कथा घडीको

कथा घडीको

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  पुष ६, २०७६

‘दादा यो तपाईंको लागि’, दुबईबाट बिदामा नेपाल आएकी बहिनीले एउटा मनमोहक बट्टा दिदैं भनी ।

खोलेर हेर्नासाथ ‘म स्मृतिको महासागरमा डुब्न पुगे ! अनेकौं उन्मत्त छालले मेरो मस्तिष्कको सम्पूर्ण संरचना नै झंकृत बनाई दिएं ।’

बट्टामा एउटा सुन्दर नाडी घडी थियो । जीवनमा घडी सम्बन्धित जति स्मृति थिए, एक एक गरी होइन, एकसाथ जीवन्त हुन आए । मानौं , यतिखेर मेरो मस्तिष्क एउटा संरचना नरहेर , अनेकौं ‘विण्डो’मा विभाजित भयो, र प्रत्येक ‘विण्डो’मा घडी सम्बन्धित मेरा स्मृति ‘लाइभ इनकास्ट’ (टेलीकास्टको उल्टो) हुन थाले । 

मसँग यस विषयक कुनै ज्ञान छैन, यो सब कसरी सम्पादित हुन्छ ? कुनै भावनात्मक  स्मृति उघ्रिदा अथवा कुनै भयावह स्थितीसँग साक्षातकार हुँदा ४–५ वर्षको उमेर देखिका सबै स्मृति चलचित्रका माफिक निमेष भर मैं कसरी पुनर्जीवित हुन आइपुग्छन ? चौंथो आयाम भनिने समय यस अवस्थामा किन रहदैंन ?? शायद यो हाम्रो मस्तिष्कको यस्तो क्षमता हो , जुनबारे विज्ञान अहिलेसम्म अनभिज्ञ नै छ । 
सपनामा पनि तपाईं हामी सबैले यस्तो अनुभव गर्ने गरेका छौं । एक घण्टाको निद्रामा चलेको सपनाभित्र पचासौं वर्षको अनुभव हुन्छ । शायद सपनामा हाम्रो चेतना कुनै अर्कै आयाममा विचरण गर्न पुगेको हुन्छ । त्यो अर्को आयाम अन्य कुनै लोकको भावभूमि नभएर हामी रहेको त्रिआयामी जगत भित्र कै अर्को तह पनि त हुनसक्छ !

यसलाई एउटा उदाहरणले अझ स्पष्ट बुभौं । मानी लिउ, सागरको गहिराई भित्र जीवनयापन गर्ने माछा प्रजाति, जुन कहिल्यै सागरको माथिल्लो सतहसम्म आएको छैन । सृष्टिको आरम्भदेखि यस प्रजातिका माछाका लागी पानी भित्रको संसार नै एकमात्र र अन्तिम संसार हो । एक क्षणका लागी मानौं पानी भित्रको संसार दुई आयामी संसार हो, र यस प्रजातिका माछाका लागि ‘संसार दुई आयामी छ’ भन्ने ज्ञान नै सर्वोपरि सत्य हो । 

उनको घडी अस्वीकृत नगरेको भए, ‘घडीको टिकटिक र अविराम गतिका साथै कालचक्रको जालझेलबाट हामी दुबै मोक्षलाभ पाउने थिएनौ । उनले आफ्नो पुरुष रोज्ने बेलामा म पर सरेर सदाका लागि परपुरुष बनिदिए । कसैको दाम्पत्य जीवनमा परपुरुषको पर परसम्म प्रतिछाया पनि पर्न हुन्न भन्ने परम्परा र मान्यताको परिशीलनमा मैले उनको घडी स्वीकार नगरेर जे गरे, राम्रो गरे ।

तपाईंको कुनै साथी ‘सी–डाइभिङ्ग’ मा गयो । प्रमोद  खातिर उसले एउटा माछालाई समातेर केही सेकेन्डका लागी पानी बाहिर ल्याइदियो । लाखौं पुस्तादेखि दुई आयाममा जीवनयापन गर्दै आईरहेको यस प्रजातिको माछाको यो अभागी सदस्य दुर्घटनावश केही सेकेण्डका लागि तेस्रो आयामको यात्रा गरेर पुनः आफ्नो दुई आयामी संसारमा फर्कियो । 

उसको वक्तव्य केही यस्तो हुनेछ– हाम्रो यो दुई आयामको संसारभन्दा प्रथक पनि कुनै अर्को आयामको संसार छ । त्यहाँ हाम्रो लोकभन्दा करोडौं गुणा बढी प्रकाश छ । त्यहाँ सुर्यलोक छ , चन्द्रलोक छ, तारालोक छ, त्यहाँ हामीभन्दा प्रथक दिव्य सृष्टि छ, त्यहाँ बाह्रै महिना दिव्य फल दिने कल्पवृक्षहरु छन, कामधेनुहरु छन् । त्यहाँ भोजनका लागी चौरासी लाख व्यन्जन उपलब्ध छन् । त्यहाँका प्राणी पुष्पक विमानमा उडछन, त्यहाँ सोच्नासाथ सबैजनाका सबै इच्छा तत्काल प्रभावले पूर्ण हुन्छन । पाठकमित्र निश्चय पनि यो फगत मानसिक उडान हो  तर के तपाईंको मस्तिष्कमा यस कल्पनाले केही प्रश्न जन्माएन ?

दुई आयामका प्राणीका लागि तेस्रो आयामको आवागमन सहज नभए जस्तै (त्यो तेस्रो आयाम,दोस्रो आयाम भन्दा प्रथक लोकमा होइन, दुबै आयाम एउटै लोकमा हुन सक्छन) हामी तेस्रो आयामका बासीहरुका लागि चौंथो, पाँचौं, छैंठौं आयाममा गति गर्ने सुगमता छैन, र यी चौथो, पाँचौ, छैठौं आयाम कुनै अर्को लोक अथवा ब्रहमाण्डको संरचना नभएर हामी बसोबास गर्ने ब्रहमाण्ड कै यथार्थ हुन । हाम्रा तीव्र भावनात्मक संवेग वा परम भयावह स्थितीका क्षण तथा सपना ती उच्च आयामको ‘संकेत दर्शन’ पाउने आँखीझ्याल हुन सक्छन । निश्चय पनि मस्तिष्क यी सबैको सूत्रधार हो । 

पाठकवृन्द ! घडीको प्रसंगमा मात्र होईन, घडी–घडी प्रसंग विपरीत बहकिने मेरो जन्मजात स्वभाव हो । घडीको स्थूल प्रसंगबाट म समयकै सुक्ष्मता भेदनको आयाम रंजन भंजन आकाशमा पुगे । क्षमा माग्दै घडी मै फर्किन्छु । 

बट्टाभित्र रहेको घडीको डायलमा मलाई एकसाथ तीन वटा अनुहार देखिए । बाबाजी, जसले सन् १९८१ मा एस एल सी पास गर्दा मलाई घडी उपहार दिएका थिए । एच एम टी जनता मोडेलको त्यो घडी कानपुरको सर्राफा बजारमा किनिएको थियो । पसलेले आफ्नो ‘मार्केटिङ्ग’ कौशल देखाउदैं घडीलाई झण्डै दुई मिटर पर रहेको भित्तामा ठोक्याउदै घडीको गुणवत्ता परीक्षण गरेर देखाएको पनि झल्झली सम्झना आयो  । 

घडी धनी भएको त्यो किशोरकालीन गौरावानुभुतिको अनुभव मसँग मात्रै होइन, यस वयसन्धिमा घर–परिवारको क्षमताभन्दा बाहिरको उपहार सौजन्यस्वरुप पाउँदा कतिपय पाठकको जीवनमा पनि घटित भए कै होला । घडी मात्रै होईन, मेरो जीवनका थुप्रै घटना, भ्रमण र उपहार बाबाजीबाटै प्राप्त भए । पहिलो पटक हरिद्धार, लखनउ, कानपुर जस्ता महानगर उनले नै लगे । जीवनको पहिलो साइकल उनकै देन थियो । ‘ब्राडेंड’ लुगासँग सानिध्य उनले नै गराए । मेरो स्वभावमा (एटीट्युड) आत्मगौरवको (डिगनिटी) जुन रंगरोगन छ, (सहज भाषामा यसलाई अहंकार भन्न सकिन्छ) त्यो उनकै संसर्गमा सरेको विजातीय ‘डिएनए’ प्रभाव हो, जुन मेरो ‘डिएनए’सँग एकाकार भयो । बाबाजीले किनिदिएको घडी डाकाले लुटेको स्मरण मात्र होईन ती डाकाको अनुहार पनि सम्झिए ।

मस्तिष्कले निर्माण गरेको दोस्रो ‘विण्डो’मा थिइन महिला मित्र लक्ष्मी बस्नेत । विदेश बसाई सकेर नेपाल फर्किदा उनले घडी उपहार ल्याइदिएकी थिइन । मेरा अनेकन महिला मित्रहरुमा लक्ष्मीसँग जुन किसिमको मेरो मैत्री–सम्बन्ध रह्यो र छ त्यस्तो अन्य कसैसँग भएन । लक्ष्मीसँग जति घनिष्ठ, सहज, पारिवारिक र विचित्रको सम्वन्ध अरु कोहीसँग पनि भएन । उनको आफ्नो घर–परिवार, बहिनीहरुले मात्रै होइन, उनका नजिक र टाढाका आफन्त जनले पनि मलाई स्नेह र सम्मान गर्छन । लक्ष्मी म सँग रिसाएको मलाइ सम्झना छैन, रिसाएको त परै उनले मसँग ठूलो स्वरले बोलेको पनि मलाई सम्झना छैन ।

विभिन्न समाजमा व्यक्तिका बीचको मैत्री तथा सम्बन्धलाई धागोका रुपमा चित्रित गरेको पाईन्छ । त्यसमा पनि युवा र युवतीका बीचको (हामी दुबैले युवाकालको चरण पार गरिसकेका छौं)यो सम्वन्धको धागो त अत्याधिक ज्वलनशील एवम् नाजुकभन्दा नाजुक तत्वले निर्मित भएको हुन्छ । मानिसका ‘इमोसन’ सुक्ष्म हुन्छन कि ‘जनरल रिलेटिभिटी थ्योरी’ र ‘क्वान्टम म्याकेनिक्स’ को असमर्थतामा विकल्प स्वरुप आएको ‘स्ट्रिङ्ग थ्योरी’का स्ट्रिङ्ग ! यसको निक्यौलि ढीलो चाडो होला नै, तर चेतनशील प्राणी भएको नाताले म ‘इमोसन’कै पक्षमा उभिन्छु ।

२५–२६ वर्षेसँग साथमा लक्ष्मीले मेरा ‘इमोसन’ र आफ्ना ‘इमोसन’ बीच ६३ को परिस्थिति कहिल्यै सृजना हुन दिइनन । ‘हाम्रा अच्युतजी त अच्युत नै हुन भनेर’ जस्तो सुकै ‘कन्सन्ट्रेट’ परिस्थितीलाई उनले ‘डाइलुट’ बनाइन । धेरै पटक परिस्थितीजन्य जीतेको बाजी आफु खुशी हारेर उनले मित्रताको ‘फाइनल’ सधैं जीतिन । हृदयको त थाहा छैन बिषम परिस्थितीमा यस मस्तिष्कले सम्झिने नामको प्राणी यिनै हुन भन्नेमा यस मस्तिष्कका कुनै न्युरोनमा कुनै पनि प्रकारको विमति छैन ।

आफ्ना कुनै मित्रको हठात स्मृति–विस्मृतिमा बरालिंदा तपाईंहरुलाई आफ्नो मित्रको कुन स्परुपको साक्षात हुन्छ  ?

मलाई भने मित्रका जीवनका गौरवमयी क्षणको स्मृतिले आह्रलादित बनाउछ । बट्टाभित्र रहेको घडीको ‘गोल्डेन डायल’मा  मलाई ०५० सालतिर लक्ष्मीले देशव्यापी दोहोरी गायन प्रतिस्पर्धामा विजेता हुदाँको अनुहार नजर आयो । ०५३ सालतिर ‘अच्युत म जापानका लागि ‘सेलेक्ट’ भए’ सुनाउदाको अनुहार झल्क्यिो । अच्युत तिम्रो ज्योतिषी त गजब रहेछन, उनले भनेको सबै कुरा पुग्यो , उनले सिफारिश गरेको रत्नले मेरो जीवनलाई–सोचाई परिवर्तित गर्यो, सुनाउदाको सन्तुष्ट मुहार झल्कियो । लक्ष्मी जस्तो मित्र सबै मित्रको जीवनमा होस भन्ने कामनाका साथ म तेस्रो ‘विण्डो’ तिर लाग्छु । 

तेस्रो ‘विण्डो’मा सबिना थिइन, जसले अन्तिम भेटमा मलाई घडी उपहार दिन खोजेकी थिइन, जसलाई मैले स्वीकार गरिन । उनको भावी जीवनको सुखका लागि मैले ५–६ वर्षका देखि चलिआएको अन्तरङ्ग प्रेमको समय र गति लाई त्यही रोकिदिने निर्णय गरेर घडी अस्वीकृत गरेको थिंए । 

उनको घडी अस्वीकृत नगरेको भए, ‘घडीको टिकटिक र अविराम गतिका साथै कालचक्रको जालझेलबाट हामी दुबै मोक्षलाभ पाउने थिएनौ । उनले आफ्नो पुरुष रोज्ने बेलामा म पर सरेर सदाका लागि परपुरुष बनिदिए । कसैको दाम्पत्य जीवनमा परपुरुषको पर परसम्म प्रतिछाया पनि पर्न हुन्न भन्ने परम्परा र मान्यताको परिशीलनमा मैले उनको घडी स्वीकार नगरेर जे गरे, राम्रो गरे । मलाई यसमा किंचित पनि पछुतो छैन । उनी काठमाडौं मै सुखमय जीवन बाँचिरहेकी छन, योभन्दा वढी उनको बारेमा चर्चा गर्नु उपयुक्त हुन्न । 

घडीको बट्टा खोलेर टोलाइरहेको देखेर बैनीले सोधी, ‘के घडी मन परेन ?’

अब उसलाई के थाहा यो ‘घडी दर्शनले’ मेरो चेतनाले कति प्रकाश वर्षसम्म प्रकाशको गतिभन्दा पनि तिव्र गतिले भ्रमण गरि सक्यो ? बैनीलाई जवाफ दिदैं भने–नानी तलाईं थाहा छ म घडी लांउदिन, यो मेरो लागि वन्धन हुन्छ, यो घडी अरु कसैलाई दे ।
घडी पनि वन्धन हुन्छ र ? उसले सोधी ।

‘घडीमात्र होइन सबै कुरा वन्धन हुन नानी’ भन्दै, घडीको बट्टा पलंगमाथि राखेर म कोठा बाहिर निक्लिए ।