सावित्रको ह्याट्रिक सँगै एपीएफ फाइनलमा

सावित्रको ह्याट्रिक सँगै एपीएफ फाइनलमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष ७, २०७६

काठमाडौं । नेपाल पुलिस क्लवलाई हराउँदै एपीएफ क्लव प्रधानसेनापती अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आज भएको पहिलो सेमिफाइनलमा सावित्राले ह्याट्रिक गरेपछि अर्को विभागीय क्लब पुलिसमाथि ५–२ को जित निकाल्दै एपीएफ उपाधिनजिक पुगेको हो । एपीएफको जितमा अनीता बस्नेत र रेखा पोडेलले पनि १–१ गोलको योगदान गरे । पुलिसकी निशा सुनुवार र कप्तान घिमकुमारी गुरुङले १–१ गोल फर्काए पनि खेल जित्न सकेनन् । 

भद्रकालीस्थित सेनाको हेडक्वाटर खेल मैदानमा निर्धारित समयसम्म २–२ को बराबरी भएपछि थप गरिएको समयमा एपीएफ ३ गोल गरेर फाइनल पुग्न सफल भयो । खेल सुरु भएको तेस्रो मिनेटमै सावित्राले अग्रता दिलाएकी थिइन् । 
दुई डिफेन्डरलाई छक्याउँदै सावित्राले गरेको प्रहार गोलमा परिणत भएको थियो । पहिलो हाफ सकिन २ मिनेट बाँकी रहँदा पुलिसले बराबरी गोल फर्कायो । पुलिसका लागि निशा सुनुवारले बराबरी गोल फर्काएकी हुन् । थपिएको इन्जुरी समयमा अनिता बस्नेतले गोल गर्दै एपीएफलाई पहिलो हाफमा २–१ को अग्रता दिलाइन् ।  

दोस्रो हाफमा आक्रमक बनेको पुलिसले ८७औं मिनेटमा पुलिसका लागि कप्तान घिमकुमारीले गोल गरिन् । त्यसपछिको बाँकी समय दुवै टोलीबाट गोल नहुँदा खेल अक्तिरिक्त समयमा धकेलिएको थियो ।
अत्तिरिक्त समय सुरु भएको दोस्रो मिनेटमै एपीएफकी सावित्राले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् । सावित्राको गोलसँगै ३–२ को अवस्थामा पुगेको एपीएफलाई ९५औं मिनेटमा रेखा पौडेलले ४–२ को स्थितिमा पुर्‍याएकी थिइन् । कप्तान अनु लामाको स्थानमा मैदान प्रवेश गरेकी रेखाले सावित्राको पासमा गोल गरेकी हुन् । 

१०७औं मिनेटमा सावित्राले ह्याट्रिक पूरा गर्दा एपीएफले ५–२ को जित सुनिश्चित गरेको हो । जितसँगै उपाधिनजिक पुगेको एपीएफले अब फाइनलमा आर्मी र भुटानबीचको विजेतासँग खेल्ने छ ।