घनेन्द्र ओझाका दुई लघुकथा
पुष ५, २०७६

दाग

अचानक देखियो शुभानीको पेटमा फुस्रो दाग । सरुवा रोगको विगविगी बढिरहेका बेला शुभानीको पेटको दाग निकै चर्चाको विषय बन्यो गाउँघरमा । हुनत विगत चार महिनादेखि सुरु भएको रहेछ, बाहिर देखिएको थिएन । दिनदिनै बढ्न थालेपछि कपडाले पनि नछोपिने गरी बाहिर फैलियो ।

त्यसो त शुभानीले निकै लुकाउन खोजी, समाजमा सरुवा रोग लागेकालाई छिछि दूरदूर गर्ने भएकाले होला । ज्यान पातलो भए पनि ज्यानभन्दा निकै ठूला लुगा लगाई, दाग लुकोस् भनेर । अहँ, झन्झन् बढ्न पो थाल्यो ।

समयक्रमसँगै दाग बढ्दै, फैलँदै र छिप्पिँदै गयो । हुन सक्थ्यो, समयमै उपचार गराएको भए निको हुन्थ्यो । उपचार गराउन चाहिन वा जानिन । या त हुन सक्छ, उपचार गराउँदा दागबारे सबैले थाहा पाउँछन् भन्ने डर भयो उसमा । दाग बढिरह्यो ।

दाग सुरु भएको नौ महिना पूरा भएको छ । शुभानी केही दिनदेखि बाहिर निस्केकी छैन । गाउँघरमा हल्ला छ, शुभानी निकै सिकिस्त छे । तर कोही पनि शुभानीको छेउ जान सकेको छैन (चाहेको छैन), कारण, दाग सर्न सक्छ । गाउँमा दाग निकै डरलाग्दो सरुवा रोगका रूपमा भित्रिएको छ ।

मानवीय नाताले(?) गाउँका भद्र भलाद्मी मानिएका प्रधानाध्यापक र गाविस अध्यक्षको अग्रसरतामा शुभानीलाई उपचारार्थ सहर लगियो, अस्पताल । डाक्टर र नर्सको निकै ठूलो मेहेनतले दाग निचोरियो, निकै कष्ट भएको थाहा हुन्थ्यो शुभानीको चिच्याहट सुन्दा ।

‘बिरामी भेट्न सक्नुहुन्छ’, डाक्टरले अनुमति दिएपछि प्रधानाध्यापक र अध्यक्ष बिरामी कक्षमा प्रवेश गरे । शुभानी मुस्कुराई, दुवैलाई सँगै देखेर । दाग शुभानीको पेटबाट झिकिसकिएको थियो ।

शुभानीसँगै राखिएको दाग देखेर झस्किए दुवै भद्र भलाद्मी । दुवैले दागमा एकअर्काको प्रतिबिम्ब देखिरहेका थिए ।

 

विसङ्गत

‘यो देशको इतिहास गलत लेखिएको छ’, प्राध्यापक गफ सुरु गर्छ, ‘जित्नेको मात्र इतिहास लेखिएको छ’, उसको तर्क छ, ‘हारिदिने नभएको भए तिनले जित्थे ?’

राजनीतिक विश्लेषक हाँस्छ ।

...

‘घाटाको व्यापार गरियो’, चिन्ता छ व्यापारीको, ‘नाफाजति कि लुटेरालाई, कि राजनीतिक दललाई’ (के राजनीतिक दल लुटेरा भन्दा कम छन् र ?)

नेता विलखबन्द पर्छ ।

...

‘रोगीको भन्दा रोगको उपचारमा ध्यान दिनुपर्छ’, डाक्टरको भाषण सुरु हुन्छ, ‘रोगको उपचार गरेपछि रोगी ठीक भैहाल्छ ।’

बिरामी मुस्कुराउँछ (बुझ्छ कि बुझ्दैन कुन्नि ?)

...

‘जहाँ नागरिक समाज सशक्त हुन्छ, त्यहाँको शासनपद्धति राम्रो हुन्छ’, नागरिक समाजको अगुवाको तर्क छ, ‘यस्ता देशमा भ्रष्टाचार, अन्याय, अत्याचार हुँदैन ।’

आमजनता मन्त्रमुग्ध बन्छ ।

...

‘ढिलो न्याय दिनु न्याय नदिनु बराबर हो’, न्यायाधीश सुनाउँछ, ‘प्रजातन्त्रमा विधिको शासन हुनुपर्छ ।’

अभियुक्त खित्का छाड्छ ।

...

‘राज्यको चौथो अङ्ग हुनुका नाताले जिम्मेवारीपूर्वक सही र तथ्यपूर्ण खबरहरू आमजनता सामु पु¥याउनु पत्रकारिताको धर्म हो’, पत्रकार पढाउँछ, ‘यसका लागि सूचनाको निर्वाध स्वतन्त्रता जरुरी छ र राज्यले यसको सुनिश्चितता गर्नुपर्छ ।’

सञ्चारमन्त्री टाउको हल्लाउँछ । (श्री ५ ले प्रत्यक्ष शासनका बेला हल्लाएझैँ ।)

...

यी सबै गफ सुनिरहेको चिया पसले श्रीमतीलाई सोध्छ, ‘कुरो बुझ्यौ ?’