भारतले पाकिस्तानमाथि कारबाही गरे मुखभरीकाे जवाफ दिइनेछ: पाकिस्तानी प्रम खान

भारतले पाकिस्तानमाथि कारबाही गरे मुखभरीकाे जवाफ दिइनेछ: पाकिस्तानी प्रम खान

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष ६, २०७६

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भनेका छन् कि भारतले आफ्नो घरमा भइरहेको विरोध प्रदर्शनबाट ध्यान हटाउन पाकिस्तानका विरुद्ध केही कारबाही गर्न सक्छ ।

पाकिस्तानी प्रधानमन्त्री खानले यो पनि भनेका छन् कि हिन्दु राष्ट्रवादलाई लामबन्द गर्नका लागि युद्ध उन्मादलाई भड्काउन चाहन्छ भारत । खानले यदि यस्तो भएमा पाकिस्तानका सामु मुखभरीको जवाफ दिनुको विकल्प नभएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री खानले ट्विट गर्दै भनेका छन्, ‘भारतले जम्मु–काश्मिरमा अझै सबैलाई कैद गरेर राखेको छ । यदि त्यहाँबाट रोक हटेमा हत्याको आशंका छ । यदि भारतमा यस प्रकारको विरोध प्रदर्शन बढिरहेमा पाकिस्तानमाथि भारतको खतरा अझ बढ्नेछ । भारतीय सेना प्रमुखको भनाइले हाम्रो यस चिन्तालाई अझ पुष्टि गर्दै छ ।’

खानले आफ्नो एउटा अर्को ट्विटमा भनेका छन्, ‘पछिल्ला पाँच वर्षदेखि मोदी सरकारको नेतृत्वमा भारत हिन्दु राष्ट्रतर्फ बढिरहेको छ । यस प्रक्रियामा हिन्दु श्रेष्ठता र फासीवादी विचारधाराअनुसार अघि बढेको छ । अहिले नागरिकता संशोधन कानुनका विरुद्ध ती भारतीय सडकमा छन्, जो चाहन्छन् कि भारतमा विविधता कायम होस् । सीएएका विरुद्ध विरोध प्रदर्शन अब जनआन्दोलन बनेको छ ।’

खानका मन्त्री चौधरी फवाद हुसैनले पनि नागरिकता संशोधन कानुनमाथि मोदी सरकारको घेरा छ भन्दै ट्विटमा भनेका छन्, ‘नयाँ नागरिकता कानुनका विरुद्ध प्रदर्शनमा प्रहरीको गोलाबारीबाट हुने मृत्युबाट बुझ्न सकिन्छ कि भारतले मोदीलाई जिताउनुको मूल्य चुकाउँदै छ । अल्पसंख्यकका लागि भारत खतरनाक बनेको छ ।’

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले पनि भारतमा अल्पसंख्यकलाई दोस्रो दर्जाका नागरिक बनाउने प्रयास भइरहेको बताएका छन् ।