शीत लहरका कारणा सप्तरीका तीन स्थानीय तहमा विद्यालय बन्द

शीत लहरका कारणा सप्तरीका तीन स्थानीय तहमा विद्यालय बन्द

लोकसंवाद संवाददाता  |  शिक्षा  |  पुष ६, २०७६

सप्तरी । सप्तरीमा शीतलहरसँगै अत्यधिक चिसो बढेपछि तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् ।

जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आइतबारदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको राजविराज नगरपालिकाले सूचना जारी गरेको छ ।

बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने नगरउपप्रमुख साधना झाले बताताउनु भयो ।

तिलाठी कोइलाडी गाउँपालिकाले पनि चार दिनका लागि सामुदायिक विद्यालय बन्द गरेको छ । गाउँपालिका अध्यक्ष शतिशकुमार सिंहले गाउँपालिकाका १७ सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

सप्तकोशी नगरपालिकाले बिहीबारदेखि सोमबारसम्म पाँच दिनका लागि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ। बन्दको निर्णयपछि सोमबारसम्मका लागि सप्तकोशी नगरपालिकाका सात आधारभूत र चार माध्यमिक विद्यालय बन्द भएको शिक्षा शाखाका प्रमुख रामदेव चौधरीले बताउनुभयो ।       

सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित र विपन्न परिवारका भएकाले बाक्लो र पर्याप्त कपडा अभावमा चिसोले बिरामी पर्न सक्ने भन्दै स्थानीय तहले विद्यालय बन्द गरेका हुन् ।

बलानविहुल गाउँपालिकाले पनि विद्यालय बन्द गर्न मौसमको अवस्था मूल्याङ्कन गर्न केहीबेरमा बैठक बस्न लागेको गाउँपालिका अध्यक्ष दयानन्द गोइतले बताउन्रभयो । दिनभरि बाक्लो हुस्सु लाग्ने र कठ्याङ्ग्रिने जाडो बढेकाले त्यसको असरबाट बच्न जिल्लाका विभिन्न चोक र सार्वजनिक स्थलमा आगो बालिएको छ।