हुनु र नेपालका कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचमा बढी सम्पर्क हुुन थालेपछि नेपालमा चिनियाँ प्रभाव बढ्न थालेको अनुमान गरिएकाे छ । 

दुई दिनअघि मात्रै चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा १० जनाको टोली चीन प्रस्थान गरेको छ । टोलीमा नेकपाका केन्द्रीय कमिटीका नेता हितबहादुर तामाङ, खगराज भट्ट, खेममान खड्का, एकबहादुर राना, सीता सुन्दास तथा प्रदेश तथा जिल्ला तहका नेता उर्मिला थेवे, लीलादेवी ढुंगेल, पुष्करराज जोशी र सोचनप्रसाद यादव छन् ।

निमन्त्रणापत्रमा आदिवासी जनजातिका विषयमा आफ्ना अनुभव आदानप्रदान र दुई देशबीचको मैत्री सम्बन्धलाई अझ गाढा बनाउन डाकिएको उल्लेख छ । निमन्त्रणापत्रमै स्थायी कमिटी सदस्यको नेतृत्वमा टोली पठाउन आग्रह गरिएको टोली संयोजक पाण्डेले बताएका छन् । चीन सरकारले भने उनीहरूलाई त्यसमा सहभागी गराउनुभन्दा पनि आफ्नो प्रभावलाई बलियो बनाउन भ्रमण गराउने गरेको छ । उनीहरू यही फागुन १६ गते स्वदेश फर्कदैछन् । 

गत भदौ २२ गते सभामुख कृष्णबहादुर महरासहितको १० सदस्यीय प्रतिनिधिमण्डलले चीन स्वशासित तिब्बतको भ्रमण गरेको थियो । टोली भदौ २७ गते काठमाडौं फर्केको थियो । 

गत असार ५ गते प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डलका सदस्य तथा केन्द्रीय स्तरका नेताहरूसहित चीन भ्रमण गरेका थिए । भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, मन्त्रीहरू वर्षमान पुन, रघुवीर महासेठलगायत सांसद् तथा उच्च सरकारी अधिकारीहरू सहभागी थिए । दुई ठूला पार्टी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकाबीचमा एकता भइरहँदा जेठ पहिलो साता नेकपाका नेता एवं सचिवालय सदस्य झलनाथ खनाल चीन भ्रमणमै थिए । आफू चीनमा रहेका बेला आफ्नो घटुवा हुनेगरी जिम्मेवारी तोकिएको भन्दै खनाल अहिले पनि असन्तुष्ट   छन् । 

पार्टी एकीकरणलगत्तै नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चीन भ्रमणमा गएका थिए । नेता नेपाल चीनको हुवेइ प्रान्तमा थ्री गर्जेज विश्वविद्यालयले आयोजना गर्ने कार्यक्रममा सहभागी भए । नेता नेपालले चीनको भ्रमण गर्नुपहिले नेकपाकै अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमण गरेका थिए । दाहालले चीन भ्रमण गरिरहेकै बेला उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका प्रवक्ता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री लालबाबु पण्डित, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा नेकपाका केन्द्रीयस्तरका नेता तथा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, शेखर कोइरालासहितका नेता चीन भ्रमणमा थिए । यसरी एक वर्षमै नेकपाका चार दर्जन नेताले चीन भ्रमण गरिसकेका छन् । नेकपाको तुलनामा कांग्रेसका नेता तथा कार्यकर्ताहरूले भने खासै चीन भ्रमण गरेको पाइँदैन ।