डराउँदा के हुन्छ ? केसम्म हुन सक्छ ??

फाइट अथवा फ्लाइट विकासक्रमको सिकाई हो

डराउँदा के हुन्छ ? केसम्म हुन सक्छ ??

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  फाल्गुन १०, २०७५

प्रारम्भ नै उत्थानबाट गरौं । प्रबुद्ध पाठकलाई विषय प्रवेश, भूमिका वा किस्ताबन्दीमा एक–एक ‘प्याग’ आवश्यक हुन्न ।

के कुनै अप्रत्याशित घटनाले डराउँदा तपाईंको मृत्यु हुन सक्छ ?

आज ‘डर’माथि चर्चा गर्न अभिप्रेरित छु । 

तपाईं हामी सबैजनाले जीवनमा औचक, अप्रत्याशित घटनाले डरको अनुभूति गरेका छौं । के डरले हाम्रो ‘राम–नाम–सत्य’ हुन सक्छ ?

पक्कै यो पढ्दैमा तपाईं डराउनुभएको छैन । मस्तिष्कमा कौतूहलको सञ्चार भने भएको हुन सक्छ । 

ल, यस कौतूहललाई ‘भिजुअलाइजेसन’ गरौं । 

तपाईं कुनै निर्जन बाटोबाट गुज्रिँदै हुनुहुन्छ, एउटा भीमकाय बाघले आएर बाटो छेकिदिओस् । तपाईं र बाघको बीच जम्मा दूरी २० मिटर । तपाईं के गर्नुहुन्छ ?

एकथरि मानिसले भन्न सक्छन्, ‘आफूले केही गर्नु नै किन पर्‍यो, जे गर्छ बाघले गर्छ ।’

तपाईंले जीवनमा कुनै न कुनै बेला यस्तो घटना परिस्थिति प्रत्यक्ष नै गर्नुभएको होला । जब एउटा अति सामान्य निर्बल मानिसले पनि संकटको क्षणमा आफ्नो शारीरिक क्षमताभन्दा धेरै सामथ्र्य प्रदर्शन गरेर देखाउँछ । अब तपाईंलाई थाहै छ, कुनै पनि प्रक्रिया दोषरहित हुन सक्दैनन् । सर्वश्रेष्ठ सापेक्ष शब्द हो, कोभन्दा को श्रेष्ठ ? ‘एब्सोल्युट’ श्रेष्ठ वा ‘एब्सोल्युट’ हीन हुनु सम्भव छैन । ‘एभोल्युसन’ वा विकासक्रमको ‘फ्लाइट—फाइट रेस्पोन्स’को पनि आफ्नै साइड इफेक्ट वा ‘माइनस प्वाइन्ट’ छन् ।

जीवनमा धेरै पटक तपाईँले यस्ता बकम्फुसे तर्क सुन्नुभएको होला, मित्रवर्गबाट, आफन्त, घरपरिवारका सदस्यहरूबाट । हुन त तपाईं स्वयं पनि यिनै वर्गको प्रतिनिधि हुन सक्नुहुन्छ । तर, म यसो भनेर तपाईँको कोपभाजनको सिकार किन बनौं ? 

प्रश्न थियो– यस्तो स्थितिमा तपाईँको ‘रियाक्सन’ अथवा ‘रेस्पोन्स’ के हुन्छ ?

तपाईँले विश्वास गरे/नगरे पनि यो सत्य हो– अपर्झट आइपरेको कुनै पनि संकटको बेला तपाईँमा निहित परम्परागत ज्ञान, बुद्धि, कौशल, कला केही काम लाग्दैनन् । 

तपाईँको शरीरमा सामान्य अवस्थामा प्रयोग हुने सामान्य ‘मेकानिज्म’बाहेक आपत स्थितिका लागि अर्को विशिष्ट ‘मेकानिज्म इन्बिल्ट’ हुन्छ ।

जीवनमा अचानक अप्रत्यासित खतरा आउनसाथ यो सामान्य ‘मेकानिज्म’लाई विस्थापित गरी अत्यन्त  त्वरित गतिका साथ सक्रिय हुन्छ । 

शरीरमा हुने यस त्वरित प्रतिक्रियालाई ‘फ्लाइट अथवा  फाइट रेस्पोन्स’ भनिन्छ । 

एकदमै सामान्य शब्दमा बुझ्ने हो भने, जीवनमाथि आइलागेको खतरा अनुभव गर्नासाथ शरीरको ‘नर्भस सिस्टम’ ले ठूलो परिणाममा ‘एड्रिन्लिन नामक रसायन स्रावित गरिदिन्छ । 

यस ‘एड्रिन्लिन’ केमिकलले हृदयका कोशिकामा ठूलो मात्रामा ‘क्याल्सियम आयन’ सप्लाइ गरिदिन्छ ।

क्याल्सियमको अत्यधिक मात्राको अप्रत्यासित आपूर्ति पाउनसाथ हृदयका मांशपेशीमा तीव्रतासाथ संकुचन हुन्छ । ‘हर्ट बिट’  अर्थात मुटुको ढुकढुकी अनियन्त्रित पाराले बढ्छ । 

परिणामस्वरूप शरीरमा रक्तको प्रवाह तीव्र हुन जान्छ । धेरैभन्दा धेरै प्रकाश अवशोषित गर्न सकून् भन्ने हेतुले आँखाको नानी तन्किन्छ । तपाईँको शरीरको परम्परागत ‘इम्युन सिस्टम’ र ‘डाइजेस्टिभ सिस्टम’ अस्थायीरूपमा ‘सट डाउन’ हुन्छ । 

‘इम्युन सिस्टम’ र ‘डाइजेस्टिभ सिस्टम’ यस अर्थ र आशयमा ‘सट डाउन’ हुन्छन् । खतराको यस स्थितिको सामना गर्न तपाईँलाई बढीभन्दा बढी ऊर्जा प्राप्त होस् । ती ‘सट डाउन’ भएर यिनका नियमित कार्यप्रणालीमा व्यय भइरहेको ऊर्जा, तपाईं खतराको अवस्थामा प्रतिरक्षाका लागि उपयोग गर्न सक्नुहोस् । ज्यान जोगियो भने नै त ‘इम्युन सिस्टम’ र ‘डाइजेस्टिभ सिस्टम’ फेरि आवश्यक हुन्छन् । 

क्षणभरमै यतिका समस्त तयारी सम्पन्न गरी तपाईँको मस्तिष्कले सम्भावित मृत्यु विरुद्धको संघर्षका निमित्त तपाईँलाई पूर्णतया सावचेत बनाइदिन्छ । यस क्षणजतिको सचेतता आमदैनिक जीवनमा प्रयास गरेर पनि आर्जन गर्न सम्भवतः शक्य हुन्न । 

आफ्नो तयारी सम्पन्न गर्न साथ मस्तिष्कले तपाईंलाई चेतावनी दिन्छ– गएर भिड अथवा भएभरको सामर्थ्यले दौड लगाऊ ।

यो ‘फाइट’ कि ‘फ्लाइट रेस्पोन्स’ विकासक्रमको महत्वपूर्ण मानक हो भन्नुमा किञ्चित पनि द्विविधा छैन । प्राण संकटको परिस्थितिमा यो अति नै उपयोगी एवं लाभदायक रहिआएको छ । 

तपाईंले जीवनमा कुनै न कुनै बेला यस्तो घटना परिस्थिति प्रत्यक्ष नै गर्नुभएको होला । जब एउटा अति सामान्य निर्बल मानिसले पनि संकटको क्षणमा आफ्नो शारीरिक क्षमताभन्दा धेरै सामर्थ्य प्रदर्शन गरेर देखाउँछ । 

अब तपाईंलाई थाहै छ, कुनै पनि प्रक्रिया दोषरहित हुन सक्दैनन् । सर्वश्रेष्ठ सापेक्ष शब्द हो, कोभन्दा को श्रेष्ठ ? ‘एब्सोल्युट’ श्रेष्ठ वा ‘एब्सोल्युट’ हीन हुनु सम्भव छैन । 

‘एभोल्युसन’ वा विकासक्रमको ‘फ्लाइट—फाइट रेस्पोन्स’को पनि आफ्नै 'साइड इफेक्ट' वा ‘माइनस प्वाइन्ट’ छन् । 

‘एड्रिन्लिन’ नामक केमिकल अत्यन्त जोखिमपूर्ण हुन्छ । यसको अत्याधिक मात्राले मुटुको कार्यगत संरचना एवं बढेको अनियन्त्रित रक्तचापका कारण ‘फ्लाइट–फाइट रेस्पोन्स’ को पहिलो चरणमै व्यक्तिको मृत्यु हुन सक्छ । 

एउटा उदाहरणले बुझौं, कुनै दुई जना साथीबीच वीरताको प्रसंग चलेछ । एउटाले ‘च्यालेन्ज’ गर्दै भन्यो, के तिमी औंसीको मध्यरातमा श्मशानमा गएर कीलो  गाडेर आउन सक्छौ ?

अर्को साथीले ‘च्यालेन्ज’ स्वीकार गर्यो । श्मशानमा पुगेर कीलो गाड्यो, कीलो गाडुञ्जेल उसलाई केही भएन । तर, जब ऊ घर फर्कनका लागि उठ्न खोज्यो, तलबाट केहीले तान्यो । सारा भूतप्रेतको कथा उसको स्मृतिमा आइहाले । डरले काम्यो । कथानुसार भोलिपल्ट बिहान ऊ मृतावस्थामा भेटियो । त्यहाँ भूतप्रेत केही थिएनन् । भएको के थियो भने कीलो ठोक्ने बेलामा उसले लगाएको कुर्ताको फेरमाथि कीलो ठोकिन गएको थियो । कीलो ठोकेपछि उठ्न खोज्दा कुर्ता अड्कियो । यसले त्यस व्यक्तिमा डरको सञ्चार भयो । 

‘फ्लाइट–फाइट रेस्पोन्स’ले आफ्नो काम गर्यो । ‘एड्रिन्लिन’को भारी मात्रामा भएको ‘सप्लाइ’का कारण लड्नु वा भाग्नुभन्दा पहिला नै ‘हार्टफेल’ भयो ।

‘एड्रिन्लिन’को सप्लाइले एकातिर जहाँ ज्यान जोगाउने सामर्थ्य प्रदान गर्छ, अर्कोतिर यही केमिकल मृत्युको कारण पनि बन्न सक्छ । 

धेरै घटनामा यो प्रमाणित भइसकेको छ, मात्र डरका कारणले पनि व्यक्तिको मृत्यु हुन सक्छ । 

यस्ता हठात् हुने मृत्युको अध्ययनबाट के थाहा हुन आएको छ भने डरको कारणले मात्र होइन, कुनै पनि अत्याधिक उत्तेजनाको स्थिति, जस्तैः ठूलो धनराशीको चिट्ठा पर्नुको खुसी, कुनै हृदय विदारक घटनाको अवलोकन, चरम् सम्भोगको अवस्था, दैविक वा धार्मिक तीव्र भावनात्मकताले पनि व्यक्तिको मृत्यु हुन सक्छ । 

डरको प्रत्यक्ष सम्बन्ध मुटुसँग नभए पनि डरको भाव उत्पन्न हुनासाथ प्रवाहित हुने ‘एड्रिन्लिन’ रसायनले मुटुमा प्रतिक्रिया गर्छ । अस्वस्थ मुटु (कमजोर मुटु)ले यसको प्रभाव झेल्न नसकेर मैदान छाड्न सक्छ ।