‘सुरुङको बाटो’ सार्वजनिक

‘सुरुङको बाटो’ सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष ६, २०७६

काठमाडौं । ब्रजेश खनालको बालउपन्यास ‘सुरुङको बाटो’ सार्वजनिक भएको छ । शनिबार शिल्पी थिएटरमा सुलोचना मानन्धर, मानुश्री महत, अनुजा नेपाल र लेखक ब्रजेशले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा मानन्धरले ‘सुरुङको बाटो’मा ब्रजेशको लेखनको विशेष शैली देखिने बताउनुभयो । पुस्तक नयाँ शैलीको र समयको आवश्यकता भएको उहाँको भनाइ थियो ।

‘यस पुस्तकले किशोरकिशोरीसँगै अर्को मुख्य पात्र कुकुरको मनोविज्ञानलाई समेत समेटेको छ’, उहाँले भन्नुभयो, ‘यसले शृङ्खलाका रूपमा अर्को पुस्तकका लागि ढोका पनि खुला राखेको छ ।’

पुस्तकमाथि समीक्षा गर्दै मानुश्री महतले अन्य भाषाका पुस्तकहरू पढ्ने बानी परेकाहरूलाई पनि सन्तुष्ट पार्न सक्ने क्षमता पुस्तकमा रहेको बताउनुभयो । ‘प्रत्येक च्याप्टरमा एक किसिमको रहस्य र समाधान छ । पुस्तकको अन्तिममा पुग्दासम्म पनि कौतूहल बाँकी नै रहन्छ’, उहाँले भन्नुभयो ।

त्यस्तै, नेपालले आफ्नो समूहका बालबालिकाका लागि यस्ता थप बाल उपन्यासहरूको आवश्यकता औँल्याउनुभयो ।

लेखक ब्रजेशले बालबालिकाका लागि लेख्नु चुनौतीपूर्ण कार्य भएको उल्लेख गर्दै ‘सुरुङको बाटो’ आफ्ना लागि परीक्षा भएको बताउनुभयो । उहाँका यसअघि दुई उपन्यास ‘यायावर’ र ‘जुनेली’ साथै संस्मरण पुस्तक ‘साइड हिरो’ प्रकाशित छन् ।

परिचय पब्लिकेसनले प्रकाशन गरेको यस पुस्तकको मूल्य तीन सय रुपैयाँ छ ।