प्रशान्त उप्रेती | साहित्य | पुष ५, २०७६
दूरीले सम्बन्ध टुट्छ भन्दा रहेछन्
सम्बन्धमा तिक्तता ,खाडल बढ्छ भन्दा रहेछन्
तर
सौर्यमण्डल क्षितिजभन्दा दूर भए पनि
निष्फिक्री ताप दिन छाडेको छ र ?
चन्द्रमाले शीतलता दिन छाडेको छ र ?
ताराहरूले चम्किन छाडेका छन् र ?
कसको कुदृष्टि पर्यो उनमा
हरपुरुष निच, बदनियती देख्छिन् रे उनी अचेल
हुन त असंख्य दगाबाज, नजरसार अडिग देखिन्छन् रे सामुन्ने
लाग्छ, दरगाहमा सुनुवाइ बन्द भएको छ अचेल ।
जीवन संघर्ष, नदारतसँगै बित्दै छ अचेल
मेरो बेखबरको उन्मादमा, मातमा छन् रे उनी अचेल
सखी छटनीमा नै म प्रथम भएछु क्यारे अचेल
यमराजले अन्तिम चाह सोधे भने
उनकै भय-त्राता बन्ने रहर छ अचेल
उनकै नाम लक्ष्याहुति गर्दै छु अचेल ।
के आफ्नो आँखाले देखेको मात्रै दुनियाँ हो ?
के आफ्नो आँखाले देखेको मात्रै सपना हो ?
के आफ्नो अस्तित्वको समाप्तिसँगै संसार नै सकिन्छ र ?
घडीलाई नाडीमा बाँधे पनि समयलाई बाँध्न अनि रोक्न सकिन्छ र ?