दमक नगरपालिकाभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द

दमक नगरपालिकाभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द

लोकसंवाद संवाददाता  |  शिक्षा  |  पुष ७, २०७६

झापा । अत्यधिक चिसो बढेपछि दमक नगरपालिकाभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द भएका छन्।

केही दिन देखि बाक्लो हुस्सुसँगै शीतलहर चलेका कारण दैनिक पठनपाठनमा असहज भएको हुँदा सोमबारदेखि बुधबारसम्मका लागि नगरका सबै विद्यालय बिदा गरिएको हो।

अन्य बिदामा मिलान गर्ने गरी बिदा दिने निर्णय गरिएको नगरपालिकाका शिक्षा उपसचिव दिनेश न्यौपानेले सूचना प्रकाशन गरी जानकारी गराउनुभएको छ।  यसअघि जिल्लाकै गौरीगञ्ज गाउँपालिकाले पनि जाडोका कारण दैनिक पठनपाठन सञ्चालन गर्न कष्टकर भएको भन्दै आगामी मंगलबारसम्मका लागि तीन दिन नै विद्यालय बिदा गर्ने निर्णय सार्वजनिक गरिसकेको थियो ।

यस्तै, सुनसरीको इनरुवा नगरपालिकाले पनि दुई दिनका लागि नगर क्षेत्रभित्र रहेका विद्यालयमा बिदा दिएको छ। नगरपालिकाले सूचना जारी गर्दै अत्यधिक चिसोका कारण नगर क्षेत्रका विद्यालयमा सोमबार र मंगलबार बिदा दिएको नगरपालिकाका प्रमुख राजन मेहताले जानकारी दिन्भयो । चिसोमा बालबालिकालाई विद्यालय आउनजान र पठनपाठन गर्नका लागि कठिन हुने भएकाले दुई दिनका लागि बिदा दिएको नगरपालिकाका प्रमुख मेहताले बताउनु भयो । नगरपालिकाले दिने गरेको विद्यालय बिदाको विषयमा विभिन्न  टिप्पणी भएपछि नगरपालिकाले स्थानीय सरोकारवालासँग छलफल र परामर्शपछि मात्र बिदा दिएको नगरपालिकाका प्रमुख मेहताले बताउनुभयो ।