बुद्धि परीक्षा र विवाहमा गाइने सिलोक परंपरा

बुद्धि परीक्षा र विवाहमा गाइने सिलोक परंपरा

डा. ध्रुवप्रसाद भट्टराई  |  दृष्टिकोण  |  पुष ८, २०७६

कूटपद्य विवाहका समयमा वा अन्य समयमा अरूलाई अड्काउनका लागि प्रयोग गरिने लोकपद्य हो । यसलाई ‘अड्का सिलोक’का नामले पनि चिनिन्छ । लोकसमाजका व्यक्तिले आफ्ना भनाइलाई सामान्य व्यक्तिले नबुझ्नेगरी भन्ने र त्यसको उत्तर दिन उत्प्रेरित गर्ने लोकपद्य नै कूटपद्य हुन् । यिनीहरू बुद्धि परीक्षाका लागि प्रयोग गरिन्छन् ।

जसरी आधुनिक मनोवैज्ञानिकहरू विभिन्न प्रश्नहरूद्वारा कुनै बालकको बौद्धिक परीक्षण गर्ने गर्छन्, त्यसैगरी प्राचीनकालमा मनुष्यको बुद्धिको परीक्षाका लागि यी कूटपद्यको रचना गरिएका हुन सक्छन् । यसमा कुनै पनि विषयवस्तुको सिधै वर्णन नगरेर उपमानको वर्णनबाट अर्कै वस्तु, विषय वा उपमेयलाई इंगित गर्ने गरिन्छ र उत्तरदाताले इंगित गर्न खोजिएको विषयवस्तुलाई ठम्याई उत्तर दिनुपर्छ । कथमंकदाचित् उत्तर दिन नसकेमा ऊ हरुवाका रूपमा दरिन्छ ।

नेपालमा कूटपद्यको प्रयोग विवाहका समयमा र अन्य समयमा हुने गरेको छ । यसको इतिहास खोज्दै जाँदा पूर्व तथा पश्चिम दुवैतर्फ प्राचीनकालसम्म नै पुग्न सकिन्छ । कूटपद्यको उद्भव र विकासका बारेमा फ्रेजरको भनाइ महत्त्वपूर्ण छ । उनका अनुसार जबदेखि मानिसले आफ्ना भनाइलाई रहस्यात्मक रूपमा प्रस्तुत गरेर अर्काको बुद्धिको परीक्षा गर्ने र मनोरञ्जन लिने काम गर्‍यो, तबदेखि नै कूटपद्यको उद्भव र विकास भएको हो ।

कूटपद्यहरू पूर्वीय संस्कृत परंपराका वेद, उपनिषद्, रामायण, महाभारत र अन्य साहित्यिक कृतिमा पाइएका छन् भने बौद्ध तथा जैन धर्मग्रन्थमा पनि पाइएका छन् । यस्तै, पश्चिमी परंपरामा पनि यसको प्रयोग प्राचीनकालदेखि हुँदै आएको पाइन्छ । पश्चिममा ऐनाग्रामको रूपमा ग्रिक तथा युनान र रोमका प्राचीन/अर्वाचीन जनसमूहले वर्णावृत्तिद्वारा प्रहेलिका प्रकारको शब्दक्रीडामार्फत् मनोरञ्जन गर्ने गरेका पाइन्छ ।

यी लिखित कूटपद्यका अतिरिक्त परंपरादेखि चलेका मौखिक कूटपद्यहरू संस्कृत वा नेपाली भाषामा प्रशस्त पाइन्छन् ।

नेपाली लोकसमाजमा विवाहका समयमा प्रयोग हुने ककूटपद्य प्रायः साँझको विवाहमा हुने गरेको देखिएको छ । साँझको लगनमा विवाह हुँदा जन्तीहरूले खाना आइसकेपछि केही जन्ती यज्ञ मण्डपमा विवाहको कार्यलाई सघाउन जान्छन् भने अन्य जन्ती उनीहरूलाई आराम गर्न खटाइएको स्थानतर्फ लाग्छन् ।

आराम गर्न गएका जन्तीमध्ये केही तास लेखेर समय बिताउँछन्, केही नाचगानतर्फ लाग्छन् भने केही गफगाफतर्फ लाग्छन् । यसैबीच घरभेटीतर्फका केही बुढापाका व्यक्तिहरू जन्तीको बसाइ वा उनीहरूको स्याहारसुसार के भइरहेछ भनेर बुझ्न आउँछन् । त्यसैबीच भलाकुसारीका क्रममा अर्को पक्षको बौद्धिक क्षमताका बारेमा बुझ्न विभिन्न कूटपद्यहरू सोध्ने प्रचलन लोकसमाजमा छ ।

कूटपद्यमा बिहेप्रश्नोत्तरीमा जस्तो घरभेटीले सोध्ने बेहुलातर्फकाले भन्ने हुँदैन । जसले पनि सोध्न सक्छ । सोधिएको प्रश्नको उत्तर दिन सकिएमा गर्वको महसुस गर्ने र हारिएमा हीनताबोधको अनुभव गर्ने भएकाले यसलाई दुवै पक्षले जित्नै पर्ने खेलका रूपमा लिएका हुन्छन् । यो परंपरा नेपालका अन्य खस आर्यहरूमा जस्तै दलितहरूमा पनि रहेको छ ।

यद्यपि, आजकल विवाह प्रायः दिउँसोको समयमा हुने भएकाले समयको अभावले र हाम्रो परंपरागत संस्कृतिलाई आत्मसात् गर्ने प्रवृत्ति नयाँ पुस्तामा हराउँदै गएकाले यसको प्रयोग कम हुँदै गएको छ ।

मूलपाठ

सानीसानी पोखरी पनि झुर बने
उसमा बैठे काली नाग
कौने कारण पानी के बूँद गिरे ?
कौने कारण बूँद सुके ?
सानीसानी पोखरी पनि झुर बने
उसमा बैठे काली नाग
हर्षका कारण पानी के बूँद गिरे
विश्वासका कारण बूँद सुके । (आँखाको आँसु)
(कोपलाल गहतराज, बन्दीपोखरा– ७, सामाकोट वर्ष, ७५ ।)

छर्दाको ओइरो निस्कन्छ सुइरो कट्टीमा गर्भै रह्यो
शिरमा पनि चमर प्रवेश हुन गयो, डाँठ, खोइला त दाउरै भयो
खाँदामा पनि फलाहार हुन गयो हरिका नाममा चढ्यो । (मकै)

खाँदामा पनि शीतल हुन गयो हरिका नाममा चढ्यो । (काँक्रो)

रामसाली अति यी अलिकी प्राणै पुरुषकी धनी
यात्रा गरिन् जलैमा चौमास वर्षैभरि । (धन)

थाम्मर थुम्मर भै बसेको जिमीमा छाता ओढेको अति
डाँठ, पात, पाउ, चल्ला अनेक विधि छन् बयान तिहुन कति
एकादशी तिथि फलार चलेको, तर्कारीमा सजिलो
नुन, पिरो, मसला चाहिन्छ त्यसलाई थोरैथोरै अमिलो (पिँडालु)

आँखो पनि छ कानो होइन अनि प्वालको सर्पै न हो
सृष्टि गर्दछ तर चारमुखी यो होइन भन्देऊ सखे कौन हो ?

भन्छन् भन्न त लिङ्ग हो तर सखे त्यो होइन सियो
एकै छिद्र छ छिद्र गर्छ कपडु सृष्टि पनि गर्छ हो ।

शिरमा छन् त्यसका असल ती पगडी पाउ छन् वरिपरि
आँखा छन् त्यसका सबै जीउभरि देख्दैन अन्धासरि
बस्छ त्यो मुखले रहन्छ बाहिरै हिँड्छ त घोडा चढी
यसको अर्थ बताऊ त पण्डितजी हो ? मनमा विचार खुब गरी । (डोको)

मुख भने एउटा, बाह्र आँखा, दुइटा औधी चनाखा
हल्लाउँछ पुच्छर हरदम हरदम टिकटिक टिकटिक । (घडी)

जन्म्यो जंगलमहाँ, बस्यो घरमहाँ, खानु छ दूध, घिउ सधैँ
जो कैल्यै घटबढ हुँदैन एकनास जीउको हुन्याँ जो सधैँ
जल्लाई भुइँमा नराखी जनले चोरैसरि बाँध्दछन्
हे पण्डित जन हो ! विचारी मनमा के हो मलाई भन । (मदानी)

कूटपद्यलाई लोकसाहित्यका अन्य विधा जस्तै सहज तथा स्वतस्फूर्त रूपमा प्रस्तुत गर्न गाह्रो पर्छ । त्यसैले कूटपद्यलाई श्रमसाध्य विधा मानिन्छ । यसमा वैयक्तिकताको प्रभाव मानिए पनि लोककविले लोकसमाजमा प्रस्तुत गर्नासाथ लोकसमाजका व्यक्तिहरूले यसलाई सहज रूपमा ग्रहण गर्छन् ।

उत्तमी सल्लो मध्यमी साल
त्यै पनि नपाए चिलाउनीको हाल । (मिई)

आमा गइन् घाँसपात, बुढा गए गाउँ
ढोकाँ बस्यो लटे जोगी अब कता जाऊँ ? (ताला झुन्डेको)

चुच्चो छ न त पन्छी हो, दो पाउ न त पण्डित
पृष्ठभक्षी न हो राक्षस यो जान्ने अर्थ पण्डित । (चुलेँसी)

मुख भने एउटा, बारह आँखा
दुइटा औँला औधी चनाखा
हल्लाउँछ पुच्छर हरदम् हरदम्
थाल्दछ बोल्न टिकटिक टमटम । (लंगुरवाला घडी)

कालो छ रूप गहुँकृष्ण पनि भनिन्छ
आठ भाइ छन् सँगइमा नागझैँ मानिन्छ
बाङ्गो छ मुख तर दक्ष कहाँ भनिन्छ ?
क्वै हार्छ आपत् परे बुझ प्रश्न यो छ ?

कालो छ छाप कपडा, छन् आठ बाहाँ
छ डाँठ बाङ्गो अनि छातामहाँ
वर्षा र घाम धूप आपतबाट टार्ने
यो यही उत्तर बुझौँ मन खुस पार्ने ।

न खान हुने, न त लाउन हुने
अर्कालाई दिँदा बडो चिज हुने
झिकेर दिँदा सकिँदैन कैल्यै
यसको अर्थ के हो ? बुझ पण्डित पैल्यै । (विद्या)

आगो मास्थिर राखी पाक यसको उल्टो गरी बन्दछ
खानै पर्दछ जुठो हुँदैन घीनले सर्वत्र यही भन्दछ
पैसा खर्च उत्ति छ टाइम अति ठालु हुने भ्याइनभ्याई
तान्यो, फुस्स फुक्यो, उड्यो, पर पुग्यो आखिरमा क्यै न क्यै । (तमाखु खाएको)

कको दाहिना अङ्ग झिकेर पखेटा ममा लगी लगाइदेऊ
चको चुच्चो भाँची समाती बलले पछारिदेऊ दाहिनेतिर
शिरमा ढल्की लगाई पढ लौ शब्द भो आखिर ? (कर्मचारी)

गर्मीमहाँ शीतल दिन्छु छाया
काटे खुसी भई पनि लिन्छु काया
संसारलाई फलफूल दिन्छु
म त अवश्यै पनि रूख हुन्छु ।
मैले गर्नुपर्छ धेरै काम
मलाई मिल्छ थोरै दाम
खान मलाई रुख्खासुख्खा
बोलाउँछ घण्टी टाङ्टुङ्
गर्नुहुन्न लर्‍याङ्लुरुङ्
छिटो छरितो हुनै पर्छ
सबैको काम गर्नै पर्छ । (पियन)

प्र. एकै र मुठी जिराको साग तेल–घीउले झान न
पूर्वकी रानी पश्चिम जाने यो झ्याँगा जान न ।
उ. फनक्कै घुम्यो सन्सारे डाँडो ताल दिने ढोलकी
पूर्वकी रानी पश्चिम जाने जून–घाम होला कि !

प्र. एकै र मुठी जिराको साग तेल–घीउले झान न
धरतीमुनि कथुरे बहर यो झ्याँगा जान न ।
उ. फनक्कै घुम्यो सन्सारे डाँडो ताल दिने ढोलकी
धरतीमुनि कथुरे बहर मुसो पो होला कि !

प्र. एकै र मुठी रायोको साग तेल–घीउले झान न
त्यो कुप्रे पात, सुरिलो पात लौ अर्थ जान न ।
उ. सलक्कै घुम्यो नरसिंहा बाजा ताल दिने ढोलकी
त्यो कुप्रे पात सुरिलो पात डाडु–पन्यु होला कि !

प्र. एकै र मुठी रायोको साग तेल–घीउले झान न
मरेको गोरु गाउँबेसी गरने लौ अर्थ जान न ।
उ. सलक्कै घुम्यो नरसिंहा बाजा ताल दिने ढोलकी
मरेको गोरु गाउँबेसी गरने नारा पो होला कि !
(दुर्गाबहादुर सुनार, मदनपोखरा– ७, डिट्ठिनी डाँडा, वर्ष ४७ ।)

लोककूटपद्यको विषयवस्तु भनेकै लोकसमाज हो । लोकसमाजका व्यक्तिहरूको सामाजिक, सांस्कृतिक, राजनीतिक, कृषि व्यावसायका वस्तु, उनीहरूले परंपरादेखि प्रयोग गर्र्दै आएका मानव निर्मित वस्तु वा आधुनिक जीवन शैलीका वस्तु, आफ्नो गाउँठाउँको प्रकृति, धर्म, पशुपंछी, शिक्षा, अम्मलका चिजबिज तथा अन्य लोकसमाजअनुकूलका विषयवस्तुको प्रयोग हुने गर्छ ।

कूटपद्यलाई लोकसाहित्यका अन्य विधा जस्तै सहज तथा स्वतस्फूर्त रूपमा प्रस्तुत गर्न गाह्रो पर्छ । त्यसैले कूटपद्यलाई श्रमसाध्य विधा मानिन्छ । यसमा वैयक्तिकताको प्रभाव मानिए पनि लोककविले लोकसमाजमा प्रस्तुत गर्नासाथ लोकसमाजका व्यक्तिहरूले यसलाई सहज रूपमा ग्रहण गर्छन् ।

त्यसैले यी कूटपद्यमा वैयक्तिकताको प्रभाव हट्न गई सार्वजनिक अभिव्यक्ति बन्न पुग्छन् । यस क्रममा कतिपय कूटपद्यहरू व्यक्तिगत रचनाका रूपमा प्रकाशित भए पनि लोकले यिनलाई आत्मसात् गरेकाले लोकसमाजमा लोकपद्य सरह प्रचलनमा रहेका छन् ।

याे पनि

दलित समुदायका विवाह संस्कारमा प्रयाेग गरिने बिहे प्रश्नोत्तरीहरू

विवाहमा प्रयोग हुने खाँडो: परंपरा र हुंकार