‘यु ट्युब’ को बुद्धिमत्तापूर्ण उपयोगको सवाल

‘यु ट्युब’ को बुद्धिमत्तापूर्ण उपयोगको सवाल

यमबहादुर दुरा  |  दृष्टिकोण  |  पुष ४, २०७६

‘टाइम’ म्यागजिनले हरेक वर्ष दुनियाँका चर्चित, शक्तिशाली र प्रभावशाली व्यक्तिमध्येबाट एकजनालाई वर्ष व्यक्ति (पर्सन अफ द यिअर) घोषण गर्छ । त्यस म्यागजिनले सन् २००६ मा अचम्मलाग्दो किसिमले वर्ष व्यक्ति घोषण गर्‍यो । उसले ‘तपाईँ’ (कुनै पनि उच्च प्रोफाइल नभएको सामान्य व्यक्तिसमेत) लाई वर्ष व्यक्तिको रूपमा घोषणा गर्‍यो ।

सोसल मिडियाको आगमनसँगै हरेक व्यक्ति शक्तिशाली र प्रभावशाली बनिरहेको छ भन्ने आधारमा ‘टाइम’ म्यागजिनले  सामान्य नागरिकलाई पनि वर्ष व्यक्ति घोषणा गरेको हुुनुपर्छ ।  माइस्पेस, फेसबुक ‘यु ट्युब’ जस्ता सोसल मिडियाले ‘बेबी स्टेप’ लिन थालेको त्यस समयमा ‘टाइम’ म्यागजिनले सामान्य नागरिकलाई वर्ष व्यक्तिको दर्जा दिनु कताकता नसुहाउने काम भएको हो कि जस्तो लाग्थ्यो । 

‘टाइम’ म्यागजिनको त्यो घोषणा एक किसिमले असामान्य घटना थियो । तत्कालीन समयमा असामान्य जस्तो लाग्ने त्यो घटना अहिले आएर धेरै अर्थपूर्ण हुन गएको छ । सोसल मिडियाले हरेक व्यक्तिलाई प्रकाशक वा प्रसारक बन्ने अवसर दिएको छ, जुन कुरा विगतमा फगत सपनामात्र थियो । अहिले त्यो सपना विपनामा परिणत भएको छ ।

यसै सन्दर्भमा सोसल मिडियाको एउटा महत्वपूर्ण प्याटफर्म ‘यु ट्युब’ को कुरा गरौँ । आजभन्दा लगभग १५ वर्षअघि सन् २००५ मा यसको जन्म भएको हो । अनलाइन भुक्तानी प्रणालीसम्बन्धी अमेरिकी कम्पनी ‘पेपल’ का तत्कालीन कर्मचारी चाड हर्ले, स्टिभ चेन र जावेद करिमले ‘यु ट्युब’ शुरु गरेका हुन् । भिडियो सेयरिङको भरपर्दो प्याटफर्मको रूपमा ‘यु ट्युब’ को मुख्यालय अमेरिकाको क्यालिफोर्नियास्थित सान ब्रुनो शहरमा रहेको छ ।  

सार्वजनिक अभिलेखमा रहेको आँकडा अनुसार अहिले ‘यु ट्युब’ मा प्रतिमिनेट तीन सय घण्टाको भिडियो अपलोड हुन्छन् । हरेक दिन ३० मिलियन व्यक्तिले ‘यु ट्युब’ हेर्छन् । हरेक दिन पाँच बिलियन भिडियो हेरिन्छन्, जसमा आधाभन्दा बढी भिडियो मोबाइल सेटबाट हेरिन्छन् ।

अहिले ‘यु ट्युब’ लाई नचिन्ने र नजान्ने व्यक्ति शायदै होलान् । वेबसाइटको स्तर निर्धारण गर्ने साइट ‘एलेक्सा’ ले ‘यु ट्युब’ लाई बढी भिजिटर भएको दोस्रो वेबसाइटको रूपमा रेटिङ गरेको छ । अहिले यो प्याटफर्म सबै पेशा र व्यावसायका व्यक्तिका लागि प्यारो थलो बनेको छ । ज्ञान प्राप्त गर्ने, ज्ञान बाँड्ने तथा समय बिताउने सबैका लागि गजबको प्याटफर्म बनेको छ, ‘यु ट्युब’ । अनि सिक्न चाहने र सिकाउन चाहने दुवैका लागि उपयोगी थलो हो । सार्वजनिक अभिलेखमा रहेको आँकडा अनुसार अहिले ‘यु ट्युब’ मा प्रतिमिनेट तीन सय घण्टाको भिडियो अपलोड हुन्छन् । हरेक दिन ३० मिलियन व्यक्तिले ‘यु ट्युब’ हेर्छन् । हरेक दिन पाँच बिलियन भिडियो हेरिन्छन्, जसमा आधाभन्दा बढी भिडियो मोबाइल सेटबाट हेरिन्छन् ।

विगतका दुर्लभ दृश्यदेखि वर्तमानको ताजा भिडियोसम्म हेर्ने पाइने प्याटफर्म पनि बनेको छ, ‘यु ट्युब’ । भान्छेलाई आवश्यक पाककलादेखि विश्वविद्यालयका प्राध्यापकलाई आवश्यक ज्ञानको भण्डार पनि ‘यु ट्युब’ नै ले उपलब्ध गराएको छ । नयाँ प्रतिभाले प्रतिभा प्रदर्शन गर्ने र हराएका प्रतिभाले पुनःजीवन पाउने अवसर पनि ‘यु ट्युब’ नै दिएको छ । क्लासिकदेखि अल्ट्रमोर्डन गीतको अनौठो दोभान पनि ‘यु ट्युब’ नै बनेको छ । ‘यु ट्युब’ को बहुपक्षीय गुणले ‘हर मर्ज की दबा’ भन्ने पुरानो हिन्दी कहाबतको राम्रैसँग सम्झना गराएको छ । 

अर्कोतिर, एउटा टेलिभिजन च्यानलमा हुने सबै गुण ‘यु ट्युब’ मा छ । यसमा समाचार, ‘टक सो’, ‘म्युजिक भिडियो’ वृत्तचित्र पाककलालगायतका सबै किसिमका सामग्री पाइन्छन् । यसमा टेलिभिजनमा नभएको अर्को महत्वपूर्ण गुण पनि छ । त्यो हो, ‘रियल टाइम’ मा प्रसारण हेर्नुपर्ने बाध्यताको अन्त्य । ‘यु ट्युब’ का सामग्री भविष्य हेर्ने गरी साँचेर राख्न सकिन्छ । 

यस्तो मीठो अवसर टेलिभिजनले आफ्ना दर्शकलाई दिन सकेको छैन । अर्को कुरा, टेलिभिजन निश्चित मुठ्ठीभर व्यक्तिको हातमा छ भने ‘यु ट्युब’ एक हिसाबले सर्वहाराको हातमा छ । जिमेल अकाउण्ट हुने जोकोहीले पनि‘यु ट्युब’ च्यानल खोल्न सक्छ । अब टेलिभिजनले पाउँदै आएको विज्ञापन पनि ‘यु ट्युब’ तिरै मोडिने क्रम शुरु भइसकेको छ ।
आफूलाई प्रतिस्पर्धीसँगको दौडमा सामेल गराउनका लागि टेलिभिजन च्यानलले ‘यु ट्युब’ कै आश्रय लिनुपरेको छ । अहिले टेलिभिजन च्यानलहरू धमाधम ‘यु ट्युब’ मा जान थालेका छन् । अब, टेलिभिजनको चर्को प्रतिस्पर्धी अर्को कोही छ भनेआपूmले आश्रय लिएको त्यही ‘यु ट्युब’ नै हो भन्न थालिएको छ । 

जसरी डिजिटल प्रविधिको उपस्थितिले अखबारले भोगिरहेको पीडादायी नियति भोग्नुपर्ने पालो अब टेलिभिजनको आएको छ । त्यसमा पनि ‘यु ट्युब’ र फेसबुकले कुनै पनि ‘इभेन्ट’ को प्रत्यक्ष प्रसारण (लाइभकाष्टिङ) को अवसरलाई सहज तुल्याएपछि टेलिभिजन थप सङ्कटमा पर्न थालेको छ । 

टेलिभिजन उद्योगलाई सङ्कटमा पारे पनि ‘यु ट्युब’ ले सर्वसाधारणलाई धेरै दृष्टिले लाभ नै पुर्‍याएको छ । रैथाने कला र संस्कृतिबारे भिडियो अभिलेखीकरण गर्न ‘यु ट्युब’ राम्रो संग्रहालय भएको छ । सांस्कृतिक पक्षको अध्ययन–अनुसन्धान गर्नेहरूका लागि पनि ‘यु ट्युब’ एउटा गतिलो थलो बनेको छ ।

 विकृति र विसङ्गतिको पाटोबाट हेर्ने हो भने पनि ‘यु ट्युब’ को वृत्तान्त अकथनीय छ । नकारात्मक शिराबाट हेर्ने हो भने ‘यु ट्युब’ एक किसिमको ‘ब्याक स्पट’ नै हो । यु ट्युब भिडियोसँग सम्बन्धित कतिपय मामिला अदालतमा विचाराधीन छन् ।

 यसमा छाडा र अश्लील भिडियोको कुनै कमी छैन । घृणा पैmलाउने अभिव्यक्तिको पनि कुनै अभाव छैन । यसमा अपराधिक सोच र मनोवृत्ति पृष्ठपोषण गर्ने खालका सामग्रीको पनि कुनै दुःख छैन ।

नेपालीबाट पनि पर्याप्त मात्रामा छाडा र अश्लील भिडियो ‘यु ट्युब’ मा अपलोड भइरहेको देखिन्छ । मानिसलाई भ्रममा पार्न भ्रामक र गलत सूचना प्रवाह गर्ने काम पनि नेपाली यु ट्युबरबाट भइरहेका छन् । हालसालै उठेको कालापानीको सीमा विवादमा नेपाललाई सघाउन चिनियाँ सेना लिपुलेक आइपुगेको झुटो खबर ‘यु ट्युब’ मा आए ।

आपतकालीन समयमा के कस्ता तयारी गर्ने भन्नेबारे गरिएको ‘रिहर्ससल’ लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विमान दुर्घटना भएकाले उद्दार कार्य भइरहेको छ भनेर कतिपय यु ट्युबरले प्रचार गरी सर्वसाधारणलाई भ्रममा पार्ने काम गरे । यी त यु ट्युबरले गरेका दुष्कर्मको सामान्य दृष्टान्तमात्र हुन् । ‘यु ट्युब’ मा आकर्षक थमनेल, क्याप्सन, शीर्षक राखेर दुष्प्रचार गरी सर्वसाधारणलाई उल्लू बनाउने काम व्यापकस्तरमा भइरहेको छ ।

यस्ता विकृतिसँग लड्न डिजिटल साक्षरता आवश्यक छ । इन्टरनेटसँग सम्बन्धित कानुनी ज्ञान पनि आवश्यक भइसकेको छ । दुष्प्रचार गरेर स्वार्थको झोली भर्न पल्केका जो–कोही कानुनी दृष्टिले मुक्त छैनन् ।

नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६ को धारा २० ले जातीय घृणा, हिंसा आदिलाई प्रश्रय दिने दुष्प्रचारलाई प्रतिबन्ध लगाएको छ । पत्रकार आचार संहिता, २०७३ (पहिलो संशोधन, २०७६) ले पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने काम अन्तर्गत दफा ५ (१) मा विभिन्न जात–जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने, जातीय भेदभाव गर्ने प्रकृतिका समाचार प्रकाशन तथा प्रकाशन गर्न नहुने उल्लेख गरेको छ । 

‘यु ट्युब’ एउटा माध्यम हो । यो आफैंमा राम्रो वा नराम्रो होइन । यसलाई ज्ञानकुञ्ज बनाउने कि विकृतिको महाकुण्ड बनाउने ? यो हरेक सचेत नागरिकले आफै‌सँग सोध्नुपर्ने प्रश्न हो ।