हरेक क्षण

हरेक क्षण

सौरव कार्की  |  साहित्य  |  पुष ५, २०७६

सागर होइन प्रत्येक पानीको थोपा
तर प्रत्येक थोपामा
अवश्य छ सागर ।
 
यो माटोको हरेक अनाज
संसारको होइन
तर अवश्य संसार छ
प्रत्येक अनाजमा ।
 
तिमीले फेरेको प्रत्येक सास
त्यो सम्पूर्ण आकाश होइन
तर आकाश अवश्य छ
तिम्रो प्रत्येक श्वासभित्र ।
 
एक क्षण कुनै जिन्दगी होइन
तर प्रत्येक क्षणभित्र छ
तिम्रो सम्पूर्ण जिन्दगी ।
 
हरेक क्षणलाई तिमी जोड्न सक्छौ अनन्तसँग
हरेक क्षणमा
तिमी पूरा गर्न सक्छौ जिन्दगीको सार्थकता ।