कर्मयोग र संन्यासयोगका सूत्रः साधना र अभ्यास कसरी ?

कर्मयोग र संन्यासयोगका सूत्रः  साधना  र अभ्यास कसरी ?

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  पुष ५, २०७६

षष्ठो ऽ ध्यायः

श्री भगवानुवाच –

    अनाश्रितः कर्मफलं कार्यं कर्म करोति यः ।
    स  संन्यासी च योगी च न निरग्निर्न चाक्रियः ।। १ ।।

अन्वय र अर्थ – श्री भगवानुवाच = भगवान् श्रीकृष्णले भन्नु भयो, यः = जुन पुरुषले, कर्मफलं = कर्मफलमा, अनाश्रितः = आश्रय नगरेर, कार्यं = कर्तव्य, कर्म = कर्म, करोति = गर्दछ,  सः = त्यो, संन्यासी =  सन्यासी, च = पनि, योगी = योगी, च = पनि हो । निरग्निः = अग्नि रहित, न = हैन, अक्रियः च = कर्म रहित पनि, न = हैन ।

भावार्थ – भगवान् श्रीकृष्ण भन्नुहुन्छ – जुन पुरुषले कर्मफलको आश्रय नलिएर आफ्नो कर्तव्य कर्म गर्दछ सोही पुरुष संन्यासी पनि हो योगी पनि हो । केवल अग्नि रहित र क्रिया रहित भएर मात्र सन्यासी र योगी हुँदैन ।

विशिष्टार्थ – (भगवान् श्रीकृष्णले पांचौं अध्यायमा कर्मयोग र संन्यासयोगका बारेमा बताएर अन्तिम तीन श्लोकहरूमा सूत्ररूपमा योगका बारेमा जे भन्नु थियो त्यो सबै भनिसक्नु भएको छ, परन्तु  कसरी साधना गर्नु पर्छ, अभ्यास गर्नु पर्छ त्यो सबै त्यहाँ भन्नु भएको छैन । अभ्यासका ती सबै नियमहरू यस अध्यायमा बताउनु भएको छ । त्यसैले यस अध्यायको नाम अभ्यास योग हो । श्रीधर स्वामीले यस अध्यायलाई ध्यान योग पनि भन्नु भएको छ – चित्ते शुद्धेऽपि न ध्यानं विना सन्यासमात्रतः । मुक्तिः स्यादिति षष्ठेऽस्मिन् ध्यान योगो वितन्यते ।।) 

पहिले नै भनि सकिएको छ – अन्तर्मुखी क्रियाको अनुष्ठानमा प्राणचालनको नाम कर्म हो  भने बहिर्मुखीमा प्रारब्धलाई नियन्त्रणमा राखेर शरीर यात्रा निर्वाह गर्नुको नाम कार्य हो । जुन साधकले यो कार्य र कर्मको अनुष्ठान गर्छन्, परन्तु फलको आकांक्षा राख्दैनन् – सर्व कर्मफल वासुदेवमा अर्पण गर्दछन्, आफूमा अलिकति पनि राख्दैनन्, सम्पूर्ण रूपले अनासक्त भएर रहन्छन्, एकाधारमा तिनै साधक सन्यासी र योगी दुबै हुन् । श्रुति–स्मृतियोगशास्त्रमा निरग्नि र अक्रिय भएर सन्यासी र योगी हुने व्यवस्था बताइएको छ । हे अर्जुन ! जब चित्तपथमा तिमी ब्रम्हनाडीको ठीक मध्यभागबाट परम शिव (आज्ञाचक्र) मा कुल कुण्डलिनीको मिलन र मूलाधारमा त्यसलाईपुनस्थापना गर्ने अविरोधी (निरन्तर) क्रियामा मग्न रहन्छौ त्यस अवस्थामा मात्र तिमीलाईकर्मफलले छुन सक्दैन । यसपछि क्रियाको अन्तमा पनि जबसम्म तिमी त्यस नशामा विभोर भएर बाह्यव्यापार सम्पन्न गर्दछौ त्यस अवस्थामा पनि कर्मफलले तिमीलाई स्पर्श गर्न सक्दैन । तिम्रो यो अवस्थालाई नै अनाश्रित कर्मफलको भोग अवस्था भन्दछन् । जुन साधकको अटूटरूपले यो अवस्था रहिरहन्छ, वीचमा भङ्ग हुँदैन त्यसैलाई नै संन्यासी तथा योगी भनिन्छ । परन्तु अग्निहोत्र – सन्ध्यावन्दनादि नित्य क्रिया र पितृश्राद्धादि नैमित्तिक क्रियाबाट निवृत्ति लिएर मात्र योगी तथा संन्यासी बनिदैन । यो जानिराख – योगी संन्यासीले घाम तापेर वस्दा पनि अग्नि स्पर्श दोष लाग्दछ, भने स्वभावतः इन्द्रिय ग्राह्य विषयमा मन दौड्यो भने तिम्रो संन्यास अथवा योग बन्न सक्दैन ।

जुन पुरुषले आत्माद्वारा आत्मालाई नै वशीभूत गरेको छ, उसको आत्मा नै उसको बन्धु हो । किन्तु जसले आत्माले आत्मालाई वशीभूत गरेको छैन, उसको आत्माले शत्रुले जस्तै शत्रुत्वको आचरण गर्दछ ।

    यं संन्यासमिति प्राहुर्योगं तं विद्धि पाण्डव ।
    न ह्यसंन्यस्तसंकल्पो योगी भवति कश्चन ।। २ ।।

अन्वय र अर्थ – पाण्डव = हे पाण्डव ? यं = जुन सर्वकर्म र त्यसको फलको त्याग रूप भावलाई, (ये = श्रुति स्मृतिज्ञाता), सन्यासं = सन्यास, इति = यस्तो, प्राहुः = भन्दछन्, तं = त्यसैलाइर्, योगं = कर्मानुष्ठानरूप योग (निष्काम कर्मयोग), विद्धि = जान, हि = किन कि, असंन्यस्तसंकल्पः = जसले फल विषयक इच्छाहरूलाई त्याग गरेको छैन, कश्चन = कोही पनि, योगी (समाधानवान्) = चित्तविक्षेपले रहित, न भवति = हुँदैन ।

भावार्थ – हे पाण्डव ! श्रुति–स्मृतिमा जसलाई संन्यास भनिएको छ, त्यसैलाई नै योग भनेर जान्नू । किन कि संकल्प परित्याग नगरिकन कुनै पनि मनुष्य योगी हुन सक्दैन ।

विशिष्टार्थ – योग – 'योगश्चित्तवृत्ति निरोधः, योगश्चित्त समाधान' अर्थात् चित्तवृत्तिको निरोध वा चित्तको समाधान अवस्था योग हो । विषय र इन्द्रियहरूकोसंयोगबाट चित्तमा जति प्रकारका भावहरू उत्पन्न हुन्छन् ती प्रत्येकलाई एक एक वृत्ति भन्दछन् । त्यो सबै नै चित्तको विक्षिप्त अवस्था या विषय अवस्था हो । विषय र इन्द्रियहरूको संयोग टुटे पछि चित्तमा अरू कुनै प्रकारको वृत्तिको उदय हुँदैन, समता रहन्छ, त्यसै अवस्थालाई चित्तवृत्तिको निरोध वा चित्तको समाधान अवस्था भन्दछन् । चित्तको समाधान गर्नु छ भने पहिले संकल्प त्याग गर्नु पर्दछ, त्यसरी संकल्प त्यागद्वारा नै विकल्प पनि स्वतः त्याग हुन्छ, यदि भएन भने त्यो पनि हुँदैन । अतः संन्यास अर्थात सर्वनाश वा त्याग नभए योग पनि हुँदैन । पाँचौं अध्यायमा पनि भनिएको छ – योग विना संन्यास हुँदैन । अतएव योग र संन्यास परस्पर सापेक्ष हुन्, एक नभैकन अर्को हुँदैन । श्रुति स्मृतिका मतमा पनि सर्व कर्म तथा कर्मफल त्याग गर्नुको नाम संन्यास हो । त्यसो हुनाले नै परमार्थतः (वस्तुत) योग र संन्यास भन्नु एउटै हो ।

    आरुरुक्षोर्मुनेर्योगं कर्मकारणमुच्यते ।
    योगारूढस्य तस्यैव शमः कारण मुच्यते ।। ३ ।।

अन्वय र अर्थ – योगं = योगमा, आरुरुक्षोः = आरूढ  हुन चाहने,मुनेः = कर्मफल त्यागी पुरुषका लागि, कर्म = कर्तव्य कर्म, कारणं = साधन, उच्यते = कहिन्छ, योगारूढस्य = योगारूढ भैसकेका, तस्य = ती मुनिको, शमः = सम्पूर्ण कर्मबाट निवृत्ति, एवं = नै , कारणं = साधन, उच्यते = कहिन्छ ।

भावार्थ – जो मुनि योगारूढ हुने इच्छा गर्दछन् तिनीहरुका लागि कर्म नै साधन हो, किन्तु जो योगारूढ भैसकेका छन्, तिनीहरूका लागि शम अर्थात् कर्म त्याग नै तिनीहरूको साधन हो ।

विशिष्टार्थ – जुन साधक कर्मफलको वासनालाई त्याग गरेर  निरन्तर ईश्वरमा मन संलीन (आत्मसमर्पण) गर्दछन् तिनै पुरुष मुनि हुन् । जबसम्म यिनीहरू योगमा आरूढ नहुँदै अर्थात् आज्ञाचक्र (कूटस्थ) मा नपुग्दै  माथि माथि उठ्ने इच्छा गर्दछन् तबसम्म एक मात्र कर्म नै अर्थात् प्राणायामद्वारा षट्चक्रमा यथाविधि प्राण विन्यास गर्नु नै तिनीहरूको साधना हो, अर्को साधना छैन । यो नै आरुरुक्षु अवस्थाहो । त्यस प्राणायामद्वारा एक चक्रबाट अर्को चक्रमा उठ्दै उठ्दै आज्ञाचक्रमा उठिसकेपछि, कर्मराज्य अतिक्रमण हुनाले प्राण कर्म स्वतः त्याग हुन्छ, अनि शम आउँछ, अर्थात् अन्तरिन्द्रिय विक्षेपविहीन हुन्छ । यसरी योगारूढ भएर विक्षेप विहीन हुनाले नै ठीक मनमा मन दिनु हुन्छ, अनि  'हिरण्मये परे कोषे विरजन् ब्रम्ह निष्कलम' यो भावना विना अरू कुनै वृत्ति नै रहदैन, तन्मना भइन्छ, यही हो अष्टाङ्गयोगको सप्तमाङ्ग ध्यान योग । यो ध्यानयोग नै सहस्रार क्रिया हो, यसको परिपाक अवस्था नै ज्ञानयोग हो । (क्रियाद्वारा कस्तो अवस्था प्राप्त हुँदा योगारूढ हुन्छ, त्यसलाई अर्को श्लोकमा बताइन्छ ।)

    यदा हि नेन्द्रियार्थेषु न कर्मस्वनुषज्जते ।
    सर्वसंकल्प संन्यासी योगारूढ स्तदोच्यते ।। ४ ।।

अन्वय र अर्थ – यदा = जुन बेला, हि = निश्चय नै, ना = मनुष्य, इन्द्रियार्थेषु = शब्दादिविषयहरूमा, कर्मसु = नित्य, नैमित्तिक, काम्य,निषिद्ध कर्महरूमा पनि, न अनुषज्जते = आसक्त हुँदैन,  तदा = त्यस अवस्थामा, (सः नरः), सर्वसंकल्प  संन्यासी = सम्पूर्ण संकल्पहरूलाई त्याग गर्ने,  योगारूढः = योगारूढ (योगमा प्राप्त भैसकेको) उच्यते = भनिन्छ ।

भावार्थ – जब मनुष्य शब्दादि विषयहरूमा र कर्म समूहमा संसक्त हुँदैन, तबमात्र उसलाई सर्वसंकल्प त्यागी, योगारूढ भनिन्छ ।

विशिष्टार्थ – अर्जुन ! क्रिया गर्दा गर्दा जब तिमीले देख्ने छौ – तिम्रो मन विषयको आकर्षणमा अरू पर्दैन, प्राणक्रियासंग पनि तिम्रो मनको कुनै सम्बन्ध हुँदैन, प्राण स्थिर, धीर भयो, कतै तिर पनि  इच्छाको उदय हुँदैन, अनि तिमीले संझ तिमी योगारूढ भएका छौ । त्यस बेला मनले स्वतः सहस्रार क्रियाको आश्रय लिन्छ, त्यस बाहेक उसको अरू कुनै साधना रहदैन । यसको केही बेर पछि नै ब्राम्ही स्थितिको प्राप्ति हुन्छ । त्यस स्थितिको भोगकालमा नै सर्व संकल्प संन्यासी योगारूढ अवस्था हुन्छ ।

    उद्धरेदात्मनात्मानं नात्मानमवसाधयेत् ।
    आत्मैव ह्यात्मनो बन्धु रात्मैव रिपुरात्मनः ।। ५ ।।

अन्वय र अर्थ – आत्मना = आत्माद्वारा, आत्मानं = आत्मालाई, उद्धरेत् = संसारबाट योगारूढ अवस्थामा पु¥याओस्, आत्मानं = आत्मालाई, न अवसादयेत् = अधोगतिमा न पुर्‍याओस्,  हि = किन कि, आत्मा = आत्मा, एव = नै, आत्मनः = आत्माको, बन्धुः = इष्टमित्र हो, आत्मा एव = आत्मा नै, आत्मनः = आत्माको, रिपुः = शत्रु हो ।

भावार्थ – आत्माद्वारा आत्माको उद्धार गर्नु पर्छ, आत्मालाई अधः पतन हुन दिनु हुँदैन, किन कि आत्मा नै आत्माको बन्धु हो,आत्मा नै आत्माको शत्रुहो ।

विशिष्टार्थ – मूलधारादि पाँच चक्रहरूनै शब्द स्पर्शादि पाँच विषयका लीला क्षेत्र हुन्, संसार यही हो । मन जबसम्म यहां रहन्छ तबसम्म विषयहरूको आकर्षणमा परेर सत् र असत् नाना वृत्तिहरूको अधीन हुन्छ । अतः गुरूपदिष्ट क्रिया अनुष्ठानद्वारा मनलाई उठाएर कूटस्थमा स्थिर राख्नु पर्छ, यसैको नाम आत्माको उद्धार हो । यो उद्धार साधना गर्नाले नै विक्षेप विहीन अनासक्त अवस्था आउँछ र नित्य सुख भोग हुन्छ । उद्धार साधना गर्न नसक्नाले संसारचक्रमा घुम्नु पर्दछ, सुख प्राप्त हुँदैन । अतः भनिएको छ – नात्मानमवसादयेत् अर्थात् आत्मा (मन) लाई  आज्ञाभन्दा तल  आउन दिन  हुँदैन अर्थात् विषय संस्पर्शमा ल्याउनु हुँदैन । आफ्नो  उद्धार आफै‌ले गर्नु पर्छ अरू कसैले गरिदिंदैन । मनलाई मनले  नै वशमा राख्नु पर्छ अर्थात् विचार बुद्धिको सहायताले विषय वासनालाई त्याग गरेर मनलाई अन्तर्मुख गर्नु पर्दछ । मनलाई आज्ञा भेद गराएर योगारूढ गर्न सके आ-आफ्ना बन्धु हुन्छ, नत्र भने आफै आफ्नाे रिपु । आफ्नाे इष्ट अनिष्टको कर्ता आपैm हो, अरू कोही हैन । श्री गुदेवले त बाटो र लक्ष्य मात्र देखाइदिनुहुन्छ, अनुष्ठान र पथ अतिक्रम आफेले गर्नु पर्छ ।

    बन्धुुुु रात्मात्मनस्तस्य येनात्मैवात्मना जितः ।
    अनात्मनस्तु शत्रुत्वे वत्र्तेतात्मैव शत्रुवत् ।। ६ ।।

अन्वय र अर्थ – येन = जुन पुरुषले, आत्मना = आत्माद्वारा, एव = नै, आत्मा = आत्मालाई, जितः = वशमा राखेको छ, आत्मा = आत्मा, तस्य = त्यसको, आत्मनः = आप्mनो, बन्धुः = बन्धु हो, तु = किन्तु, अनात्मनः = जसले आत्मालाई वशमा राखेको छैन, आत्मा = आत्माले, शत्रुवत् = शत्रु जस्तै, एव = नै, शत्रुत्वे = शत्रुभावमा, वर्तेत = व्यवहार गर्दछ ।

भावार्थ – जुन पुरुषले आत्माद्वारा आत्मालाई नै वशीभूत गरेको छ, उसको आत्मा नै उसको बन्धु हो । किन्तु जसले आत्माले आत्मालाई वशीभूत गरेको छैन, उसको आत्माले शत्रुले जस्तै शत्रुत्वको आचरण गर्दछ ।

विशिष्टार्थ – पहिलो श्लोकमा भनिएको छ – आत्मा नै आत्माको बन्धु हो र आत्मानै आत्माको शत्रु हो । कसरी आत्मा आत्माको बन्धु र आत्मा कसरी शत्रुहुन्छ भन्ने कुरा यस श्लोकमा बताइएको छ । जुन पुरुष जितेन्द्रिय छ त्यसको आत्मा बन्धु हो र अजितेन्द्रिय पुरुषको आत्मा शत्रु हो । जुन साधक क्रियायोगको अनुष्ठान फलद्वारा धेरै समयसम्म कूटस्थमा रहिरहेर देह 'म'  हैन 'म' को पनि देह रूप केही छैन  यस्तो दृढ ज्ञान लिएर देहाभिमान शून्य हुन्छन् तिनै साधक जितेन्द्रिय हुन्, जितेन्द्रिय पुरुष नै महापुरुष हुन् । तिनै भाग्यमानीहरू आत्माद्वारा आत्मालाई अर्थात् मनद्वारा मनलाई जितेर आफै आफ्नाे बन्धु बनेका छन् अर्थात् सबै अवस्थामा नै तिनीहरू आत्मामा रहन्छन्, आत्माबाट विच्युत भएर तिनीहरूलाई विच्छेद भोग गर्नु पर्दैन, किन्तु जो अजितेन्द्रिय, देहाभिमानी छन् तिनीहरू अनित्य–असत्यलाई नित्य–सत्य ठानेर मोहित भैरहन्छन् आफ्नाे उद्धार गर्ने साधना गर्न सक्दैनन् । देहाभिमानवश तिनीहरूको स्वभाव यस्तो हुन्छ कि जस्तो शत्रुले इष्टलाई नाश गरेर अनिष्टको साधन गर्दछ त्यस्तै तिनीहरू पनि अज्ञानताले गर्दा मायाको बन्धनमा परेर प्रकृत (वास्तविक) इष्टत्याग गरेर अनिष्ट विषयमा इष्टज्ञान राख्दछन् ।

    जितात्मनः प्रशान्तस्य परमात्मा समाहितः ।
    शीतोष्णसुखदुःखेषु तथा मानापमानयोः ।। ७ ।।

क्रमशः

याे पिन

इच्छा–आकांक्षा,  प्राकृतिक भावकाे त्याग र नित्य सन्यास

चित्तशुद्धिः संन्यास र योग दुवैको एउटै फल

मृत्यु र समाधिमा फरकः देह त्याग हुने र नहुने अज्ञानता

आत्मा सुख: जसले जान्यो, सम्झ्यो त्यो भाषामा व्यक्त गर्न कठीन

ज्ञान बिनाकाे प्राणायामको फल क्षणिकमात्र