प्रश्न आलोक

प्रश्न आलोक

राजु खप्तडी बस्नेत  |  साहित्य  |  पुष ५, २०७६

केही पाइला हिँड यी प्रश्नसँगै कहीँ त पुगिन्छ
केही आफैँमा खोज यी रहस्यहरू केही त भेटिन्छ
किन आत्तालिन्छ्यौ यी अँध्यारासँग
तिमी बढ्दै जाऊ अनवरत यो राती कहीँ त सकिन्छ ।

अझै छन् व्यासले नलेखेका,अझै छन् अन्तर्ध्यानीले नदेखेका
अझै छन् महाभारतमा कयौँ जवाफ श्री कृष्णले नदिएका
किन बरालिन्छ्यौ ती हिसाबसँग
तिमी बग्दै जाऊ अर्थसँगै यो भावगंगा कहीँ त टुङ्गिन्छ
केही पाइला हिँड ...।

यहाँ उदयचलमा भोर हुन अस्ताचलमा खान्डबहरू जलेका छन्
यहाँ सच्चाइको शिखर आरोहणमा पाण्डवहरू ढलेका छन्
किन अल्मलिन्छ्यौ यी शब्दजालसँग
तिमी हुँदै जाऊ स्वयंभित्रै यी अदृश्यहरू कहीँ त देखिन्छ
केही पाइला हिँड ...।