नकारात्मक चिन्तनको उपज ‘धामी’, ‘बोक्सी’ र ‘वीरमसान’ !

तरङ्ग र ऊर्जाको संयोग

नकारात्मक चिन्तनको उपज ‘धामी’, ‘बोक्सी’ र ‘वीरमसान’ !

प्रा.डा. विद्यानाथ कोइराला  |  दृष्टिकोण  |  पुष ६, २०७६

हाम्रा पुर्खाले चारवटा शब्द प्रयोग गर्ने गरेका छन्– परा, पश्यन्ति, मध्यमा र बैखरी । बैखरी भनेको हामीले बोल्ने भाषा हो । त्यही बैखरी विस्तारै बाह्रखरीमा परिणत भयो ।

बैखरी र बाह्रखरी भनेको एउटै शब्द हो । बैखरी भनेको शास्त्रीय शब्द हो । बाह्रखरी भनेको लौकिक शब्द हो । पश्यन्ति भनेको हेर्ने हो । देख्ने हो । विशेष शब्द सुन्ने हो । जाग्रत चेतना हुने हो । तुरीय चेतना हुने हो । त्यही चेतनामा बनेका हाम्रा शास्त्रका चिन्तनहरू लेखिएका होइनन्, देखिएका हुन । मध्यमा भनेको कति पश्य पनि गरे कति अनुभूति गरे । तिनले  व्रह्मको शब्द सुने ।

परा भनेको व्रह्मको आत्मिक शब्द हो । त्यो शब्द सुन्नेले व्रह्मसंँग संवाद गर्न सक्छ भनेको हो । शैव मतअनुसार यी चारवटै शब्द शिव र शक्तिको नाचबाट जन्मिए । अर्थात् ती शब्दहरू नाचबाट जन्मिएका नाद (तरङ्गबाट निस्किएका ध्वनि) हुन् ।

शरीरी अर्थमा भन्दा मुखबाट बैखरी शब्द आउँंछ । छातीबाट मध्यमा शब्द आउँछ । नाभीबाट पश्यन्ति शब्द आउँछ । तालुबाट परा शब्द आउँछ । बैखरीबाहेकका शब्दहरू ध्यान गर्नेले सुन्ने शब्द हुन् । बुझ्ने शब्द हुन् । बोल्ने शब्द हुन् । यसलाई विज्ञानको भाषामा बुझ्दा परा भनेको हामीसँग भएको कस्मिक ऊर्जा हो । कस्मिक ऊर्जा भनेर भनेको  व्रह्म ऊर्जा हो । व्रह्माण्डको कुल ऊर्जा हो । त्यही कुल ऊर्जाले निकाल्ने शब्द परा बोली हो ।

त्यही बोलीलाई बोलीचालीको भाषामा परमात्माको बोली भनिएको हो । ‘पर’ भनेको ठूलो ‘आत्मा’ भनेको संगृृृहीत चेतना हो । आत्मा भनेको चाहिँ त्यसैबाट निश्रित ऊर्जाको एउटा भाग हो । तपाईंसँग एउटा भाग छ, मसँग एउटा भाग छ र अर्कोसँग अर्को भाग छ । यसको अर्थ हो, त्यही ऊर्जाबाट हामी बाँचेका छौँँ ।

ऊर्जा के हो र चालक के हो ?

ऊर्जा के हो ? चालक को हो ? यो प्रश्नले हामीलाई हामी आफू भौतिक हौँ कि,आत्मिक हौँँ कि मानसिक हौँ भन्ने प्रश्नमा लैैैजान्छ । वास्तवमा हामी के हौँ ?

पूर्खाको शब्दमा आदिभौतिक हौँ कि ? आदिदैविक हौँँ कि ? अध्यात्मिक हौँँ कि ? उनले भनेको शब्दलाई हेर्‍यौँ भने अध्यात्मिक हौँ भन्दा हामी परासँग टाँसिन्छौँ । आदिभौतिक भन्दा पदार्थसँग टाँसिन्छौँँ । आदिदैविक भन्दा मनसँग टाँसिन्छौँ । उनको भाषामा शरीर भनेको आदिभौतिक हो । स्थूल शरीर हो । कारण, शरीर भनेको आत्मिक शरीर हो । सूक्ष्म शरीर भनेको मानसिक शरीर हो ।  

यसो भन्दा पुर्खाले ‘तीनवटा शरीर एउटै मान्छेसँग हुन्छ’ भने । तीनवटै शरीरको तीनवटा बेग्लैबेग्लै तागत हुन्छ । भौतिकको तागत आत्मिकमा छैन, आत्मिकको तागत भौतिकमा छैन अनि आदिदैविकको तागत भौतिक वा आत्मिकमा छैन । यी तीनवटै शरीरको योगमा परा, पश्यन्ति, मध्यमा र बैखरीमार्फत् संवाद गर्न सकिन्छ । 

भौतिक शरीरले संवाद गर्ने भनेर भनेको बैखरीसँग हो । बैखरी बैखरीको कुराकानी मिल्छ । त्यही बोलीबाट हामी संवाद गर्न सक्छौँ । आत्मिक वा अध्यात्मिक शरीरले कुराकानी गर्ने भनेको परा बोलीसँग हो । व्ररह्म ऊर्जासँग हो । मध्यमा बोली मनसँग कुरा गर्न सक्छ । पश्यन्ति बोली व्रह्म ऊर्जाले बोलेको सुन्न सक्छ । देख्न सक्छ

यसरी हेर्दा ‘धामी’ ज्ञान होस् कि अथवा ‘बोक्सी’ ज्ञान होस्, त्यसको स्रोत चिनिन्छ । त्यो ज्ञान ऊर्जाको तरङगबाट आउँदोरहेछ भन्ने बुझिन्छ । यसले के सावित गर्छ भने, हामी ऊर्जाबाट सञ्चालित मान्छे हौँ । ऊर्जा नै प्रमुुख हो । विज्ञानको भाषामा क्वान्टम फिजिक्सले भनेको ऊर्जामय तरंग हो । यसलाई प्रमाता सिद्धान्त पनि भन्छन् । अर्थात् प्रमाता सिद्धान्तबाट हेर्ने हो भने हामी ऊर्जामय हौँ । ऊर्जा सकिएपछि हामी मर्छौं । ऊर्जा छउन्जेलसम्म बाँच्छौँँ । त्यसैलाई पुर्खाले आत्मा भने । हंस भने । त्यही आत्मा होउन्जेलसम्म हामी बाँच्छौँ  । आत्माले छाडेर गयो भनेको ऊर्जाले छाडेर गयो भनेको हो । 

धामी तथा बोक्सीले त्यही ऊर्जालाई परिचालन गर्न सक्छन् । सकारात्मक ऊर्जा भनेको ‘धामी’ भयो । नकारात्मक ऊर्जा भनेको बोक्सी भयो । त्यही नकारात्मक ऊर्जालाई पनि सकारात्मक बनाउन सक्यो भने वीरमसानको प्रयोग भयो । हाम्रा पुर्खाको भाषामा वीरमसान खेल्ने/खेलाउने भनेको त्यही हो ।

सकारात्मक खेल खेले वीरमसानले खेत खन्छ । पुल बनाउँछ । नकारात्मक खेल खेले बिरामी बनाउँछ । यसको अर्थ हो, शरीरले बुझ्ने एउटा कुराकानी रहेछ, मनले बुझ्ने अर्को कुरा रहेछ । आत्माले बुझ्ने अर्को रहेछ । आत्मा भनेर भन्न मन नलाग्नेले त्यसलाई ‘युनिफाइड फिल्ड अफ कन्ससनेस’ भनेका छन् । त्यो भनेको सबै चेतनाको मुठो हो भनौँँ न । चेतनाको मुठोको नाम आत्मा हो । व्रह्म ऊर्जाको अंश हो । त्यही ऊर्जाको तरेलीसँग जोड्ने हो ।

यसरी ऊर्जा जोडेर हाम्रा पुर्खाले धामीको चिन्तन ल्याए । बोक्सीको चिन्तन ल्याए । वीरमसानको चिन्तन ल्याए । त्यसो गर्दा ऊर्जालाई सकारात्मक ढंगबाट पनि प्रयोग गर्न सकिन्छ भने । नकारात्मक ढंगबाट पनि प्रयोग गर्न सकिन्छ भने । नकारात्मक ऊर्जालाई सकारात्मक बनाउन पनि सकिन्छ  भने ।

ध्यानबाट सकारात्मक ऊर्जा प्राप्त हुन्छ । त्यसैबाट म व्रह्मसँग मिल्न सक्छु, म व्रह्मसँग संवाद गर्न सक्छु, अहिले महादेवसँग कुरा गरेँ अथवा कृष्णसँग कुरा गरेँँ अथवा फलानोसँग कुराकनी गरेँँ भन्ने भनाइ त्यसैको उपज हो ।

त्यो भनेको ऊर्जाको ऊर्जासँगको सम्बन्ध राखेको हो । आफूसँग भएको व्यक्तिगत ऊर्जा व्रह्म ऊर्जासँग मिलाएको हो । त्यही मिलनबाट कुराकानी गर्न सक्ने स्थितिमा पुग्नेवित्तिकै परासँग संवाद गर्ने मान्छे बन्न सक्छन् । 

ऊर्जा सकारात्मक ढंगबाट प्रस्तुत गरेदेखि व्ररह्मज्ञानी बनिन्छ । मोक्ष प्राप्त हुन्छ । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘मलाई जन्मनु छैन, मचाहिँ मोक्ष भइसकेँ’ भनेको त्यही हो । मैले मेरो ऊर्जालाई परा ऊर्जासँग जोडिसकेँ भनेको हो ।  

अब मलाई मेरो शरीरले के गर्छ मतलव हुँदैन भनेको हो । त्यो भनेको गीताको चिन्तनसँग टाँसिएको हो । अर्थात् व्यक्तिको ऊर्जाले परा ऊर्जा भेट्न सक्यो भने त्यसले नकारात्मक कुरा सोच्दै सोच्दोरहेनछ । 

धामीहरूले उपयोग गर्ने भनेको तिनै ऊर्जा हुन् । उनीहरूले बोल्ने शब्दचाहिँ बैखरी हो । बोल्दाखेरि कति बोली मध्यमासँग टाँसिन्छ । कति पश्यन्तिसँग । बैखरीमा टाँसिएको बोली सुनिन्छ । मध्यमासँग टाँसिएको बोली हराउँछ । त्यसैलाई 'भुतभुताए' भन्ने गरिन्छ ।

त्यो भुतभुताएको बोलीचाहिँ उनीहरूले सुनिरहेका हुन्छन् । अहिले विज्ञानकोे चिन्तनले पनि भन्छ, ‘हामीले जु्न बोल्छौँँ, त्यो बोलीचाहिँ व्रह्ममा बस्छ । जगतमा बस्छ । त्यो बसेको कुराकानीलाई फेरि बटुल्न सकिन्छ । समय बित्दै जाँदा त्यही बोली धमिलो हुँदै जान्छ । विस्तारै हराउँदै जान्छ । बोली बस्छ भनियो भने त संवाद पनि हुन सक्छ । त्यही सम्भावनालाई उपयोग गरेर हाम्रा पुर्खाले भनेका हुन्- फलानोले बाण हान्यो वा यस्तोयस्तो किसिमको वीरमसान उठाएर यसरी हान्यो । अथवा फलानो बोक्सी उठाएर यसरी हान्यो ।

अर्थात् बोक्सी विद्या भनेको नकारात्मक ऊर्जा हो । ऊर्जाको दुरूपयोग हो । धामीले चाहिँ सदुपयोग गर्न सकिने सम्भावना देख्छ । 

मान्छे मर्दाखेरि ऊर्जा मर्छ कि मर्दैन ? ऊर्जा मर्छ भन्यो भनेदेखि त्यो चिन्तनले भौतिकवादी सोच आउँछ । ऊर्जा बस्छ भन्यो भने त्यसले अध्यात्मवादी सोच ल्याउँछ । धामी विद्या वा बोक्सी विद्या भनेको ऊर्जा बस्छ भन्ने चिन्तन हो । तन्त्र र मन्त्र शक्ति भनेको ऊर्जामै आधारित शक्ति हो । त्यो ऊर्जा बस्छ भन्नेवित्तिकै त्यसलाई उपयोग पनि गर्न सकिन्छ भनिएको हो । 

मान्छे मरिसक्दा उसको ऊर्जाचाहिँ कति वर्षसम्म बस्छ भन्नेबारेमा अनुसन्धानहरू भएका छन् । त्यो अनुसन्धानले भन्छ, सामान्यतया १२ वर्षसम्म ऊर्जा बसिरहन्छ । मान्छे मरेको एक वर्ष, दुई वर्षसम्म ऊर्जा क्रियाशील हुन्छ । त्यही क्रियाशील ऊर्जालाई दुरूपयोग गरेर मान्छेलाई दु:ख दिन सकिन्छ । मसान उठाउने बोक्सी विद्या त्यही हो । हामीले होइन भनेर भनेको चाहिँ बैखरीमा सोचेकाले हो । आदिभौतिकमा सोचेकाले हो ।  बैखरी मात्र थाहा भएकाले हो ।

हामीले के बुझेका छौँँ भने हाम्रो शरीर भनेको मन हो, हाम्रो शरीर भनेको शरीर हो । यो दुई वटा मात्र बुझेका छौँँ । मन र शरीर दुईवटा बुझिसकेपछि त के भनिन्छ भने मनले पनि गरेको होइन, शरीरले पनि गरेको होइन । मनले चाह्यो भने सकारात्मक र नकारात्मक सोच आउन सक्छचाहिँ भन्न सक्छौँ । मनोविद्हरूको अध्ययन त्यही हो । 

त्यसले के भन्छ भने मैले चोखो मनले तपाईंलाई सम्झिराखेको छु भन्यो भनेदेखि तपाईंको र मेरो ऊर्जाको फ्रिक्वेन्सी पनि मिलिरहेको हुन्छ । त्यो भनेको रेडियोको स्टेशन मिलाएको जस्तो हो । केही पनि नौलो होइन । तपाईंको तरङ्ग र मेरो तरङ्ग मिल्यो भनेदेखि हामी ‘बाडुल्की लाग्यो’ भन्छौँ । देवता खुसी बनाउने भनेको पनि त्यही हो । देवता भनेको ऊर्जा हो । त्यो सकारात्मक ऊर्जासँग हाम्रो ऊर्जा मिलाउन सकियो भने हामी तरङ्गित हुन्छौँ । तरङ्गित हुने भनेको धामी काँप्ने हो । अर्थात् धामी काँप्नु भनेको तरङ्गित हुनु हो । त्यो किन काम्छ भन्नेबारे पिटर्स एण्ड पिटर्सको अध्ययन नै छ । उनीहरूले त्यो अध्ययन नेपालमै बसेर गरे । उनीहरू स्वयंभूमा बसे, गोदावरीमा बसे, बौद्धमा बसे ।  के हुने रहेछ भनेर हेरे ।

उनीहरूले थाहा पाए कि मुटुको चाल र बाजाको चाल दुवै मिलाउन सकियो भने मान्छे काँप्छ । काँप्ने मान्छेले ढ्याङ्ग्रो ठटाएर काँप्छ । त्यो ढ्याङ्ग्रो र मुटुको चाल एकसमान भयो भने तरङ्ग मिल्छ  । त्यो तरङ्ग मिल्नासाथ व्ररह्माण्डमा भएको वा जगतमा भएको ऊर्जाबीच संवाद हुन्छ । तरङ्ग मिल्ने भनेको रेडियो ९० डिग्री यति मेघाहर्जमा आउँछ भनेको जस्तै हो ।  अर्थात् मान्छेको शरीर तरङ्ग हो कि मासुको थुप्रो हो कि मनको थुप्रो हो । लडाइँ यतिमै हो । त्यो तरङ्गमा मान्छे उफ्रिन सक्ने रहेछ । 

त्यसैले धामी काँप्छ कसरी ? जानकारी ल्याउँछ कसरी ? जब तरङ्गमा तरङ्ग मिल्छ भन्नेवित्तिकै त्यो कुरा अनौठो भयो, मन मिल्ने भन्ने कुरा अनौठो भइसक्यो । किनभने धामीले यहाँ बोलेको छ तर के बोलेँ भन्ने उसलाई थाहा छैन । विज्ञानले प्रमाणित के गरेको छ कि प्यारासाइकोलजीबाट तपाईंको मनको कुरा मैले थाहा पाउँछु । मेरो मनको कुरा तपाईंले थाहा पाउनुहुन्छ । एक किसिमको मनोविज्ञानको कुराकानी हुन सक्छ । त्यसैले परामनोविज्ञानमा तरङ्ग जोड्न सकिने स्थितिको सम्भावना हुन्छ । 

ऋषि महर्षिहरूले गरेको अन्तर्ध्ययान त्यही हो । तिनको चिन्तनमा यहाँ बसिरहेको बेला फलानो ठाँउमा यस्तो किसिमका व्यवहारहरू देखियो भन्न सकिन्छ । तरङ्ग मिलायो भनेर भनेको त्यही हो । रेडियो नभएको बेलामा रेडियोको फ्रिक्वेन्सी मिलायो भनेको जस्तो हो । धेरै ठूलो कुरा होइन । तरङ्ग मिलेकोले ऊ काँप्यो । उस्ले बोल्दा कुन भाषा बोल्यो ? बैखरी बोल्योे, मध्यमा बोल्यो, पश्यन्ति बोल्यो वा परा बोल्यो । बोली बुझिने, नबुझिने भनेको त्यही हो ।

परा बोल्दा निर्णयक बन्न सक्छ, बैखरी बोल्दा नपत्याउन सक्छ , मैले भने तर बिर्सें भनेर भन्दा मध्यमा हुन सक्छ । अरू केही  हुन सक्छ । 

प्रश्न हो, यसलाई होईन भनेर नकार्ने कि ? हो  भनेर पूरै सकार्ने कि ? त्यसको आधिकारिकता खोज्ने कि ? त्यो अर्को पाटो हो । 

मैलेचाहिँ आधिकारिकता देखेको छु । हामीसँग परामनोविज्ञानको  पाटो छ । हामीसँग क्वान्टम थ्योरीको बाटो छ । हामीसँग एउटा मनको तरङ्ग अर्को मनको तरङ्गसँग जोड्न सकिन्छ (बाडुल्की लाग्छ भनेजस्तो) भन्ने चिन्तन छ । यी सबैलाई जोड्ने हो भने आधिकारिकता भेटिन्छ ।

हकिन्सको होलिस्टिक सिद्धान्त जस्तो ‘थ्यौरी अफ एभ्रिथिङ ।’ ‘थ्यौरी अफ एभ्रिथिङ’ले के जनाउँछ भने, ‘संसार त हामीले सोचेजस्तो होइनरहेछ । यो त बेग्लै रहेछ ।’ त्यसैले यो केको रहेछ भन्दा तरङ्गको सिद्धान्त पनि रहेछ, मनको सिद्धान्त पनि रहेछ, शरीरको सिद्धान्त पनि रहेछ, तरङ्ग, मन र शरीर तीनवटाकै सिद्धान्त पनि रहेछ भन्ने थाहा हुन्छ ।

त्योमध्ये धामी कहाँनेर होला भनेर खोज्न सक्ने ठाउँ पनि रहेछ । मलाई लाग्छ, यसरी खोज्न सकियो भने पुर्खालाई पनि न्याय हुन्छ र भोलिका पुस्तालाई पनि प्रामाणिक न्याय हुन्छ भन्न सकिन्छ ।