बहिराेपन उन्मूलन अभियन्ता डा. मिलन महर्जनः ‘केही दिन्छु भन्न पनि गाह्रो रहेछ’

बहिराेपन उन्मूलन  अभियन्ता डा. मिलन महर्जनः ‘केही दिन्छु भन्न पनि गाह्रो रहेछ’

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  पुष ११, २०७६

उहाँ अर्थात् डा. मिलन महर्जनलाई जीवनमा कहिल्यै केही कुराको अभाव महसुस भएन । ज्ञान जानेदेखि कानको सर्जनको स्थायी जागिर हुन्जेल आर्थिक, सामाजिक र पारिवारिक रूपमा कुनै अभावको महसुस भएन । स्वदेशमा त सम्पन्न परिवारका कारण अभाव कुन चरीको नाम हो, थाहा भएन ।

अस्ट्रेलियाको सेन्ट मिनसेन्ट विश्वविद्यालयमा फेलोसिपमा  जाँदा पनि दुःख के हो र अभाव के हो ? भन्ने कहिल्यै महसुस भएन डा. महर्जनलाई । पाटनको सम्पन्न नेवार परिवारमा जन्मिएर सुविधासम्पन विद्यालयमा पढ्नुभएकी डा. महर्जनलाई स्थायी जागिरे जीवन त्यागेर ‘कसैलाई केही दिन पाए हुन्थ्यो' भन्ने लाग्छ । सायद, कुनै पनि अभाव र दुःख नभएकाले त्यो भूत सवार भएको हो कि ?

बुबाआमा, श्रीमानलगायतका परिवारका अन्य सदस्य, साथीभाइ र कार्यालयका अन्य साथीहरूको मात्र होइन, आफू कार्यरत काठमाडौं मेडिकल कलेजको तत्कालीन ईएनटी विभाग प्रमुख डा. तोरण केसीले एक वर्ष बिदा बसेर काम गर्न आग्रह नै गर्नुभएको थियो । ‘बाहिर त्यति सजिलो छैन काम गर्न’ भने भन्दा पनि आफ्नो ‘सपना’ भन्दै राजीनामा गरेर डा. महर्जन सडकमा निस्कनुभएछ । 

उहाँको यो कार्यलाई घरपरिवार तथा साथीभाइहरूले ‘पागलपन’को संज्ञासमेत  दिएछन् । निश्चित समय अफिस गयो, ड्युटी सकेर घर फर्कियो  । त्यो कार्य कति सजिलो थियो । सजिलो बाटो छोडी अप्ठ्यारो बाटो रोज्न कसैले डा. महर्जनलाई बाध्य गरिरहेको थिएन । थियो त डा. महर्जनको मनमा रहेको एक खालको हुटहुटी र केही गरौँ भन्ने भावना । डा. महर्जनको भनाइ छ, ‘प्राइमरी इयर केयरमा थेसिस गर्दा जे निष्कर्ष निकालकी थिएँ, त्यसैले ५ देखि १५ वर्षका बालबालिका, जुन बेलामा अधिकांशको कान पाक्छ र मानिसमा बहिरोपन हुने हुँदा सोही समूहलाई लक्षित गर्दै अभियान चलाउने निधो गरेँ ।’

यसरी लक्षित समूह र गर्ने कार्यको त निर्धारण गर्नुभएछ तर कसरी गर्ने र के गर्ने ? उहाँसँग न अनुभव, न त स्रोत । बिलखबन्दमा पर्नुभएछ । 

त्यस समयमा डा. महर्जनसँग रहेछ एक खालको जबर्जस्ती ‘कसैलाई केही त दिन्छु’ भन्ने चट्टानी अडान मात्र । त्यसैले कहाँबाट सुरु गर्ने ? कसरी गर्ने ? भन्ने कुराले एकदमै नराम्रोसँग सताएछ । जागिरबाट राजीनामा गरेको फुर्सदिलो समयमा साथीभाइ र घरपरिवारसँग सल्लाह गर्नुभएछ । एउटा गैरसरकारी संस्था दर्ता गर्ने र सोही संस्थामार्फत् केही गर्ने निधोमा डा. महर्जन पुग्नुभएछ । त्यही सेरोफेरोमा ‘इयर केयर नेपाल’ नामक संस्था दर्ता प्रक्रियामा सरिक हुनुभएछ । 

पहिलो गाँसमा नै ढुंगा

जब संस्था दर्ताका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर पुग्नुभएछ, तब उहाँलाई पहिलो गाँसमा ढुंगा भनेजस्तो भएछ । ‘कसैलाई केही दिन्छु भन्न पनि गाह्रो रहेछ’, डा. महर्जनले निष्कर्ष निकाल्नुभएछ । ‘केही पाउन गाह्रो हुन्छ’ भन्ने मात्र थाहा पाउनुभएकी उहाँलाई जिल्ला प्रशासन कार्यालयका मानिसले दिएको दुःखले उहाँले सहज निष्कर्ष निकाल्नुभएछ ‘हाम्रो देश त्यसै गरिब भएको होइन रहेनछ ।’  

जिल्ला प्रशासन कार्यालयमा ‘एनजीओ’ दर्ताका लागि पनि ‘दलाल’मार्फत् जानुपर्ने रहेछ भन्ने कुरा पहिलो पटक जानकारी प्राप्त गर्नुभएछ । आफू स्थायी जागिर छाडेर ‘केही गर्ने’ लक्ष्यका संस्था दर्ता गर्न गएकीले अर्को मान्छेको आवश्यकता नै महसुस गर्नुभएनछ, जो डा. महर्जनका लागि निकै महँगो साबित हुन पुगेछ ।

संस्था दर्ताका लागि पनि अतिरिक्त रकम खुवाउनुपर्ने रहेछ तर आफूले तोकिएको राजस्वबाहेक नदिने भनेपछि ‘एक कर्मचारी’ले पहिलो पटक डा. महर्जनको शैक्षिक योग्यतामाथिसमेत प्रश्न उठाउन भ्याएछन् । सायद ती कर्मचारीको नजरमा शैक्षिक योग्यता सही थियो भने स्थायी जागिर छाडेर समाज सेवामा लाग्ने कुरा उनको कल्पनाभन्दा बाहिरको कुरा थियो । 

डा. महर्जनले सहज अनुमान लगाउनुभएछ, ती कर्मचारीले आफूसँग अतिरिक्त आम्दानी गर्नका लागि शैक्षिक योग्यतामाथि सहज प्रश्न उठाएका थिए, जुन कुरा डा. महर्जनलाई नराम्रोसँग बिझाएको विषय हो । जसोतसो दुुई महिनाभन्दा लामो निरन्तर पछि लागेर प्रयत्न गरेपछि भने संस्था दर्ता गर्न सफल हुनुभएछ ।

डा. महर्जनलाई दुई महिनासम्म जिल्ला प्रशासन कार्यालयको धाइले के ज्ञान दिएछ भने नेपालको कर्मचारीतन्त्रले सर्वसाधारणलाई कसरी दुःख दिने रहेछन् र ‘बिचौलिया’को कस्तो पहुँच रहेछ थाहा भएछ । त्यसपछि पुनः निष्कर्ष निकाल्नुभएछ ‘नेपाल किन गरिब भएछ’ भन्ने राम्रो भेउ पाउने मौका मिलेछ । 

यसले गर्दा ‘स्यालको सिकार गर्नका लागि बाघको खजाना बोक्नु’ भन्ने नेपाली भनाइले मानसिक रूपमा आफूले गर्न लागेको काम त्यति सहज र सजिलो छैन भन्ने निष्कर्ष निकाल्नुभएछ र थप चुनौतीका साथ साथीभाइलाई सहयोगको याचना गर्न थाल्नुभएछ  । साथीभाइहरू सहयोग गर्न तयार भएछन् । अब कुन ठाउँमा र कसरी जाने र कसरी अनुमति लिने भन्ने अर्को चुनौती थपिएछ । डा. महर्जनको समूहले नेपालका सामुदायिक विद्यालयमा यो अभियान चलाउने भन्ने अप्ठ्यारो बाटो हिँड्नु आफैँमा चुनौतीपूर्ण थियो । 

दोस्रो गाँसमा पनि ढुंगा

साथीभाइ र कार्यसमितिको सल्लाहमा ‘सामुदायिक विद्यालय’ छनोट गर्ने निधो त गर्नुभएछ । सामुदायिक विद्यालय नै किन ? भन्ने  विषयमा डा. महर्जनको समूहले एक खालको मापदण्ड नै तय गर्नुभएछ । 

सामुदायिक विद्यालयमा पढ्ने बालबालिका कानको उपचार गर्न नसक्ने अवस्थाका र विपन्न परिवार बालबालिका पढ्ने हुँदा पनि यो उपयुक्त स्थल हो, इयर केयर नेपालले निष्कर्ष निकालेछ ।  डा. महर्जन भन्नुहुन्छ, 'निजी विद्यालयमा जाने भनेको भए रातो कार्पेट नै बिछ्याउछन भन्ने हामीलाई थाहा थियो । त्यसै कारण सामुदायिक विद्यालयमा जाने भन्ने कुरा नै हामीले अप्ठ्यारो बाटो रोजेका थियौँ ।'

कसरी जाने ? कहाँ जाने ? चुनौती आयो । सामुदायिक विद्यालयमा जानका लागि जिल्ला जनस्वास्थ्यको सिफारिस र जिल्ला शिक्षा कार्यालयको अनुमति आवश्यक पर्ने जानकारी प्राप्त गर्नुभएछ । अब जिल्ला जनस्वास्थ्य कार्यालयमा सिफारिसको पत्र दिनका लागि लिखित रूपमा अनुरोध गर्नुभएछ ।  ‘दिन मिल्दैन’ भनेको भए अर्को विकल्प र बाटो हुन खोज्ने अवसर हुने थियो  तर जिल्ला जनस्वास्थ्य कार्यालयले मिल्दैन पनि नभन्ने मिल्छ भनेर पत्र पनि  नदिने प्रक्रिया सुरु भयो ।

कर्मचारीले ‘भोलि भोलि’ भनेर जिल्ला शिक्षालाई सिफारिसपत्र दिनलाई पनि करिब तीन महिना समय लगाइदिएछन् । यस्ता कार्यालयहरूले पत्र र सिफरिसहरू गर्दा पनि ‘एनजीओ’सँग कर्मचारीले अतिरिक्त रकम लिने चलन हुँदो रहेछ भन्ने अर्को डा. महर्जनलाई सिकाइ भएछ । 'हामीले रकम नदिएका कारण लामो समयसम्म पत्र नदिएको रहेछ भन्ने हामीले त्यतिखेर निष्कर्ष निकालेका थियौँ', डा. महर्जन भन्नुहुन्छ । 

जिल्ला जनस्वास्थ्यको पत्र जिल्ला शिक्षामा पर्‍याउनु त भयो तर त्यहाँ पनि सोही प्रक्रिया दोहोरिएछ । त्यसबेला भने उहाँलाई आफ्नो विभाग प्रमुखले राजीनामा नदिनू भन्ने कुराको ‘गला' लागेछ । हाकिमले भनेको कुरा सम्झँदै जिल्ला प्रशासन कार्यालय धाउन थाल्नुभएछ । अन्यभन्दा तुलनात्मक कम समयमा जिल्ला शिक्षा कार्यालयले पत्र दिएछ ।

ललितपुरको चापागाउँस्थित किटनी हाइस्कुलको नाममा पत्र बनाइदिएछ । स्कुल जानुपूर्व यदि आफ्नो हाकिमले भनेजस्तो स्थायी जागिरबाट राजीनामा नगरेको भए पुनः जागिरमा फर्कने अवस्थामा पुर्‍याएछन् ।  त्यति साह्रो कर्मचारीतन्त्रले आफूमा रहेको ‘उत्साह’लाई ‘निराशा’मा बदलिदिएछन् । 'तर, साथीभाइ तथा विभाग प्रमुखको आग्रह नमानी हिँडेको हुँदा जतिसुकै ‘निराश’ भए पनि अगाडि बढ्नुको विकल्प थिएन', डा. महर्जन भन्नुहुन्छ । 

तेस्रो गाँसमा भने केही सजता 

जब जिल्ला शिक्षा कार्यालयको पत्र लिएर इयर केयर नेपाल चापागाउँको स्रोत केन्द्र पुग्यो । त्यहाँ स्रोत व्यक्ति हुनुहुँदो रहेछ महेन्द्र विष्ट । उहाँले भने अन्यत्रभन्दा अलिक सहज व्यवहार र सहजीकरण गरिदिनुभएछ, जुन डा. महर्जनको कल्पना र अपेक्षाभन्दा बाहिरको कुरा थियो । 'सोही कारण विष्ट अहिले पनि हाम्रो सम्पर्कमा हुनुहुन्छ', डा. महर्जन सुनाउनुहुन्छ ।

यसरी इयर केयर नेपालको अभियान सुरुवात भएछ । 'पहिलो पटक विद्यालय छिर्न पाएका थियौँ हाम्रो खुसीको सीमा थिएन',  डा. महर्जन भन्नुहुन्छ, 'त्यो समयमा आफ्ना गुरु तथा अस्ट्रेलियन कान विशेषज्ञ प्राध्यापक पल फेगनले ५० जनाको अप्रेसनको खर्च व्यक्तिगत रूपमा दिने प्रतिबद्धता भने प्राप्त भइसकेको थियो ।

'मेरा आफन्त र साथीभाइ, जो ५० को हाराहारीमा हुनुहुन्छ, उहाँहरूलाई एकाएक समान किनेर उपलब्ध गराउनुभयो', डा. महर्जनको भनाइ छ । जो सहयोगी हातहरू यो अभियानका अभियन्ता बनेका डा. महर्जनको निष्कर्ष छ ।

चौथो र महत्त्वपूर्ण 'टर्निङ प्वाइन्ट'

एवं रीतले आर्थिक अभावमा यो अभियान सुस्त तरिकाले अगाडि बढिरहेका बेला डा. महर्जनले एक दिन डा. रवीन्द्र श्रेष्ठ (हाल काठमाडौं मेडिकल कलेज न्यूरो विभाग प्रमुख)सँग सहयोगको याचना गर्नुभएछ । डा. श्रेष्ठले डा. महर्जनलाई ‘रोटरी क्लब’मा आफ्नो अभियानका बारेमा प्रस्तुति राख्नका लागि आग्रह गर्नुभएछ ।

लामो समयसम्म सँगै काम गरेका डा. श्रेष्ठको प्रस्ताव डा. महर्जनलाई उचित लागेछ । उहाँले पनि उक्त अवसरलाई सदुपयोग गरेर आफ्नो अभियानका बारेमा एउटा प्रस्तुति राख्नुभएछ । उक्त कार्यक्रममा रहेका एक अमेरिकाका रोटरियन प्रभावित भएछन् र केही आश्वासनसमेत दिएछन् ।

रोटरी क्लबको ‘ग्लोबल ग्रान्ट’बाट इक्विपमेन्ट र सर्जरीका लागि आवश्यक पर्ने समान उपलब्ध गराउने कामबाट नै यो अभियानको मुख्य टर्निङ प्वाइन्टका रूपमा डा.  महर्जन लिनुहुन्छ । 

अभियानदेखि अभियानसम्म

संस्था दर्ता हुनासाथ एक जना कर्मचारी ५ हजार रुपैयाँ दिएर राखेको इयर केयर नेपाल करिब एक दर्जन विज्ञ र विशेषज्ञलाई रोजगारी दिने ठाउँमा पुगेको अवस्थामा डा. महर्जनले भने यस संस्थामा हालसम्म स्वयंसेवक गरेको बताउनुहुन्छ । डा. महर्जन भन्नुहुन्छ, 'मबाहेक सबैले पारिश्रमिक लिनुहुन्छ तर म बाहिर जाँदा पनि आफ्नै खर्चले जाने गरेकी छु ।'

ललितपुरको चापागाउँस्थित किटनी हाइस्कुलबाट सुरु भएको अभियान देशभरका ५०१ विद्यालयमा पुगिसकेको छ । छ वर्षको अवधिमा करिब ७२ हजार बालबालिकाको कानको परीक्षण डा. महर्जनको अभियानले गरिसेको छ । डा. महर्जनका अनुसार यो अभियान ललितपुर, भक्तपुर, काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, मकवानपुर, हुम्ला, जुम्ला, डोल्पा, मुस्ताङ, सोलु, नवलपरासी र दोलखा जिल्लामा विस्तार भइसकेको छ । 

यस अभियानले सबै विद्यालयमा गएर सबै विद्यार्थीको सर्वप्रथम कान परीक्षण  गर्ने गर्छ । बहिरोपन पहिचान भएका बालबालिकाका अभिभावक र विद्यालयको संयुक्त बैठक गरी उपचारको प्रबन्ध मिलाउने गर्छ । यसका अलावा कनमा देखिने समस्या र प्राथमिक उपचारका बारेमा पनि कक्षा नै सञ्चालन गर्ने गरेको अभियानकी अध्यक्ष डा. मिलन महर्जन बताउनुहुन्छ ।

अभियानले गरेको महत्त्वपूर्ण काम भनेको यो अवधिमा कानको अप्रेसन नै गर्नुपर्ने ठहर गरिएका ७२२ जनाको निःशुल्क रूपमा शल्यक्रिया गरिसकेको छ । विद्यालय विद्यालयमा गएर अप्रेसन नै गरेर बहिरोपन हटाउनुपर्ने भनी पहिचान गरेको यो सङ्ख्या ४०-४१ प्रतिशत मात्र भएको डा. महर्जनको दाबी छ । ५९-६० प्रतिशत बालबालिका बहिरोपनको समस्या पहिचान भएर पनि उपचारमा ल्याउन नसकिएको अवस्था छ ।

यसमा अभिभावक र विद्यालयले बेवास्ता गर्दा ठुलो जनसंख्या बहिरो भएर जीवन जिउन बाध्य हुने अवस्था रहेको डा. महर्जनको भनाइ छ । डा. महर्जनको आग्रह छ, 'हामी कुन विद्यालयमा गयौँ र कुन विद्यालयका कुन विद्यार्थीलाई काठमाडौंसम्म ल्याएर उपचार गरायौँ भन्ने खालको सम्पूर्ण फोटोसहितको विवरण इयर केयर नेपालको वेवसाइट इयरकेयरनेपाल डटओआरजीमा सजिलै हेर्न सकिन्छ ।'   

कानको बिरामीलाई बेहोस नै गरेर अप्रेसन गर्नुपर्ने हुँदा एक जनालाई न्यूनतम ३० देखि ७५ हजार रुपैयाँसम्म उपचार खर्च लाग्ने हुँदा पनि २५ सय दर्ता शुल्क लिएर अप्रेसनको प्रबन्ध मिलाइएको डा. मिलन बताउनुहुन्छ । यस्तो अप्रेसनको व्यवस्था निदान अस्पतालमा हुँदै आएकामा ठाउँ अभावका कारण विगत ४ महिनादेखि स्टार अस्पतालमा अप्रेसनको व्यवस्था मिलाइएको  डा. महर्जनले जानकारी दिनुभयो ।

यतिको स्रोत कसरी व्यवस्था मिलाइरहनुभएको छ त ? भनी राखिएको प्रश्नमा डा. महर्जन भन्नुहुन्छ, 'केही दताहरूबाट सहयोग प्राप्त गरेका छौँ । धेरै साथीभाइहरूको जन्मदिन, विवाह भएको दिनको बजेटसम्म स्वतःस्फूर्त उपलब्ध गराइरहनुभएको छ । 

सन् १९९१ मा त्रिभुवन विश्वविद्यालयको टिचिङ अस्पतालले गरेको एक सर्वेअनुसार कुल जनसंख्याको १६.६ प्रतिशतमा बहिरोपनको समस्या देखापरेको थियो भने ७६ हजार जना ५ देखि १५ वर्ष उमेर समूहका विद्यालयमा आएका बालबालिकाको कान नै परीक्षण गर्दा ११ प्रतिशतमा बहिरोपनको समस्या देखिएको हुँदा शैक्षिक उपलबधिमा पनि ठूलो प्रभाव परिरहेको थियो ।

घर परिवार, पति र साथीभाइकाे सहयोगी हातबाट धानिएकाे  अभियानमा राज्यले तत्काल हातमाहात मिलाएर अगाडि बढनुपर्ने  आवश्यकता डा. महर्जन देख्नुहुन्छ ।  स्थानीय, प्रदेश र केन्द्र सरकारले यस अभियानलाई सहकार्य र सहजीकरण गरेमा मात्र बहिरोपनका विरुद्ध लड्न सकिने डा. महर्जनको विश्वास रहेकाे छ ।