मिनीट्रक दुर्घटनामा दुईजनाको मृत्यु, ६ घाइते

मिनीट्रक दुर्घटनामा दुईजनाको मृत्यु, ६ घाइते

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ६, २०७६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका दुई जना कर्मचारीको ट्रक दुर्घटनामा परी मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन्।

मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नम्बरको ट्रकमा सवार सोही कम्पनीका दुईजना कर्मचारीको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनु भयो । नायब उपरीक्षक थापाका अनुसार ट्रकमा सवार नागार्जुन कन्स्ट्रक्सन कम्पनीका कर्मचारीहरु बाटोको काम गर्न चैनपुर जाने क्रममा दुर्घटना भएको बताउनु भयो ।

मृत्यु हुनेमा सुवा जिल्ला नौकुण्ड गाउँपालिका–३ का १९ वर्षीय (सह–चालक) सुदीप तमाङ र खोटाङ जिल्ला घर भएका १९ वर्षीय अविरल तमाङको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।

घाइते हुनेमा नुवाकोट ककनी गाउँपालिका–१ का २८ वर्षीय (चालक)  गणेश बलामी, सोही जिल्लाका विदुर नगरपालिका– ६ का ४५ वर्षीय सचितकुमार रिमाल, जाजरकोट जिल्ला भेरी नगरपालिका–३ का २२ वर्षीय शङ्करराज सुनार र २७ वर्षीय हेमराज ठकुरी, ३० वर्षीय तिलक खत्री र १८ वर्षीय विमल सुनार रहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो । 

घाइते छ जनामध्ये दुई जनालाई काठमाडौँ ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयाे ।