फिनल्याण्डको शिक्षा प्रणालीबाट सिक्नुपर्ने पाठ

फिनल्याण्डको शिक्षा प्रणालीबाट सिक्नुपर्ने पाठ

बम बानियाँ  |  दृष्टिकोण  |  पुष ७, २०७६

भर्खरै फिनल्याण्डमा ३४ वर्षकी सन्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएपछि एउटा महत्त्वपूर्ण राजनीतिक विश्लेषण सुरु भएको छ । उनी समाजवादी लोकतान्त्रिक पार्टीकी नेत्री हुन् तर पार्टी विचार र सिद्धान्तभन्दा पनि उनको कम उमेरको चर्चा विश्वभर आज विभिन्न सञ्चार माध्यममार्फत् फैलिएको छ ।

हरेक युवा नेतृत्वका पछाडि केही कारण हुन्छन् । कि त एउटा नयाँ मुभमेन्टबाट नेता जन्मिन्छ र कम उमेरमै राज्य सञ्चालनको मुख्य जिम्मेवारीमा पुग्छ कि त्यो देशको गतिशील सिस्टम छ भने त्यसले काम गर्नुपर्छ । यहाँ भने विश्वकै कम उमेरमा उक्त प्रमुख कार्यकारी जिम्मेवारीमा पुग्नुमा त्यस देशको शिक्षा मुख्य कारण हुन सक्छ भन्ने पक्षलाई अगाडि सारेर केही तथ्य यहाँ प्रस्तुत गरिएको छ ।

फिनल्याण्ड ५.५ मिलियन मात्रै जनसंख्या भएको एउटा युरोपेली सानो राष्ट्र हो । फिनल्याण्डको शिक्षा प्रणाली संसारकै उत्कृष्ट मानिन्छ । आज संसारका अति विकसित मुलुकहरूले पनि फिनल्याण्डको शिक्षा प्रणाली कतै न कतैबाट कपी गरेर वा तुलनात्मक अध्ययन गरेर आफ्नो पाठ्यक्रममा समावेश गरिरहेका छन् । कसरी के कारणले आज विश्वमा उत्कृष्ट नतिजा दिन सफल भयो त फिनल्याण्ड भन्ने विषयमा केही कारणहरू यहाँ प्रस्तुत गरिएको छ ।

बच्चा मजबुत भएपछि मात्रै सुरु गराइन्छ शिक्षा

फिनल्याण्डको शिक्षाको पूर्ण ग्यारेन्टी सरकारले लिन्छ । बच्चा जन्मनासाथ शारीरिक, मानसिक तथा उमेरको हिसाबले मजबुत भएपछि मात्रै विद्यालय शिक्षा सुरु हुन्छ । बच्चा जन्मेपछि उसको जग निर्माण गर्ने, बुबाआमालाई आवश्यक छुट्टी दिने र खाने, लाउने सबै सुविधा सरकारले नै दिन्छ ।

बच्चालाई आवश्यक पर्ने किताब, कपी, कपडालगायत आवश्यक सुविधाहरू सबै सामग्रीको बाकस नै सरकारले विद्यार्थी प्रवेश गरेको पहिलो वर्षमै व्यवस्था गरेको हुन्छ । बच्चाका आमाबाबुलाई पनि उत्तिकै धेरै सुविधाहरू हुन्छन् ।

बच्चा जन्मनासाथ पहिलो चार महिना र पछि थप छ महिना पूरै तलब दिएर बुबा या आमालाई घर बिदा दिने गरेको छ । बच्चालाई डे केयरमा पनि राख्न सकिन्छ । यसका लागि सरकारले आवश्यक सबै सुविधासहित कमसे कम डिग्री गरेको शिक्षक राखिन्छ । यो बच्चाको खेल्ने र सिक्ने स्वतन्त्र थलो हुन्छ ।

शिक्षक साथी हुन्छन् । बच्चालाई के सिकाउने होइन, के सिक्न चाहन्छन् भन्ने सिकाइको सिद्धान्त हुन्छ । जबकि नेपालका प्राइभेट स्कुलको जस्तो जबर्जस्त सिकाउने थलो होइन विद्यालय । हाम्रो सरकारको त शिक्षामा के नै अनुकरण गर्न लायक छ र ! कतिपय सरकारी विद्यालयमा एउटा कक्षामा एउटा विद्यार्थी पढाउने देश हो भन्दा अति लाज लागेर आउँछ ।

उच्च तालिमप्राप्त शिक्षक

फिनल्याण्डमा सबैभन्दा उच्च र दक्ष नागरिक शिक्षकमा जान्छन् किनकि विषयगत अनुसन्धानमा मास्टर्स गरेका मात्रै शिक्षकमा छनोट हुन्छन् । तलब, इजजत र सम्मान शिक्षण पेसामा अन्यमा भन्दा बढी नै हुन्छ ।

शिक्षणमा जति थोरै कोटा खुले पनि धेरै आवेदनहरू पर्ने गर्छन् । सन् २०१२ मा हेलसिन्की विश्वविद्यालयले मागेको १२० प्रावि शिक्षक कोटामा २ हजार ३०० निवेदन परेका थिए । सामाजिक रूपमा सबैभन्दा सम्मानित व्यक्ति त्यो देशको शिक्षक हुन्छ । जस्तो नेपालमा डाक्टर, पाइलट, इन्जियिरको इज्जत हुन्छ, त्यस्तै हुन्छ त्यहाँ शिक्षकको । 

शिक्षकको उच्च स्तरको अधिकार

यहाँ शिक्षकहरू अन्य देशहरूको तुलनामा धेरै स्वतन्त्र हुन्छन् । उनीहरू कम समय कक्षाकोठामा बिताउँछन् तर धेरै समय बच्चाहरूको कोर्स निर्माणमा खर्च गर्छन् । कसरी भन्दा पनि के हो बच्चाको सिकाइको लक्ष्य भन्नेसँग बढी चिन्तनशील हुन्छन् । जस्तै: अमेरिकाका शिक्षकले १८० दिनमा एक हजार ८० घण्टाको कक्षा लिन्छन् भने फिनल्याण्ड स्कुल शिक्षकले १८० दिनमा ६०० घण्टाको मात्रै कक्षा लिन्छन् ।

शिक्षक एउटा कक्षाकोठामा सीमित नभएर सिकारुको मनोविज्ञानसँग र सिकाइसँग जोडिएको एक विज्ञ, अनुसन्धानकर्ता हुन्छ । पाठ्यक्रम स्थानीयस्तरमै शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावकको संयुक्त अध्ययनमा तयार गरिन्छ ।

आर्थिक कमजोर बालबालिकाका लागि सहयोग

यहाँ शिक्षाका लागि सबै बालबालिकाहरूलाई उत्कृष्ट शिक्षा दिनका लागि कमजोर विद्यार्थीको कोष नै खडा गरिएको हुन्छ । सबैले शिक्षा पाउने अधिकारको प्रत्याभूति दिइएको छ । करिब ३० प्रतिशत मावि तहसम्मका बच्चाहरूलाई सरकारले विभिन्न प्रकारका अतिरिक्त सहयोग गर्छ ।

आर्थिक कमजोर, अपाङ्गता भएका विद्यार्थीलगायत सबै प्रकारका बच्चाहरूलाई शिक्षाको मूलधारमा समावेश गरेकै हुन्छ भने उत्कृष्ट र कमजोर विद्यार्थीको परीक्षाको परिणाम खासै फरक पर्दैन ।

यो नै संसारको शैक्षिक प्रतिस्पर्धाको जग हो । विद्यार्थी जो जस्तो सिक्न तयार छ, त्यो शिक्षा पाउने अधिकारको रूपमा लिएर सरकारले पूरा गरिदिन्छ ।

शिक्षकले परीक्षाका लागि पढाउँदैनन्

यो निकै महत्त्वपूर्ण विषय हो । परीक्षालाई ठूलो फलामेद्वारको रूपमा कहिल्यै हेरिँदैन त्यहाँ । तर, अन्तर्राष्ट्रिय परीक्षा प्रणालीहरू फिनल्याण्ड शिक्षा प्रणालीमा पर्दैनन् । परीक्षाहरू हुन्छन् तर प्रायः नतिजा सार्वजनिक गरेर ठूलो हल्ला र विज्ञापन हुँदैन ।

यसको मतलव यो हो कि फिनल्याण्डको शिक्षाको परीक्षा प्रणालीमा गुणस्तर बढी तर निकै लचकता हुन्छ । त्यहाँको शिक्षा मन्त्रालयले नै भन्छ, जब विद्यार्थीको जीपीएमा मात्रै उसको गुणस्तर हेरियो भने उसले थुप्रै मानवीय पक्षहरू छुटाइरहेको हुन्छ । शिक्षालाई अंकसँग मात्रै हेर्ने होइन, जीवन व्यवहारसँग गाँसेर हेर्नुपर्छ ।

यो निकै महत्त्वपूर्ण आजका रोबोट युगका यन्त्रका दास मानिसहरूले र शिक्षा प्रणालीका विज्ञहरूले सोच्नै पर्ने विषय हो ।

बच्चाहरूको विद्यालय जीवन ढिला सुरु

बच्चाहरू ७ वर्ष भएपछि मात्रै स्कुल सुरु गराइन्छ । यो नै स्कुलका लागि परिपक्व उमेर हो भनेर फिनल्याण्डले प्रमाणित नै गरेर देखाएको छ । कलिलो उमेरमा बढी बालमनोविज्ञानमा चाप दिएर दिइने शिक्षाको अर्थात् औपचारिक रुटिन र कक्षा शिक्षाको विपक्षमा देखिन्छ ।

७ वर्षभन्दा अगाडि सम्मको उमेर भनेको उनीहरूको इच्छा, चाहनाअनुसार खेलेर सिक्ने उमेर हो । त्यहाँ कुनै दबाब दिनुहुन्न बरु वातावरण मात्रै दिनुपर्छ भन्ने मान्यता रहेको छ त्यहाँ ।

खेल र खुसी

बच्चाहरूको खेल र खुसी त्यहाँको पाठ्यक्रमको एक भाग नै हुन्छ । उनीहरूले आफ्नो रुचिअनुसार सिक्ने वातावरण सिर्जना गरिदिनु अभिभावक, शिक्षक र विद्यालयको कर्तव्य हुन्छ ।  गणित, विज्ञानका कक्षाहरूका अतिरिक्त विभिन्न अन्य गतिविधिहरू कला, संगीत, नृत्य, सामाजिक कार्यमा संलग्न गराइन्छ ।

सामाजिक काम गर्न उत्प्रेरित गर्नु त शिक्षाको एउटा पाटो नै मानिन्छ । कक्षा कम लिइन्छ । गृहकार्य कम दिइन्छ । यसको बदलामा खेल र आनन्दलाई समय दिइन्छ । राष्ट्रिय शिक्षा बोर्डले नै यी निर्णयहरू गरेको हुन्छ ।

सबै अनिवार्य सरकारी स्कुलमा

फिनल्याण्डको शिक्षाको सबैभन्दा महत्त्वपूर्ण अनुकरणीय पक्ष भनेको नै सबै विद्यार्थीका लागि सरकारी शिक्षा हो । सरकार र शिक्षा मन्त्रालयले नै एउटै शिक्षा देशभर लागू गर्ने, सबैलाई बराबर मौका दिने हुन्छ । अन्य देशको जस्तो सरकारी र निजी स्कुल खोलेर विभेदपूर्ण शैक्षिक उत्पादन हुँदैन ।

सबैभन्दा सुन्दर पक्ष पनि यही हो । कुनै निजी स्कुलको तुलनामा अझै राम्रो लगानी र शैक्षिक गुणस्तर दिन सफल देशलाई निजी स्कुलको जरुरत नै पो किन पर्छ र !

विद्यार्थीको क्षमता र इच्छाअनुसारको भविष्य

यस देशका ९३ प्रतिशत माध्यमिक तहका विद्यार्थीले सीपमूलक तथा व्यावहारिक विषयमा पोख्त अध्ययन गर्छन् । यसबेला उनीहरूको उमेर १६ वर्षको मात्रै पुगेको हुन्छ । त्यसपछि पनि ४३ प्रतिशतले उच्च शिक्षाका लागि पनि सीपमूलक हिक्षा नै रोज्छन् ।

सबै विद्यार्थीहरू फरक फरक क्षमता भएका हुन्छन् र फरक फरक पाठ सिकाउन जरुरी छ भन्ने सिद्धान्त यहाँको महत्त्वपूर्ण र सफल सिद्धान्त हो । एउटै कक्षामा पाँच फरक फरक कार्य दिइन्छ ।

जीवन उपयोगी शिक्षामा नै उनीहरूको बढीभन्दा बढी इच्छा हुने गरेको देखिन्छ । यसले देशमा बेरोजगार कोही बस्नुपर्दैन । देशलाई चाहिएको सबैखाले जनशक्ति देशमै उत्पादन हुन्छ । देशमै रोजगारी हुन्छ ।

यहाँनेर आएर नेपाललाई तुलना गर्दा हामी शिक्षाको सवालमा कहाँ छौँ ? भन्ने प्रश्न उठ्छ । हामी सरकारी र निजी, ती पनि विभिन्न वर्गीय शैक्षिक उत्पादन गरिरहेका छौँ । धेरै लगानी गरेर उत्पादित जनशक्ति देशले रोजगारी दिन नसकेर संसारका विभिन्न मुलुकमा अध्ययन र रोजगारीमा जाने र बौद्धिक पलायनको अवस्था छ ।

विद्यालयमा समानता

सामाजिक, शैक्षिक वर्गको जन्म भनेको खास विद्यालयबाट नै हुने हो । फिनल्याण्डको शिक्षामा कुनै विभेद हुँदैन । सबैले समान अवसर प्राप्त गरेर शिक्षा पाउने अधिकार त्यहाँ छ । र, प्रायः सबैले आफ्नो सुविधा प्राप्त पनि गरेका छन् ।

को ठूलो र को सानो भन्ने बच्चाहरूलाई नै सिकाइँदैन बरु सबै समान हो भन्ने शिक्षा र स्वस्थ प्रतिस्पर्धा हुन्छ । कसैलाई जित्न प्रतिस्पर्धा हुँदैन । केही गर्न सक्षम हुने शिक्षा सिकाइन्छ । देशका सबै विद्यालयहरूमा उस्तै सुविधा सबै ठाउँमा प्रदान गरिएको हुन्छ । यसले के देखाउँछ भने एउटा सफल देश हुनका लागि सफल शिक्षा प्रणाली नै हुनुपर्छ ।

फिनल्याण्डको शिक्षा आज विश्वले उत्कृष्ट भनेर मानिरहेको छ । थुपै्र कारणहरूले प्रमाणित गरिसकेका छन् यसलाई । यसका केही सिद्धान्तहरू पनि छन्, जसले त्यस देशको शिक्षा प्रणालीलाई नै उत्कृष्ट सावित गरेका छन् । तीमध्ये मुख्य छ बुँदाहरू यहाँ प्रस्तुत गरिएको छ ।

सीप सिक्ने सिद्धान्त

पाठ्यक्रममा कसरी सिक्ने भन्ने विषयहरू समाज र संस्कृतिबाट अन्तत्र्रिmयाको आधारमा आफैँले आफ्नो रुचिअनुसार सीप सिक्ने वातरण निर्माण गरिदिने । उनीहरू आफैँ सिक्छन् ।

आफूलाई दैनिक जीवनमा आवश्यक पर्ने, भविष्यको लक्ष्य के हो, कुनमा रुचि छ र के बन्ने आदि विषय छनोट आफैँ गर्छन् । विशेष गरेर कसरी उद्यमी बन्ने, समाज र देशलाई उत्कृष्ट बनाउने, शारीरिक काम र प्रविधिलाई कसरी व्यवस्थापन गर्ने ? जस्ता विषयहरू पाठ्यक्रममा गाइडलाइन मात्रै हुन्छन् ।

उनीहरू आफैँ उत्कृष्ट बाटो छानेर हिँड्छन् । परिवर्तित विश्वलाई बुझ्ने सीप सिक्ने खुला वातावरण नै यहाँको शिक्षाको मुख्य कडी हो ।

सरकारी सहयोग

फिनल्याण्डको सरकारले संसारमा आइरहेका नयाँनयाँ प्रविधिहरूलाई खोज र अनुसन्धान गरी पाठ्यक्रमा समावेश गर्छ । पाठ्यक्रमलाई गतिशील राख्ने गरेको छ र विद्यार्थीको शिक्षण सिकाइमा लागू गर्न जस्तोसुकै सहयोग गर्न सधैँ अगाडि हुन्छ ।

त्यसैगरी यहाँको टर्कु विश्वविद्यालय विश्वका १७ वटा विश्वविद्यालयमा उत्कृष्ट मानिन्छ । यसको वास्तविकता के हो भने यस देशको सरकारले लगानी गरेर डिजाइन गरेको प्रविधि देशको शैक्षिक लक्ष्य पूरा गर्न र संसारमै नगरेका प्रयोगहरू प्रस्तुत गर्न सफल भएको छ ।

यसको मतलब यो हो कि यस देशको सरकारले पहिलो प्रथामिकता शिक्षालाई दिन्छ, त्यसैले देश नै सफल मानिन्छ ।

बहुआयामिक सिकाइ

प्रत्येक शैक्षिक सत्रमा विद्यार्थीहरूले इच्छा गरेका विषयहरू छानेर पढ्न पाउने सुविधा छ । त्यहाँ विद्यार्थीको रुचिअनुसार समाज, देश र जनताको उच्च जीवन स्तर उकास्ने प्रकृतिका विषयहरू हुन्छन् । विशेष गरेर स्थानीय स्तरलाई केन्द्रित गरेर तयार गरिएका विषयहरू हुन्छन्, जसले समाज र देशलाई नै टेवा पुर्‍याउँछन् । त्यसैले यो निकै सफल सिद्धान्त मानिन्छ ।

हाम्रा उत्कृष्ट भनिएका प्रायः सबै जनशक्तिहरू विकसित मुलुकमा पलायनकै अवस्थामा छन् । के हामी हाम्रो शिक्षामा आमूल परिवर्तन गरेर संसारकै अर्को नमुना देश बन्न सक्दैनौँ ? अवश्य नेपालमा यो सम्भव छ तर सुरु गर्न हामी कति तयार छौँ, त्यसमा भरपर्छ ।

विविधता

सबै विद्यार्थीहरू फरक फरक क्षमता भएका हुन्छन् र फरक फरक पाठ सिकाउन जरुरी छ भन्ने सिद्धान्त यहाँको महत्त्वपूर्ण र सफल सिद्धान्त हो । एउटै कक्षामा पाँच फरक फरक कार्य दिइन्छ । यो निकै गहन विषय हो ताकि संसारका उत्कृष्ट विद्यालयहरूले पनि एउटा कक्षामा एउटै कक्षा कार्य या गृहकार्य दिने गरेका पाइन्छ ।

तर, हरेक विद्यार्थी फरक हो र फरक नै शिक्षा दिनुपर्छ भन्ने प्रयोग फिनल्याण्डले गर्न सफल भएको छ ।

विद्यार्थीलाई दिइने प्रयोगात्मक कार्यमा विविधता

प्रयोगात्मकहरू कार्यहरू विद्यार्थीअनुसार विभिन्न प्रकृतिका फरक फरक दिइने गरिन्छ । अहिले विद्यालयहरूले दिँदै आएको जुन प्रोजेक्ट वर्कको भार विद्यार्थी तथा अभिभावलाई नै नेपाललगायत विभिन्न देशमा छ तर फिनल्याण्डको शिक्षामा त्यस्तो असर कसैलाई पर्दैन ।

परीक्षा र मूल्याङ्कनलाई धेरै मानसिक तनावको रूपमा कहिल्यै दिने र विद्यार्थीले लिने गरिँदैन । सिकारुको रुचिअनुसार विविध प्रकारका कार्यहरू दिइन्छ । शिक्षक–अभिभावक अन्तक्र्रिया भने विद्यार्थीको रुचि र लक्ष्यका विषयमा गरिन्छ ।

शिक्षकले दिएको गाइडलाइनका आधारमा विद्यार्थीले आफ्नो विषय छनोट गरेर प्रयोगात्मक कार्य गर्छन् । यो देशको शिक्षा प्रणाली आआफ्नो क्षमता र सिर्जनशीलताअनुसारको सीप सिक्ने वातावरण सिर्जना गरी शिक्षाको लक्ष्य हासिल गर्न निकै सक्षम मानिन्छ ।

विद्यार्थीको सक्रिय भूमिका

शिक्षक कम बोल्ने, विद्यार्थीलाई बढी बोल्न दिने । शिक्षक एक सहजकर्ताको रूपमा मात्रै उभिने र विद्यार्थी लक्ष्यमा आफैँ अभ्यास गरेर पुग्ने । कुनै पनि समस्याको समाधान विद्यार्थी आफैँले गर्ने ।

शिक्षक या विद्यालयले वातावरण मात्रै सिर्जना गरिदिने, उत्सुकता जगाइदिने र विद्यार्थी खोज, अनुसन्धान र प्रविधिको प्रयोग गरेर गुणस्तरीय कार्यसम्पादन गर्ने । विद्यालयभित्र र बाहिर दुवै क्षेत्रमा खुला सिक्ने अवसर प्रदान गरिदिने ।

यी महत्त्वपूर्ण सिद्धान्तहरूले गर्दा फिनल्याण्ड शिक्षा आज व्यावहारिक, प्रयोगात्मक तथा प्रविधिले सम्पन्न विश्वकै उत्कृष्ट नमुना बन्न सफल भएको छ ।

निष्कर्ष

सन्ना मरिनको प्रसंग र नेपालसँगका केही सन्दर्भमा यहाँ निष्कर्ष दिन खोजिएको छ । आजको युगमा क्षमताको र शिक्षाको कदर नहुने हो भने विश्वको कम उमेरकी सक्षम प्रधानमन्त्री हुन सन्ना मरिनलाई कति बाधा आउँथे होला ?

एउटा स्वतन्त्र आफ्नो चाहना, इच्छा र क्षमताअनुसार त्यो देशको शिक्षाले दिएको गाइडलाइनकै आधारमा उनी प्रधानमन्त्री बनिन् । सकारात्मक सोच र खुला राजनीतिक प्रतिस्पर्धामा मरिनका खुट्टा तान्ने, साम, दाम, दण्ड, भेदको राजनीतिक संस्कार त्यहाँको शिक्षाले कहिल्यै सिकाएन ।

नेपालमा जस्तो पार्टी सदस्यता, पार्टी हैसियत, उमेरलाई मापदण्ड बनाएर अपरिपक्वता जस्ता अवमूल्यन गर्न उनलाई त्यहाँको शिक्षाले सिकाएन । शिक्षाले यति खुला भविष्य सिकायो कि उनले विश्वलाई उत्कृष्ट शिक्षा प्रणाली भएको मुुलुकको सबैभन्दा कम उमेरकी प्रधानमन्त्रीका रूपमा विश्व कीर्तिमान नै राखेर देखाइन् ।

शिक्षाले क्षमता दिने हो । संस्कार, संस्कृति दिने हो । स्वस्थ र प्रतिस्पर्धात्मक राज्य अनि सुव्यवस्था दिने हो । कुनै पनि देश समृद्ध हुन त त्यो देशको शिक्षाले पहिलो भूमिका खेलेकै हुन्छ । आज हामी फिनल्याण्डको शिक्षाबाट खास गरेर नेपालीले सिक्नुपर्ने बहुत धेरै महत्त्वपूर्ण कुराहरू छन् ।

पहिलो त सरकारी र निजी शैक्षिक संस्थाको दूरीबारे सोच्नै पर्ने अवस्था छ । हामी नेपाली पनि गरिब भएर शिक्षा नपाएका पक्कै होइनौँ, हामी प्रणालीमा चल्न नसकेर पछि परेका हौँ । हामीले महँगा बोर्डिङ स्कुलहरूमा पढाएर कहाँ नेपालको नागरिक सक्षम बनाएका छौँ, हेरौँ त ?

हाम्रा उत्कृष्ट भनिएका प्रायः सबै जनशक्तिहरू विकसित मुलुकमा पलायनकै अवस्थामा छन् । के हामी हाम्रो शिक्षामा आमूल परिवर्तन गरेर संसारकै अर्को नमुना देश बन्न सक्दैनौँ ? अवश्य नेपालमा यो सम्भव छ तर सुरु गर्न हामी कति तयार छौँ, त्यसमा भरपर्छ ।